• ७ मंसिर २०८१, शुक्रबार

लगानी सम्मेलनको तयारी

blog

कुनै पनि मुलुकको अर्थतन्त्रमै नागरिक जीवन निर्भर रहेको हुन्छ । अर्थतन्त्रका मूलभूत आयामहरू आय, उत्पादन र रोजगारी बढ्दै जाँदा जीवनस्तरमा सकारात्मक परिवर्तन हुन्छ । व्यक्तिको आय बढ्दा उसको जीवनयापन सहज हुँदै जान्छ । सामान्यतया सर्वसाधारणको आम्दानीको स्रोत भनेको रोजगारी वा स्वरोजगारी नै हो । रोजगारी तथा स्वरोजगारी दुवैमा बढोत्तरीका निम्ति अर्थतन्त्रको लगानीको जरुरत पर्छ । बजारले माग गरे अनुसारको वस्तु तथा सेवा उत्पादन गर्न आवश्यक लगानी जुटाउन समयानुकूल नीति, योजना र कार्यक्रम आवश्यक हुन्छ । लगानी बढाउन सक्दा नै अर्थतन्त्रमा उत्पादन बढ्छ र सँगसँगै रोजगारी पनि सिर्जना हुन्छ । अर्थतन्त्र चलायमान हुन्छ । नेपाली अर्थतन्त्रमा यता केही समयदेखि मन्दीको छाया मडारिरहेको छ । आय, उत्पादन  र रोजगारीमा नयाँ उत्साह आउन सकेको छैन । यो परिवेशलाई सम्बोधन गर्न सरकारले लगानी सम्मेलनको तयारी थालेको शुभ समाचारले यतिबेला अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

 सरकारको अग्रसरतामा आगामी नयाँ वर्ष २०८१ वैशाख ९ र १० गते लगानी सम्मेलन हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनका निम्ति तयारी आरम्भ भइसकेको जानकारी दिनुभयो । लगानी सम्मेलनका निम्ति प्रारम्भिक तयारीस्वरूप निर्देशक समिति बनाइएको छ । समितिको पहिलो बैठकसमेत आइतबार अर्थमन्त्रालयमा बस्यो । त्यस बैठकमा नेपाल सरकारका अधिकारीहरू, नेपाल राष्ट्र बैङ्कका गर्भनरका साथै निजी क्षेत्रको मूलभूत प्रतिनिधित्व थियो । अर्थमन्त्री महतले ‘लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो । लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिने छ भन्नुभएको छ । यसले नेपालको भावी विकास रणनीतिका साथै लगानीको व्यापक आयाम विस्तार गर्ने गरी तयारी आरम्भ भएको आकलन गर्न सकिन्छ ।

देशको अर्थतन्त्रका कतिपय बाह्य परिसूचकहरूमा सुधार हुँदै गएका छन् । विप्रेषण आयमा वृद्धि भएको छ भने विदेशी मुद्रा सञ्चित दस महिनाभन्दा बढीको वस्तु तथा सेवा धान्न सक्ने अवस्थामा पुगेको छ तर अर्थतन्त्रका आन्तरिक अवयवमा वाञ्छित प्रगति हुन सकेको छैन । मूल रूपमा निजी क्षेत्रमा लक्ष्य अनुरूप कर्जा प्रवाह हुन सकेको छैन । वस्तुको मागमा कमी आएकाले बजार चलायमान हुन सकेको  छैन । गत आर्थिक वर्षमा दुई प्रतिशतभन्दा न्यून आर्थिक वृद्धि भयो भने मुद्रास्फीति भने सात/आठ प्रतिशतमा पुग्दा सर्वसाधारणको जीवनमा महँगीको भार थपिएको छ । देशभित्र रोजगारी पाउन नसकेर दैनिक दुईदेखि तीन हजार युवा विमानस्थल हुँदै बाह्य रोजगारीमा जान बाध्य छन् । देशभित्रै रोजगारी सिर्जना गरी उत्पादन नबढाई देशले चाहेको समृद्धि हासिल गर्न सम्भव हुँदैन । त्यसैले आन्तरिक तथा बाह्य लगानी ल्याउने रणनीतिस्वरूप नै लगानी सम्मेलन तय भएको हुनु पर्छ । 

तीन वर्षपछि सन् २०२६ मा देशलाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य छ । त्यति मात्र होइन सन् २०३० मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा रूपान्तरण गर्नु छ ।  अर्थतन्त्रको व्यापक सुधार अनि ठुलो लगानीबिना यी राष्ट्रिय लक्ष्यहरू समयमै पूरा गर्न सम्भव छैन । गत आर्थिक वर्षदेखि नै अर्थतन्त्रमा आएको शिथिलताका कारण लक्षित रूपमा राजस्व उठ्न सकेको छैन । चालु आर्थिक अवस्थाका चार महिनामा बजेट कार्यान्वयनको अवस्था चाहे जसरी सन्तोषजनक हुन सकेको छैन । बजेटमा नै न्यून पुँजीगत खर्च विनियोजन हुने र विनियोजित पुँजीगत खर्चसमेत समयमै खर्च हुने नसक्ने महारोगले वर्षदेखि अर्थतन्त्र र विकास प्रशासन दुवै थिलथिलो भएको छ । कतिपय कानुन समयमा नबन्दा लगानी अवरोध भइरहेको छ भने प्रशासनिक ढिलासुस्तीले लगानीकर्ता हैरान बनिरहेका छन् ।

लगानी सम्मेलनको तयारी गर्दा राष्ट्रिय अर्थतन्त्र यावत् पक्ष अनि प्रशासनिक कमीकमजोरीलाई मिहिन ढङ्गले विश्लेषण गरी सुधारको स्पष्ट खाका तयार गरी कार्यान्वयन गरिनु आवश्यक छ । २०४६ सालको परिवर्तनपछि २०४८–५१ मा अर्थतन्त्रमा जे जस्ता नीतिगत सुधार भए, त्यसैले नै निजी क्षेत्रमा विस्तार भएको लगानीले अहिलेसम्म अर्थतन्त्र टिकेको छ तर चलायमान हुन सकेको छैन । त्यसयता आर्थिक सुधारमा नीतिगत, संस्थागत र संरचनागत सुधारमा निरन्तरता दिन सकिएको छैन । यो लगानी सम्मेलन आर्थिक सुधारको दिशामा अग्रगामी उडान भर्न नेपाल सक्षम छ भन्ने सन्देश प्रवाह गर्ने गरी तयारी तीव्र बनाउनु वाञ्छनीय छ ।