• १ कात्तिक २०८२, शनिबार

दस लाख लगानीमा बहुजातीय सांस्कृतिक घर

blog

सन्तोष दहित

दाङ, कात्तिक १ गते । आदिवासी थारू समुदायलगायत विभिन्न समूदायको मौलिक भेषभूषा हराउँदै गएको अवस्थामा दाङमा बहुजातीय सांस्कृतिक भेषभूषा घर स्थापना गरिएको छ । लोप भइरहेको पोशाकहरूको प्रचारप्रसार तथा संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले जिल्लाको धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित घोराही उपमहानगरपालिका–५, स्थित धारपानीमा स्थापना गरिएको हो ।

घोराही उपमहानगरपालिका–६, पक्वैका श्रीदेवी चौधरीले करिब दस लाख लगानीमा सांस्कृतिक भेषभुषा घर सञ्चालनमा ल्याएनुभएको हो । सांस्कृतिक भेषभूषाको संरक्षणसँगै पाण्डेश्वर धाम क्षेत्रको पर्यटन विकासमा योगदान गर्ने उद्देश्यले आफूले यो अभियान सुरु गरेको बताउनुभयो । उहाँको अनुसार थारू, मगर, क्षेत्री, नेवारी, ठकुरीलगायतका समुदायको परम्परागत पोशाक र राष्ट्रिय पोशाकहरू पाइन्छ । 

यद्यपि सो पोशाकहरू अहिले बिक्री नगर्ने गरेको उहाँले बताउनुभयो । “पाण्डेश्वरधाम घुम्न आउने पर्यटकले ती पोशाक रोजेर लगाएर फोटो खिच्न पाउनुहुन्छ, श्रीदेवीले भन्नुभयो, “पर्यटकले रोजेको पोशाक आधा घण्टासम्म लगाउन पाउँछन्, तर हामीले त्यसबापत हामीले निश्चित शुल्क लिन्छौं ।” पोशाक लगाउने अनुभवको शुल्क एक व्यक्तिका लागि प्रतिआधा घण्टा १०० रुपियाँ तोकिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, डिएसएलआर क्यामेराबाट खिचिएको एक पोज फोटोको २० रुपियाँ र भिडियो क्लिपको ५० रुपियाँ शुल्क लिने गरिएको उहाँले बताउनुभयो।  

“सांस्कृतिक भेषभूषा घरले दिनहुँ ३ देखि ५ हजार रुपियाँसम्म आम्दानी गरिरहेको छ, श्रीदेवीले भन्नुभयो, “सांस्कृतिक भेषभुषा घरले आदिवासी जानजाति समूदायको मौलिक भेषभुषाको प्रचार प्रसारसँगै यसको संरक्षण र प्रवर्धन गरेका छौं । स्थानीय दुई जनालाई रोजगारीसमेत दिएका छौं ।” स्थानीय आदिवासी थारू समुदायको मौलिक भेषभुषा तथा गरगहना लोप भइरहेको समयमा बहुजातीय सांस्कृतिक भेषभुषा घरमार्फत संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवर्धनको  दृष्टिले उदाहरणीय बन्दैगएको घोराही उपमहानगरपालिका–६ का वडाध्यक्ष विष्णुराम आचार्यले बताउनुभयो । 

“श्रीदेवीको यो पहलले घोराहीको धारपानी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण थपिएको छ” उहाँले भन्नुभयो, “अझ त्यसभन्दा पनि आदिवासी समुदायको मौलिक भेषभुषाको प्रचारप्रसार र यसको संरक्षण, प्रवर्धनमा टेवा पुगेको छ ।”

वर्षैपिच्छे लोप हुँदैगएका आदिवासी समुदायको परम्परा तथा मौलिक पोशाक र पहिचान जोगाउन स्थापना गरिएको सांस्कृतिक भेषभुषा घरले आगामी दिनमा अझै व्यापक बनाउने योजना रहेको श्रीदेवीले जानकारी दिनुभयो । यही वर्षको घटस्थापनाको दिनबाट औपचारिक रूपमा सञ्चालनमा आएको सांस्कृतिक भेषभूषा घरले भविष्यमा अझ धेरै जाजातिको भेषभूषा सङ्ग्रह गर्दै सांस्कृतिकउत्सव र कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको श्रीदेवीको भनाइ छ। सांस्कृतिक भेषभुषा घरले दाङको आदिवासीलगायत समूदायलगायत राष्ट्रिय पोशाकले यस धामको पर्यटन विकाससँगै सांस्कृतिक पहिचान जगेर्नामा उदाहरणीय बन्दै गएको छ ।