आयुर्वेदको जीवनपद्धति हो । प्राकृतिक चिकित्सा अभ्यास परापूर्वकालदेखि नै हुँदै आएको छ । ऋषिमुनिको तपोभूमि नेपालमा मानव स्वास्थ्य, रक्षानिम्ति अपनाइएको प्राचीन पद्धति नै आयुर्वेद हो । यहाँको खास गरी हिमाली र पहाडी जडीबुटी तथा खनिजजन्य जडीबुटी अनि प्राकृतिक चिकित्साको अभ्यास अनुपम छ । नेपालको परम्परागत औषधीय प्रणाली आयुर्वेदको दर्शनमा अनावश्यक दुःख रोक्ने र स्वस्थ जीवन जिउन सहयोग पु¥याउने अनिवार्यता रहन्छ । आयुर्वेदमा प्राकृतिक वस्तुहरूको प्रयोगबाट शारीरिक सन्तुलनको पुनस्र्थापना गर्ने, रोगको मूल कारक हटाउने, स्वस्थ जीवनपद्धति लागु गरी शारीरिक असन्तुलनको पुनरावृत्ति हुनबाट रोक्ने र उपचारात्मक पद्धति अवलम्बन गरिन्छ । जडीबुटी, खनिज र जनावरजन्य उत्पादनबाट बनेका मिश्रण औषधी अनि रोग लाग्नै नदिने खानपान, शारीरिक अभ्यास (योग) र नैतिक आचरणमा आधारित आयुर्वेद जीवनपद्धतिका रूपमा अपनाउँदा आफ्नो स्वास्थ्य रक्षाका साथै मुलुकले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने ठुलो खर्च जोगिने छ ।
आयुर्वेदिक क्षेत्रमा विभिन्न रोग निवारणका लागि उपयोग हुने ओखती र प्रयोग विधिहरूबारे पुर्खाले विभिन्न वैदिक दर्शन, ग्रन्थ र चिकित्साका किताबहरूमा लिपिबद्ध ज्ञान दिएर छाडेका छन् । आयुर्वेदिक ओखती बनाउने कम्पनीहरूले तिनै स्रोत, शुद्धीकरणको उपाय, प्रशोधन, सामग्रीहरू मिसाउने तरिका र उपयोग आदिको विधिमा आधारित रहेर औषधीहरू बनाउने गर्छन् । स्थानीय जडीबुटी र प्रविधिको उपलब्धता अनुसार सुधार र समायोजन अपनाई औषधी तयार गरिन्छ । त्यस्ता वनौषधी (जडीबुटी) तथा खनिजजन्य पदार्थ पोषक र औषधीय गुणकारी हुँदा आधुनिक रसायनयुक्त औषधी र चिकित्साको विकास नहुँदा तिनैले मानव स्वास्थ्य रक्षा गरेका थिए । विज्ञान, प्रविधिको विकाससँगै कैयौँ मुलुकले तिनै वनौषधीका गुण तत्वका आधारमा अनेक खोप र औषधीअ विकास गरेर महामारी रोक्न सफल भएका छन् । तितेपातीको रस, राति खरानी डुबाएर राखेको कञ्जन टर्रो पानी खाली पेटमा पिएर पेटका जुका निकालेका तपाईंहामी धेरै छौँ ।
नेपालमा फूल फुल्ने पाँच हजार ३०९ प्रजाति अनि फूल नफुल्ने छ हजार ८३ प्रजातिका वनस्पतिमध्ये २९३ प्रजाति त रैथाने नै रहेको अभिलेखीकरण भएको छ । मुलुकको झन्डै ५२ प्रतिशत वन क्षेत्रमा रहेका वनस्पतिमध्ये अधिकांशमा औषधीय गुण छ तर अनुभव र केही प्राचीन ग्रन्थका आधारमा तीमध्ये केहीको प्रयोग, उत्पादन भए पनि हामी नाभीको कस्तुरी थाहा नपाएको मृग झैँ भौँतारिएका छौँ । चट्टानबाट चुहिने खनिजजन्य पदार्थ शिलाजितलगायत जडीबुटीको महत्व बुझेर तिनको अन्वेषण, बौद्धिक अधिकार संरक्षण, उत्पादन र प्रयोग गर्ने हो भने सर्ने नसर्ने दीर्घरोग, मनोरोगसमेतको उपचार र आर्थिक उपार्जनमा मुलुकले ठुलो लाभ लिन सक्छ ।
आयुर्वेद भनेको जडीबुटी मात्र होइन, सम्पूर्ण जीवन जिउने पद्धति हो । यसमा काया चिकित्सा, शल्य चिकित्सा, बुद्धविद्यादेखि लिएर नाक, आँखा, कान, बालरोग, प्रसूति सबै प्रकारका स्वास्थ्य सेवामा आयुर्वेद लाभकारी छ । जैविक स्रोतमा आधारित आयुर्वेद योग, ध्यान र नैतिक आचरणमा पनि आधारित रहेकाले शारीरिक मानसिक स्वास्थ्य रक्षाका लागि अनुपम छन् । आयुर्वेद चिकित्सा सेवा क्षेत्रको संस्थागत संरचना विकास गर्न थालेको एक शताब्दी भए पनि आयुर्वेदिक औषधीको अनुसन्धान र विकासमा यथोचित प्राथमिकता नदिइँदा एकातिर स्रोत खेर गइरहेको छ भने अर्कातिर प्रत्युत्पादक प्रतिजैविक औषधीहरूको दुरुपयोग र खर्च बढिरहेको छ । यो अवस्था रोकेर जैविक स्रोतको संरक्षण र प्रयोगमार्फत मानव स्वास्थ्य रक्षा र मुलुकको खर्च घटाउने उपाय आयुर्वेदलाई वास्तवमै जीवनपद्धति बनाउन जरुरी छ ।
नेपालको मौलिक र परम्परागत चिकित्सा पद्धतिलाई नेपालको राष्ट्रिय चिकित्सा पद्धति पनि भन्ने गरिएको छ । अहिले सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र, अञ्चलहरूमा औषधालय र तीन सयभन्दा बढी गाउँपालिकास्तरीय औषधालयहरूसमेत स्थापना भएका छन् तर पर्याप्त जनशक्ति र चेतनाको विस्तार हुन सकेको छैन । आयुर्वेदिक औषधीका कम्पनीहरू कम भएका कारण नेपालमा उत्पादन हुने जडीबुटीको भरपूर उपयोग हुन सकेको छैन । केही मात्रामा सुगन्धित तेल र ‘हर्बल केयर’ बनाएर निर्यात भइरहेको छ । अब हिमाल, पहाड र तराईको हावापानीका जडीबुुटीलाई स्वास्थ्य रक्षा र मुलुकको आर्थिक लाभका लागि सदुपयोग गर्न आयुर्वेद क्षेत्रको विकासमा जोड दिइनु आवश्यक छ । पूर्वीय सभ्यताको अङ्ग र पुर्खाको नासोका रूपमा रहेको आयुर्वेदको गौरवपूर्ण विरासतलाई अब आधुनिक प्रविधिसँग जोडेर लैजानु पर्छ ।