• २० वैशाख २०८१, बिहिबार

समय फेरिएर सुरु भयो द्रुत बस सेवा

blog

फाइल तस्बिर ।

काठमाडौं, मङ्सिर १० गते। समय संशोधन गर्दै आइतबाट द्रुत बस सेवा पुनः सुरु भएको छ। पहिले बिहान ९ देखि बस सेवा सुचारु गरिए पनि अब भने बिहान ८:३० देखि १०:३० सम्म र बेलुका ३:३० देखि ५:३० बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ। 

बस प्रत्येक तीन–तीन मिनेटको अन्तरमा छुट्ने व्यवस्था मिलाइएको छ। गत असोज ३ गते (संविधान दिवस) को अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको शुभारम्भ गर्नुभएका थियो। 

सञ्चालन भएको एक हप्ता राम्रोसँग सञ्चालनमा आएको सेवा माइतीघरमा भएको शिक्षक आन्दोलनका कारण केही दिन प्रभावित भएको थियो। उक्त सेवा दसैँ, तिहार जस्ता चाडपर्वमा लामो समय बिदा भएकाले अपेक्षा गरेअनुसार सञ्चालनमा आउन सकेन। 

आइतबारबाट भने द्रुत बस सेवा थप प्रभावकारी रूपमा सञ्चालनमा आएको छ। यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार द्रुत बस सेवा थप प्रभावकारी रूपमा सञ्चालनमा आएकाले अब बिना कुनै रोकावट  सञ्चालनमा आउने छ। 

उहाँले भन्नुभयो, “द्रुत बस सेवा आम सर्वसाधारणका लागि समय बचत होस् भनेर सुरु गरिएको थियो। बिचमा केही सुस्त भएको थियो। अब  थप प्रभावकारी रूपमा सञ्चालन भएको छ।’’

आइतबार बिहान द्रुत बस सूर्यविनायकबाट बिना कुनै रोकावट ४५ मिनेटमा नै रत्नपार्क पुगेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “आज बिहानको समयमा सञ्चालनमा रहेका सबै द्रुत बसहरू निर्धारित समयमा नै गन्तव्यमा पुगेका छन्। ट्राफिकको समस्या केही समाधान भएको छ। ”

अन्य बसका लागि लागू भएको भाडादर नै द्रुत बस सेवाका लागि पनि लागू हुने उहाँको भनाइ छ। केही स्थानमा ट्राफिक व्यवस्थापनमा समस्या आएको बुझिएकाले त्यसको व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई आग्रह गरिएको उहाँको भनाइ छ।  पनेरुले भन्नुभयो, “जडीबुटी, कोटेश्वर लगायतका केही स्थानमा ट्राफिक  समस्या आएको भन्ने बुझिएको छ। ती स्थानमा ट्राफिक व्यवस्थापन गरिदिनका लागि ट्राफिक प्रहरीलाई आग्रह गरेका छौँ ।”

द्रुत बस सेवा सुरुको समयमा ट्रायलको रूपमा सञ्चालनमा ल्याइएको र प्रत्येक एक–एक महिनामा सेवाको बारेमा अनुसन्धान गर्दै अघि बढ्ने योजना रहेको उहाँले बताउनुभयो।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर द्रुत बस सेवाले निरन्तरता पाउने बताउनुहुन्छ। सुरुको एक हप्तामा राम्रोसँग चलेको बस सेवा ट्राफिक व्यवस्थापनका कारण प्रभावित भए पनि अब भने यो निरन्तर रूपमा सञ्चालन हुने उहाँको भनाइ छ। 

बिहानको समयमा रत्नपार्कदेखि सूर्यविनायकसम्म जाने मान्छेहरू धेरै नहुने भएकाले बिहानको सेवा सूर्यविनायकदेखि रत्नपार्कसम्म केन्द्रित गर्ने योजना रहेको उहाँको भनाइ छ। बेलुकापख भने रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा लक्षित गर्ने योजना रहेको उहाँले बताउनुभयो। 

उहाँले भन्नुभयो, “बिहानको समयमा सूर्यविनायकदेखि रत्नपार्क आउने मान्छेको चाप बढी हुन्छ।  त्यसैले बिहानको समयमा सूर्यविनायकदेखि रत्नपार्क लक्षित गर्ने र बेलुकाको समयमा रत्नपार्कदेखि सूर्यविनायकसम्म लक्षित गर्ने योजना बनाएका छौँ।” 

यसो गर्दा ट्राफिक व्यवस्थापनमा पनि सहजता आउने उहाँले बताउनुभयो। आजबाट सुरु भएको द्रुत बस सेवामा ११ वटा बस थप गरेर ३६ वटा बस सञ्चालनमा आएका छन्।  

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।