• १२ साउन २०८१, शनिबार

केपी ओली कप : आर्मीको विजयी सुरुवात

blog

काठमाडौँ, मङ्सिर ११ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले केपी ओली कप टी–२० प्रतियोगिताका विजयी सुरुवात गरेको छ । समूह ‘डी’ अन्तर्गत पोखरा रङ्गशालामा सोमबार भएको खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई एक सय १० रनले हरायो ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९५ रन बनाएको थियो । आर्मीका लागि सन्तोस कार्कीले सर्वाधिक ४१ रन बनाउनुभयो । कप्तान विनोद भण्डारीले ३८, विवेक यादवले अविजित २९ र कुशल मल्लले २५ रन जोड्नुभयो । बलिङमा मदन भण्डारीका मोहील श्रेष्ठले दुई विकेट लिनुभयो । 

जितका लागि एक सय ९६ रनको लक्ष्य पछ्याएको मदन भण्डारी १५.४ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटिएको थियो । मदन भण्डारीका लागि निर्भिक पाठकले २८ रन बनाउनुभयो । मदन भण्डारीलाई सस्तैमा समेट्न आर्मीका कुशल मल्लले तीन विकेट लिनुभयो । जितेन्द्र मुखिया र साहव आलामले समान दुई दु्ई विकेट झार्नुभएको थियो । सोमबार नै भएको पहिलो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराएको थियो । 

मङ्सिर १५ गतेसम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता  छ । प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पाउनेछन् । यस्तै म्यान अफ द सिरिजले ३० हजार, बेस्ट व्याटर र बलरले जनही २० हजार तथा म्यान अफ द म्याचले पाँच हजार रुपियाँ पुरस्कार पाउनेछन् ।