• १८ कात्तिक २०८२, मङ्गलबार

फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा

blog

फरक क्षमता भएका विद्यार्थीलाई प्रदान गर्न खरिद गरिएको न्यानो कपडा शिक्षकलाई हस्तान्तरण गर्नुहुँदै समाजसेवी युवा रुपेश लेछर्वो । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, कात्तिक १८ गते । आफ्नो ३१ औं जन्मदिनको अवसरमा फुङलिङ नगरपालिका १० फुरुम्बुका समाजसेवी युवा रुपेश लेछर्बोले फरक क्षमता भएका विद्यार्थीलाई  न्यानो कपडा उपलब्ध गराउनु भएको छ । फुङ्लिङ नगरपालिका ४ स्थित बाल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समाजसेवी युवा लेछर्बोले न्यानो कपडा प्रदान गर्नुभएको हो ।

जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गर्दै उहाँले फरक क्षमता भएको विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको बताउनुभयो । बालमन्दिरमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सामान्य रुपमा भए पनि टेवा दिने उद्देश्यका साथ कपडा बितरण गरिएको लेछर्बोको भनाइ छ । विद्यालयका प्रधानाध्यपक धर्मप्रसाद पौडेलका अनुसार समाजसेवी युवा लेछर्बोले करिब १ लाख रुपियाँ बराबरको न्यानो कपडा तथा एक पटकको टिफिन समेत उपलब्ध गराउनु भएको छ । उक्त विद्यालयमा जिल्लाभरिका ८३ जना विद्यार्थी अध्ययनरत छन ।

लेछर्बोले मन्तव्यको क्रममा आफूलाई जन्मदिने आमाबुवालाई  स्मरण गर्दै अध्ययनरत विद्यार्थीको शैक्षिक सफलताको साथै उज्ज्वल भविष्यको समेत कामना गर्नुभयो । हरेक होटल तथा पार्टी प्यालेसमा जन्मदिनको अवसरमा हुने खर्चलाई कटौती गरेर शैक्षिक क्षेत्रमा विद्यार्थीको निरन्तरतालाई जारी राख्न यस पटक फरक ढङ्गले आफ्नो जन्मदिन मनाएको उहाँको भनाइ छ । 

उहाँले आम जिल्लावासी युवालाई समेत जन्मदिन लगायतको अवसरमा गरिने फजुल खर्चलाई बचत गरेर भविष्यको कर्णधारको रुपमा रहेका विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने प्रकारको कार्य गर्न आह्वान समेत गर्नुभयो।

जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोगस्वरुप न्यानो कपडा उपलब्ध गराएको कार्यको प्रशंसा गर्दै विद्यालयले समाजसेवी युवा लेछर्बोको जन्मदिनको कामना गर्दै सम्मान गरी मायाको चिनो प्रदान गरेको छ।