गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २ गते । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार शनिबार सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिकशुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । यमदीप दान पनि शनिबारदेखि सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । उहाँले काग तिहार भने आइतबार परेको बताउनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीप दान पर्व मनाउने शास्त्रीय मान्यता छ । सायङ्कालमा त्रयोदशी भएका दिन यमदीप दान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदय कालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो ।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यम यातनाबाट मुक्ति पाइने विश्वास छ । धन्वन्तरी जयन्ती भने आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ ।
यमदीप दान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउनुहुन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीप दान गरिन्छ । सोमबार अरुणोदय कालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मी पूजा गर्नुपर्ने समितिका अध्यक्ष ढकालले बताउनुभयो ।