कात्तिके वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । हिमाली क्षेत्रको पदयात्रामा निस्केका हजारौँ पदयात्री वर्षा र हिमपातको चपेटामा परेका छन् । लेक लागेर तीन जनाको मृत्यु हुनुका साथै केही बिरामी परेका छन् । यो महिना आन्तरिक तथा बाह्य पर्यटकलाई हिमाली क्षेत्रको पदयात्रा गर्न उपयुक्त मानिँदै आएको छ । प्रायः ठुलो वर्षा, हिमपात र बढी चिसो पनि नहुने हुँदा यो महिना धेरै पदयात्री पदयात्रामा निस्कने गर्छन् तर अहिले नसोचेको हिमपात र वर्षा भयो । वर्षा र हिमपातले पदमार्ग र सडक दुवै अवरुद्ध हुँदा पर्यटक प्रभावित भएका हुन् । उच्च हिमाली क्षेत्र सगरमाथा, अन्नपूर्ण, धवलागिरिलगायत पूर्वदेखि पश्चिमसम्मका हिमाली भेगमा हिमपात भएको छ । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन । हिमपातले स्थलमार्ग अवरुद्ध हुँदा उपल्लो मनाङबाट सयौँ आन्तरिक, बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ । सोलुखुम्बुको लुक्लाभन्दा माथि करिब दुई हजार, लोबुचेमा २१० र गोरकक्षेपमा १२२ जना पर्यटक पुगेका छन् । मौसम प्रतिकूल बनेपछि स्थानीय प्रशासनले सम्भावित जोखिम कम गर्न विभिन्न हिमाली क्षेत्रको पदयात्रामा रोक लगाएको छ । विभिन्न स्थान पुगेका धेरै पर्यटक होटेलमै रोकिन बाध्य छन् । म्याग्दी, मनाङ, मुस्ताङ, सोलुखम्बु, गोरखालगायतका जिल्लाका माथिल्लो क्षेत्रमा सोमबार रातिदेखि भएको वर्षासँगैको हिमपातका कारण पदमार्ग तथा सडक दुवै अवरुद्ध हुँदा पदयात्री रोकिएका छन् । मनाङमा सोमबारदेखि जारी भारी हिमपातका कारण यातायात अवरुद्ध भएपछि उपल्लो मनाङ घुम्न गएका पर्यटक बाटोमै रोकिएका छन् ।
मनाङ, मुस्ताङ र म्याग्दीका जिल्ला प्रशासन कार्यालयले हिमपात र खराब मौसमका कारण सार्वजनिक सूचना जारी गर्दै हाललाई पदयात्रा नगर्न अनुरोध गरेका छन् । पर्यटकको बाक्लो आहोरदोहोर हुने मुख्य याममै भएको हिमपातले स्थलमार्ग अवरुद्ध हुँदा उपल्लो मनाङबाट ७५० जना आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । हिमपातले सडक, पदमार्ग र सम्पर्क मार्ग सबै प्रभावित भए पनि पर्यटकलाई सुरक्षित राख्ने प्रयास जारी छ । स्थानीय प्रशासनले मौसममा सुधार नआएसम्म जोखिमपूर्ण क्षेत्रतर्फ नजान र सुरक्षित भएर बस्न आग्रह गरेको छ । अहिले विभिन्न पदमार्ग, तिलिचोताल र थोराङ्ला भन्ज्याङ पार, फु, अन्नपूर्ण संरक्षण क्षेत्रलगायतका क्षेत्रको पर्यटक आवागमन प्रभावित भएको छ । मुस्ताङको भ्रमणमा निस्केका पर्यटकले पनि सडकमार्गको यात्रामा सास्ती खेप्नु परेको छ । हिमपातका कारण विदेशी तथा आन्तरिक पर्यटकलाई कागबेनीदेखि उपल्लो मुस्ताङ जान रोक लगाइएको छ । अहिले मुस्ताङ जिल्लामा दैनिक सरदर पाँचदेखि सात हजार पर्यटक भित्रिने गरेका छन् । धवलागिरि सर्किट, हिडन भ्यालीलगायतका पर्यटकीय क्षेत्रमा पर्यटक पुगेका छन् । तिहारलगत्तै मुक्तिनाथ दर्शन गर्न जाने आन्तरिक र बाह्य पर्यटकको अहिले मुस्ताङमा भिडभाड छ ।
उता सगरमाथा क्षेत्रमा भएको हिमपताका कारण हिमाली पर्यटन प्रभावित भएको जनाउँदै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सतर्कता अपनाउन आग्रह गरेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले पर्यटक सबै होटेलभित्रै छन् । कात्तिक १ देखि १० गतेसम्म पाँच हजार ३९० जना पर्यटक लुक्लाबाट जिल्ला प्रवेश गरेका छन् । हाल लुक्लाभन्दा माथि करिब दुई हजार पर्यटक भएको र बाक्लो हिमपात भएको क्षेत्र लोबुचेमा २१० र गोरकक्षेपमा १२२ जना पर्यटक रहेका छन् । उत्तरी गोरखाको विभिन्न स्थानमा भएको भारी हिमपातका कारण लार्केपास र मनासलु क्षेत्रको भ्रमणमा गएका पर्यटक चुमनुब्री गाउँपालिका–१, साम्दो र सामागाउँमा रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पनि हिमपातपछि सूचना जारी गर्दै अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाएको छ । मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । अन्नपूर्ण आधार शिविर, खोप्रालेक, मोहरेडाँडा, पुनहिललगायतका हिमाली क्षेत्रको भ्रमणमा निस्किएका पर्यटकलाई सुरक्षित राख्ने प्रयास जारी छ । पर्यटन विभागले आरोहण तथा पदयात्राका क्रममा समस्यामा परेका पर्यटकलाई उद्धार गर्न सम्पर्क व्यक्ति तोकेको छ । विगतका वर्षमा पुस, माघ र फागुनताका मात्र उच्च हिमाली भेगमा हिउँ पर्ने गरेकोमा यस वर्ष तल्लो उच्च भूभागमा समेत कात्तिक महिनामै हिमपात भएको हो । अतः हिमाली क्षेत्रको पदयात्रालाई सुरक्षित बनाउन सबै सचेत हुनुपर्ने छ । वर्षा र हिमपात नभएको बेलामा मात्र हिमाली क्षेत्रको पदयात्रा गरौँ, सम्भावित जोखिमबाट बचौँ ।