• २२ वैशाख २०८१, शनिबार

नार्कको प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

blog

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को आर्थिक वर्ष २०८०/०८१ को केन्द्रीय स्तरको प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी ।

काठमाडौं, मङ्सिर १२ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को आर्थिक वर्ष २०८०/०८१ को केन्द्रीय स्तरको प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा मङ्गलबार नार्कअन्तर्गतका ६२ वटा कार्यालयहरूको समग्र प्रगति विवरण सो समीक्षा गोष्ठीमा पेस गरिएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै कृषि मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठले कृषि अनुसन्धानको विकल्प अनुसन्धान नै भएकाले बदलिँदो परिस्थितिमा कृषि अनुसन्धानलाई विशेष महत्त्वका साथ सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले कृषि अनुसन्धानमा लगानी बढाउनुपर्ने र कृषि अनुसन्धानको नीतिमा स्पष्टता अपनाए मात्र अपेक्षित प्रतिफल प्राप्त हुने जानकारी दिनुभयो । वर्तमान आर्थिक सङ्कटको अवस्थामा पनि नार्कले अनुसन्धानमा प्राप्त गरेको सफलता सराहनीय र सफल प्रविधिलाई सरोकारवाला सबै मिलेर किसानसम्म पुर्‍याउनु आवश्यक रहेको सहसचिव श्रेष्ठको भनाइ छ ।

नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले नार्कअन्तर्गतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुहुँदै अनुसन्धानका लागि प्राप्त हुने बजेटको उच्चतम उपयोग गरी समयमै प्रतिफल प्राप्त गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले कृषि अनुसन्धानबाट प्रभाव हुने सेवालाई प्रभावकारी बनाउन जोड दिन र भावी योजना बनाउँदा सन्तुलित बजेट विनियोजनमा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

यसैगरी, नार्कका वैज्ञानिक डा. विवेक सापकोटाले त्रैमासिक प्रतिवेदन पेस गर्नुभएको थियो । प्रतिवेदनमा पहिलो त्रैमासिकमा सम्पन्न भएका चालु र पुँजीगत कार्यक्रमहरू, वित्तीय प्रगति, बेरुजुको अवस्था लगायतका विषयहरू समेटिएका थिए । नार्कका अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख डा. सुधा सापकोटाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले पहिलो त्रैमासिकमा भएको कार्यक्रम र खर्चलाई हेर्दा देशैभरीका कार्यालयहरूको प्रगति सन्तोषजनक रहेको बताउनुभयो । प्रदेश स्तरका समीक्षा गोष्ठीहरू यसअघि नै सम्पन्न भइसकेका छन् ।

कार्यक्रममा नार्कका पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनाल, प्रशासन निर्देशक नविनप्रकाश पौडेल, आर्थिक प्रशासन निर्देशक मनसकुमार कँडेल, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक विनेशमान साख:, राष्ट्रिय पशु अनुसन्धान प्रतिष्ठानका निर्देशक डा.स्वयमप्रकाश श्रेष्ठ, विभिन्न महाशाखा प्रमुखहरू, विभिन्न अनुसन्धान केन्द्रका प्रमुखहरू, वैज्ञानिकहरू लगायतको सहभागिता रहेको थियो ।