• २१ असार २०८१, शुक्रबार

मनाइयो सकिमना पुन्ही : इष्टदेवलाई सक्खरखण्ड, पिँडालु

blog

काठमाडौँ, मङ्सिर १२ गते । कात्तिक पूर्णिमामा सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) मनाइएको छ । यस पर्वमा सकी अर्थात् पिँडालु तथा सक्खरखण्ड उसिनेर खाने प्रचलन छ । ऋतु अनुसारको उब्जनी आफ्नो उत्पादन इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन अनुसार पिँडालु, सक्खरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको संस्कृतिविद् ओम धौभडेले जानकारी दिनुभयो । यसले शरीरमा ताकत उत्पन्न हुने र शरीर स्वस्थ हुने जनविश्वास छ ।

यसै अवसरम कमलविनायक भत्केको पाटीस्थित यातु महादेव, आशापुरेश्वर (आशापुरी) महादेव, डोलेश्वर महादेव, सुवर्णेश्वर महादेवलगायत महादेव मन्दिरमा विशेष मेला लागेको छ । सकिमना पुन्हीका दिन महादेवको पूजा आराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनुका साथै राम्रो वर पाउने धार्मिक विश्वास रहेको पनि उहाँले जानकारी दिनुभयो । 

द्वारेले हरेक भजनमण्डलीले साँझ मन्दिर अगाडि उसिनेको सक्खरखण्ड, पिँडालु तथा भुटेका मकै, भटमास, गहँु, बदाम, केराउ, चनालगायत विभिन्न गेडागुडीले देवीदेवता तथा मन्दिरको कलात्मक आकृति बनाउने जानकारी दिँदै थप्नुभयो, जसलाई स्थानीय भाषामा हलिमलि भनिन्छ । अन्त्यमा त्यसैलाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन रहेको छ । सकिमना पुन्हि कलालाई अन्नमार्फत प्रस्तुत गर्ने एक दुर्लभ कलाकारिता भएको संस्कृतिविद् धौभडेलको भनाइ छ । 

घर घरमा उसिनेको पिँडालु खाएर ‘सकिमना पुन्ही’ मनाएका उनीहरूले धान, मकै, भटमासलगायत भुटेका गेडागुडीबाट न्यातपोल मन्दिर, बिस्का जात्राको रथ, गणेशलगायत विभिन्न देवीदेवताका आकृति बनाउने कलाकारिताको प्रतीक नै हो । 

सामान्य किसानले पनि अन्नका दाना खेलाउँदै विभिन्न आकृति बनाउँछन्  उहाँले भन्नुभयो, “धर्तीको थालमा कला पस्केसँगै उनीहरूको अनुहार पनि चन्द्रमाज स्तै हँसिलो हुन्छ ।” यो चित्रकलाले यहाँका प्राचीन वैभव झल्काउँछ । काठमाडौँ उपत्यकामा जाडोयाम सुरु हुने र शरीरलाई चिसोबाट बचाउन खेतमा खेर गइरहेको पिँडालु उसिनेर खाँदा शरीरमा ताप तथा ऊर्जा प्राप्त हुने आधारले यो पर्व मनाउन थालेको बताइन्छ । उसिनेको पिँडालुले शरीर तताउँछ, धौभडेलले थप्नुभयो, “अन्नको कलाले मनलाई फुरुङ्ग बनाउँछ ।”