नेपाली कांग्रेस रूपान्तरणको अनुष्ठान महाधिवेशनको सम्मुखमा छ । केन्द्रीय समितिको कार्यकाल सकिनै लागेको छ । जेनजी विद्रोहपछि विकसित घटनाक्रमपछि महाधिवेशनको दबाब बढ्दो छ । ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेका छन् । संस्थापनका केही नेता र महामन्त्रीद्वयबिच महाधिवेशन चुनावअघि कि पछि भन्ने विषयले मूर्त रूप पाउन सकेको छैन । नेपालको ठुलो लोकतान्त्रिक शक्तिको दाबा गर्ने नेपाली कांग्रेसले आफ्नै पार्टीको नीति, नेतृत्व फेर्न पनि विभिन्न बहाना बनाउनुपर्ने अवस्था आउनु शुभ सङ्केत होइन । कांग्रेसमा नीति, नेतृत्व र नियतका सन्दर्भलाई लिएर केन्द्रीय समितिमा बहस सुरु भएको छ । नेपालको हरेक आन्दोलन र परिवर्तनको संवाहक र साक्षी हो, कांग्रेस ।
नियमित महाधिवेशनको समय पनि सम्मुखमा छ । अर्कातर्फ विशेष महाधिवेशनको माग बढेको छ । भुइँ तहका कार्यकर्ता र आममानिसको अपेक्षा चुनावअगाडि नै कांग्रेसले समयानुकूल नीति र नेतृत्व फेरेर मात्र मत माग्न जनसमक्ष आउनुपर्ने स्पष्ट सङ्केत गरेका छन् । संस्थापन पक्ष चुनावअगावै महाधिवेशन गर्ने पक्षमा देखिँदैन । यसको अर्थ कांग्रेसमा शक्ति सङ्घर्ष सुरु भएको छ । महामन्त्रीद्वयद्वारा नियमित महाधिवेशनको कार्यतालिका ल्याउने, नियमित नभए विशेष महाधिवेशन गरेर भए पनि कांग्रेसलाई रूपान्तरण गर्नुपर्ने पक्षमा अडिग छन् । यो समयको माग पनि हो ।
कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन । नेपालको लोकतान्त्रिक चेतनाको ऐतिहासिक संस्थापक मियो पनि हो । कांग्रेस देशका विभिन्न इतिहाससँग गाँसिएको पार्टी हो । लोकतन्त्रको बिउ रोप्ने, स्वतन्त्रता र संवैधानिक मूल्यमान्यताको पहिचान बोकेको पार्टी हो । कांग्रेसको नेतृत्वले देशमा लोकतन्त्र ल्यायो । नागरिक स्वतन्त्रताको जग बसायो । शान्ति प्रक्रिया टुङ्ग्याएर सङ्घीय गणतन्त्र स्थापना ग¥यो । संवैधानिक शासनप्रणालीको बाटो देखायो । इतिहासले दिएको गौरव सधैँ स्थायी हुँदैन । त्यो निरन्तर आत्म मूल्याङ्कन, रूपान्तरण र परिवर्तनको क्षमतामाथि निर्भर गर्छ । जेनजी आन्दोलनपश्चात् आज कांग्रेसले आत्म मूल्याङ्कन गर्नुपर्ने समय आएको छ ।
कांग्रेस केवल अतीतको गौरव मात्र होइन वर्तमानको जवाफदेही शक्ति पनि हो । त्यसका लागि कांग्रेसमा सर्वाधिक चर्चाका विषय नीति, नेतृत्व र नियतको पुनर्विचार अत्यावश्यक छ । कांग्रेस विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरे पनि नीति निर्माण र संस्थागत विकासमा चुकेको छ । आन्तरिक र बाह्य शक्तिको प्रभावमा बरालिँदा मुलुक मियोबिनाको गन्तव्यतिर होमिएको यथार्थ हो । कांग्रेस मुख्य जिम्मेवारीबाट बरालिँदा विभिन्न समस्याको बीजारोपण भएका उदाहरण पनि सत्य हो । नेपालमा लोकतन्त्र त आएको छ तर समानता, पारदर्शिता र न्याय अझै अधुरो छ । बिपीको ‘गरिबमुखी आर्थिक नीति, शिक्षा, स्वास्थ्यमा पहुँच, भ्रष्टाचारविरुद्ध सशक्त लोकतन्त्र’ आज पनि उत्तिकै उपयोगी देखिन्छ । बिपीको आदर्श नीति न कांग्रेसले अङ्गीकार गर्न सकेको छ न त अन्य दलले अभ्यास गरेका छन् ।
गणतन्त्रको घोषणा र संस्थागत विकास, शान्ति प्रक्रिया र समानताको वकालत, संविधान निर्माण र कार्यान्वयन, सुशासन र समुन्नति जस्ता नीतिगत व्यवस्थामा मात्र होइन खास कार्यान्वयनमा कांग्रेसको भूमिका कस्तो रह्यो भन्ने महìवपूर्ण हुन्छ । गणतन्त्रपछि कांग्रेस सरकारको नेतृत्व र सत्ता सहकार्यको विभिन्न भूमिकामा छ । सरकार सञ्चालन, संसदीय भूमिका कस्तो रह्यो भन्ने विषयमा मिहिन छलफल र सुधारको बाटो पहिल्याउन आवश्यक छ । सत्ता सहकार्य र गठबन्धनको संस्कृतिले कांग्रेसलाई कहाँ पु¥यायो । लोकतान्त्रिक मूल्यमान्यतालाई कस्तो प्रभाव पारेको छ भन्ने विषयको समीक्षा गर्न कांग्रेसी तयार हुँदैनन् । समसामयिक र ज्वलन्त विषयमा जनताले कसरी बुझिरहेका छन् भन्ने दोहोरो संवाद गर्न कांग्रेसी जाँगर चलाउँदैनन् । पार्टीमा हितकारी नीतिको गहन समीक्षाभन्दा पनि स्वार्थकेन्द्रित गतिविधि हाबी देखिन्छ ।
कांग्रेस मुलुकको लोकतान्त्रिक पार्टी, ऐतिहासिक पृष्ठभूमि र ठुलो पार्टी भएको जिम्मेवारीले पार्टीको रूपान्तरण मात्र होइन कि देशको रूपान्तरणको मियो गर्नुपर्ने विषम परिस्थितिमा उभिएको छ । आममानिस मुलुकमा भ्रष्टाचारको नियन्त्रण र सुशासन, सन्तुलित विकासको जनअपेक्षा चुलिएको छ । कांग्रेसको अति उदारवादी र सत्ताकेन्द्रित सोचका कारण जनतामा सबै दल एउटै हुन् भन्ने भ्रम सिर्जना भएका छन् । सामाजिक सञ्जालको प्रभाव, कम्युनिस्टहरूसँगको प्रतिस्पर्धा, लोकप्रियतावादीको लहर भूराजनीतिक चलखेलबाट राजनीतिक मूल्यमान्यताको संरक्षण गर्न कांग्रेस जिम्मेवार हुनुपर्ने विषम घडी आएको छ । मानिस गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग र उद्यमशीलता, कृषिमा विकास, विज्ञान प्रविधिको विकास, जलवायु परिवर्तनसम्बन्धी नीति, अर्थ नीति, विदेश नीति जस्ता गहन विषयमा राजनीतिक कौशलता खोजिरहेका छन् ।
सुशासन र भ्रष्टाचारविरुद्ध भाषणले मात्र हुँदैन । कांग्रेसले अब विचारलाई व्यवहारमा उतार्ने पार्टी बन्नुपर्ने बेला आएको छ । नीति किताबमा मात्र होइन । जनजीवनमा देखिनु पर्छ । हाल कांग्रेसका नीति घोषणापत्र र भाषणमा राम्रा सुनिन्छन् । नीतिगत सुधार कम छ । कार्यान्वयनमा नदेखिने परम्परा गहिरिँदै गएको छ । कांग्रेसको नीति जनजीवनमा प्रभाव पार्न सकेन भने जनता विकल्प खोज्न बाध्य हुन्छन् । नीति अब केवल विचार होइन, कार्यान्वयनको नक्सा हुनु पर्छ । परिष्कृत नीतिमार्फत नतिजा देखिनु पर्छ ।
कांग्रेस आफ्नै विधानको व्यवस्थालाई कुल्चिएर विभिन्न बहानामा नियमित महाधिवेशन म्याद थप्न खोज्छ । ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरमार्फत विशेष महाधिवेशन मागलाई बेवास्ता गर्न खोजिँदै छ । कांग्रेसको ठालुवादले भुइँ तहका कार्यकर्ताको आवाज सुन्न किन चाहँदैन भन्ने विषय लोकतन्त्रका लागि नै गम्भीर हो । आन्तरिक लोकतन्त्र केका लागि हो ? चुनाव किन गर्नु परेको हो ? समाजका आवाज सुन्छौँ । समयानुकूल नीति फेर्छौं । सक्षम नेतृत्व ल्याउँछौँ । जनताका काम गर्छौं भन्न होइन । यज्ञपछिको अनुष्ठान के काम ? चुनावपछिको नीति र नेतृत्वको के काम ? आन्तरिक लोकतन्त्रबाट नै डराउँछ भने कांग्रेसले लोकतान्त्रिक मूल्यमान्यतालाई कसरी अगाडि बढाउँछ ।
कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर पार्न खोजिँदै छ । उम्मेदवार चयन, निर्णय प्रक्रिया, सरकारमा कार्यसम्पादन र संसदीय अनुशासनमा पारदर्शिता देखिँदैन । कांग्रेसको नेतृत्व अब वंश वा वफादारीमा मात्र होइन । योग्यता र जवाफदेहितामा आधारित हुनु पर्छ । पार्टीले आन्तरिक लोकतन्त्र बलियो बनायो भने नेतृत्वको पुनर्जागरण सम्भव छ । नत्र, पार्टी व्रmमशः संरचनागत र मानसिक थकानको चपेटामा पर्न सक्छ । नयाँ पुस्तामा पनि अवसर र चुनौती दुवै छन् । नेतृत्व हस्तान्तरण केवल उमेरको प्रश्न होइन, सोचको प्रश्न हो । समयको माग हो । नयाँ पुस्ताले आधुनिक प्रविधि, विश्व दृष्टिकोण र नीति निर्माण क्षमतामा दक्षता देखाइरहेको छ । पुरानो पुस्ताले नयाँ सोचलाई विश्वास पनि नगर्ने, अवसर पनि नदिने कारण असन्तुष्टि बढ्दो छ ।
कांग्रेसले यो समयको ऊर्जा समेट्न सकेन भने पार्टीले चुनावमा प्रतिस्पर्धा गर्न सक्दैन । नेतृत्वले अब गुट होइन, दृष्टि निर्माण गर्नुपर्ने बेला आएको छ । नियमित महाधिवेशन गर्न सकिँदैन भने विशेष परिस्थितिमा विशेष महाधिवेशनको मागलाई अगाडि बढाएर जनताको आवाज सुन्ने माध्यम बन्नु पर्छ । अनावश्यक महìवकाङ्क्षा राखे पार्टी जोगिन सक्दैन । वर्तमान अवस्थामा नै नीति, नेतृत्व र नियतमा रूपान्तरण नगरी आमचुनावमा कांग्रेसप्रति आशा जाग्न सक्दैन ।
सुशासन, समृद्धि, सदाचारी र समानताका आदर्श कुरा गर्ने तर व्यवहारमा लागु नगर्ने प्रवृत्ति बढ्दो छ । कांग्रेसको नियतमाथि उठेका गम्भीर प्रश्नमा जवाफदेहिताको खाँचो छ । बदलिँदो परिस्थिति र अवसरमा नियत सफा राख्छौँ कि उस्तै परम्परागत जस्तै हुन्छौँ । अब अग्रगमन कि पश्चगमन कांग्रेसजनमा निर्भर रहन्छ । अझै पनि, सङ्कुचित सोच राखेर महाधिवेशन पनि गर्दिन । चुनाव मैले भने जस्तै हुनु पर्छ । मेरा मान्छेले मात्र टिकट र अवसर पाउनु पर्छ । जनताको आवाज सुन्नु पर्दैन । सङ्ख्यामा हामी शक्तिशाली छौँ भन्ने भ्रम राखियो भने क्षति स्वाभाविक छ । बिपी, किसुनजी र गणेशमानका आदर्श कतिन्जेल भजाउने ? समाजको मागलाई बेवास्ता गरेर आफैँ सर्वेसर्वा हुने हो भने परिणाम के हुन्छ ?
आममानिसले अबको कांग्रेस नेतृत्वमा एजेन्डा, ऊर्जा र जनविश्वास खोजेका छन् । सात भाइ हुन् कि सभापतिका प्रतिस्पर्धी शेखर कोइराला, संस्थापनका सजिला पूर्णबहादुर अब यो पुस्तामाथि जनविश्वास घट्दो छ भन्ने विश्वास गर्नुहोस् । कांग्रेसमा साँच्चिकै पुनः जनविश्वासको लहर ल्याउने हो भने स्वार्थी मानसिकता छोडेर युवापुस्ताको नीति र नेतृत्वमा गोलबद्ध हुनु पर्छ । कांग्रेसमा भविष्यको दिशानिर्देश गर्न नीतिमा स्पष्टता, नेतृत्वमा नवप्रवर्तन र नियतमा शुद्धता ल्याउन सक्यो पार्टी रूपान्तरण हुन्छ । आशाको पुनर्जागरण हुने छ ।
राजनीतिक नियत भनेको पार्टीको आन्तरिक नैतिकता हो । राजनीति सत्ता प्राप्तिको साधन मात्र होइन । प्रणाली सुधारको माध्यम हो । संस्थागत विकासको सङ्कल्प हो । जनसेवाको मार्ग हो । नीति र नेतृत्व बलियो भए पनि नियत कमजोर भयो भने पार्टी जनताको विश्वास जित्न सक्दैन । पछिल्ला वर्षमा कांग्रेसको नियतमाथि सत्ता स्वार्थ, गुटगत प्रतिस्पर्धा, व्यक्तिगत लाभ र अवसरवादले नैतिक पहिचान धमिल्याएको छ । कांग्रेसमा पारदर्शिता र जवाफदेहिता ल्याउन केही ठोस सुधार गर्न आवश्यक छ । उम्मेदवार छनोटमा आन्तरिक प्राथमिक निर्वाचन लागु गर्ने, नीतिगत छलफलमा तल्लो तहका प्रतिनिधिलाई प्रत्यक्ष सहभागी गराउने, कार्यभार र नेतृत्वको कार्यकाल तोक्ने स्पष्ट नीति लिनु पर्छ । कांग्रेसलाई धनवाद र डनवादबाट मुक्त गरी प्रशिक्षणमुखी र विचारमुखी पार्टी बनाउन सके कांग्रेस फेरि चुनावमा जनसमक्ष लोकप्रिय बन्न सक्छ ।
कांग्रेसको इतिहास गौरवशाली छ तर भविष्य त्यसले मात्र निर्धारण गर्दैन । अबको कांग्रेसले आफूलाई पुनः परिभाषित गर्नै पर्छ । राजनीति, समाज र संवैधानिक अभ्यासलाई लयमा ल्याउन कांग्रेसभित्र रूपान्तरण अपरिहार्य छ । कांग्रेसको आत्मा पुनर्जागृत गर्न समयमै महाधिवेशन मुख्य सर्त हो । राजनीति पदका लागि होइन, परिवर्तनका लागि हो । कांग्रेस सत्ताका लागि मात्र होइन, सेवाका लागि हो भन्ने फेरि एक पटक जनताको मनमा त्यो भावना जगाउन सक्छ । कांग्रेस पुनर्जनविश्वास जगाउन सक्यो भने त्यो केवल पार्टीको पुनर्जागरण मात्र होइन । लोकतन्त्रकै पुनर्जागरण हुने छ । लोकतन्त्रमार्फत देशको समृद्धिमा मार्गचित्रको मियो बन्न सक्छ ।