हेटौँडा समाचारदाता
हेटौँडा, कात्तिक २ गते । तिहारनजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन न्यून भएकाले बजारमा फूलको अभाव देखिएको हो ।
पूर्वी मकवानपुरको बकैयाका व्यवसायी नारायण घिमिरेलाई यतिबेला सयपत्री फूल बिक्री गर्न भ्याइनभ्याइ छ । हेटौँडा उपमहानगरपालिकासहित बकैया, बागमती र ललितपुरबाट पनि फूलको माग आएपछि उहाँलाई भ्याइनभ्याइ भएको हो । व्यावसायिक तरकारी खेतीसहित गत वर्षदेखि फूलखेतीमा लागेका घिमिरेले मखमली र सयपत्री फूलको खेती गर्नुभएको छ ।
करिब तीन कट्ठामा उहाँले टेनिस बल प्रजातिको सयपत्री फूलको खेती गर्नुभएको छ । चितवनबाट २५ सय बिरुवा ल्याएर उहाँले लगाउनुभएको थियो । हाल उहाँले प्रतिमाला एक सय रुपियाँदेखि १२० रुपियाँसम्ममा बिक्री गर्दै आउनुभएको छ । उहाँले फूल प्रतिकेजी पाँच सय रुपियाँका दरले बिक्री गरेको जानकारी दिनुभयो ।
“अहिले बजारको समस्या छैन, दिनहुँ फूलको माग आइरहेको छ, कतिपय त बारीमै लिन आउनुहुन्छ,” घिमिरेले भन्नुभयो । तिहारअगाडि भएका सामाजिक कार्यक्रमका लागि पनि फूलको माग भइरहेको छ । हेटौँडा–१८, बकैया–३, ४ नं. वडालगायतका क्षेत्रमा १० हजार रुपियाँभन्दा बढीको फूल बिक्री गरिसकेको उहाँले बताउनुभयो । तिहार सुरु हुनुभन्दाअगाडिबाट फूलेको फूल एकादशीसम्म बिक्री हुने गरेको उहाँको भनाइ छ । फूल बिक्री गरेर डेढ लाख रुपियाँभन्दा बढी आम्दानी लिन सक्ने उहाँको अनुमान छ ।
अहिले स्थानीय तहले पनि प्लास्टिकको र बाहिरबाट आउने फूललाई प्रतिबन्ध गरेकाले यहाँका किसानले उत्पादन गरेको फूलले बजार पाएको छ ।