• २९ वैशाख २०८१, शनिबार

काठमाडौँवासीलाई मेलम्चीको पानी छिटोभन्दा छिटो खुवाउँछु : खानेपानीमन्त्री यादव

blog

अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै खानेपानीमन्त्री महिन्द्रराय यादव ।

काठमाडौं, मङ्सिर १२ गते । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौंवासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताउनुभएको छ ।

काठमाडौँवासीले सो पानी एक हप्ता भित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला उहाँले मङ्गलबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गर्नुभएका उहाँले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालय सकारात्मक छलफल भएको पनि बताउनुभयो । मन्त्री यादवले फेरि उपभोक्ता, भेन्डरसहित अर्थ मन्त्रालयसँग छलफल गरेर मेलम्चीको पानी काठमाडौँ ल्याउने काममा देखिएको समस्या समाधान गर्ने आश्वासन दिनुभयो ।

मन्त्री यादवले भन्नुभयो, ‘‘यहाँ अर्थ मन्त्रालयमा खानेपानीको विषयमा छलफल भएको छ । सकारात्मक कुरा भएको छ । हामी फेरि बसेर छलफल गरेर यो पानी ल्याउने प्रक्रिया हामी अगाडि बढाउँछौँ । छिटोभन्दा छिटो हामी काठमाडौँको जनतालाई पानी खुवाउँछौँ ।’’


यता, काठमाडौँवासीले भने एक हप्ता भित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । एक हप्ता भित्र पनि सो पानी काठमाडौँ ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा सो पानी एक हप्ता भित्र काठमाडौँ आउने गरी आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको बताउनु भयो । गौतमकाअनुसार ११ करोड, ५० लाख ६६ हजार हेलम्बुका स्थानीयले माग गरेको रकम सरकारले तत्काल उपलब्ध गराए खानेपानी ल्याउने काममा देखिएको अवरोध हट्नेछ ।

‘‘सरकारले चाह्यो भने यो पानी आउनलाई हप्ता दिन पनि लाग्दैन । हामी अर्थ मन्त्रालय र खानेपानी मन्त्रालय धाइरहेका छौँ । हिजो खानेपानी मन्त्रालयमा धायौँ । आज हामी अर्थमन्त्रीसँग बस्यौँ । राज्यले चाहेको अवस्था छ । स्थानीय तहमा केही समस्याहरू देखिन्छ । तर राज्यले चाहँदाखेरी ११ करोड ५० लाख ६६ हजार जुन रकम छ । राज्यले यो स्थानीयलाई रकम तुरुन्त तिरिदिनु पर्छ । र काठमाडौंवासीलाई तुरुन्त पानी खुवाउनु पर्छ भन्ने हाम्रो माग छ ।,’’ स्थानीय गौतमले भन्नुभयो, ‘‘काठमाडौँमा पानी नभएर कोकाकुल अवस्था छ । यो समस्या राज्यले छिटो समाधान गर्नु पर्छ । यदि राज्यले समाधान गर्न चाहेन भने अव काठमाडौँवासी पानीबाट पीडित जनताहरू चुप लागेर बस्ने अवस्था छैन । राज्यले यो कुरा बेलैमा ख्याले गरे हुन्छ । राज्य भनेको हामी उपभोक्ताहरूको अभिभावक हो । हामीले पानी खान पाएनौ भने कसलाई भन्ने हो ? राज्यलाई भन्ने हो । आज पनि हामीले अर्थमन्त्री, खानेपानीमन्त्रीसँग कुरा गर्‍याैँ । र छिट्टै समाधान गर्छौँ भन्नु भएको छ । समाधान कहिलेसम्म गर्ने हो ? हामीले एक हप्ता भनेको छौँ । एक हप्ता भित्र हामीले खानेपानी पिउन पाएनौ भने अव जनता चुप लागेर बस्ने छैन । राज्यले बेलैमा सोचे हुन्छ ।’’


यसैबिच, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाडौँ ल्याउने कुरामा हेलम्बुका स्थानीयले कुनैपनि अवरोध नगरेको स्पष्ट पार्नुभएको छ । आज अर्थमन्त्री डा. महतसँगको भेटपछि उहाँले सञ्चारकर्मीमाझ सो कुरा प्रस्ट्याउनु भएको हो । अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौता अनुसारको बजेट भने तत्काल व्यवस्था गर्न पनि सरकारलाई दबाब दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ अहिले काठमाडौंवासीलाई हेलम्बुको स्थानीयको अवरोधले यहाँ पानी आएन भन्ने गलत म्यासेज गरिराखेको छ । त्यो होइन स्थानीयको । एउटा कुरा के हो भने जुनसुकै सरकार आएपनि एउटा सम्झौता गरिदिने । अनि, त्यसको कार्यान्वयन कहिल्यै नगर्ने । त्यहाँका स्थानीयहरूको घरजग्गा लिलामी हुँदैछ । कतिपय भेन्डरहरुको भाडाको कुरा छ । ३२ लाख ऋण लिएको ७७ लाख भन्दा माथि पुगिसकेको छ । त्यहाँ राज्यले जिम्मेवार हुनुपर्‍यो भन्ने विषयमा छलफल भएको छ । तर, यो समस्याको समाधान गर्नुपर्छ । सरकार यसमा लाग्नुपर्छ ।’’

अध्यक्ष शेर्पाले स्थानीयसँग गरिएको सम्झौता पूरा नगरेको भन्दै सरकारको आलोचना पनि गर्नुभयो ।