अफसोस यस कुरामा भयो नारायणलाई, उसले त्यसो किन भन्यो ? भन्न नहुने थियो तर भन्यो र अहिले पश्चात्ताप गर्नु परिरहेछ । कहिलेको बोली कुन किसिमले भनिएको हुन्छ त्यो चाँडै नै सत्य साबित हुनु दुःखद हुन सक्दो रहेछ । यस तथ्यले नारायणलाई भित्रभित्र पोल्दै थियो । उसले असर्फीलाई यत्ति मात्र भनेको थियो, “तपाईंहरू हाम्रोमा आउनुभएन भने आइन्दा हामी पनि आउँदैनौँ ।” यसको अर्थ त सोझो थियो, परस्परको मित्रता कायम रहोस् । कायम मात्र होइन चलायमान रहोस् । अफसोस यसैमा लाग्यो उसलाई, परस्परको मित्रता चलायमान रहन सकेन बरु स्थगित भयो ।
असर्फी र नारायणको परिचय धेरै वर्षअघिको थियो । यसमा एउटा कथात्मकता पनि छ । धेरै वर्षअघिको परिचय र आत्मीयता गाढा थियो र धेरैपछिको भेटघाटले सघन पुनर्ताजगी पाएको थियो । यो पुराना कथाहरूमा झैँ मित्र विदेश व्यापारमा गएपछि छुटेको मित्रसँग कालान्तरमा भेट हुँदाको बयान जस्तो । बयानमा यो पनि हुन्थ्यो, मित्रहरूबिचको आत्मीयता त्यति वर्षपछि पनि पातलिन पाएको छैन । भेट हुनासाथ दुई मित्रहरू पुनर्मिलनको हर्षले हग गर्दै विभोर भए, यस्तो भन्न मिल्थ्यो । त्यो अकस्मात्को भेटले दुई मित्रबिचको आत्मीयता फेरि फस्टाएको थियो । पिउने, मिठो खाने, भए नभएका गफ गर्ने र घर आवतजावतमा होइन । सामान्यतया असर्फी नारायणको पसलमा बेलाबेला जान्थ्यो, सोकेसको छेउको एउटा काठको मेचमा बसेर सडकमा ओहोरदोहोर गरिरहेकालाई हेरिरहन्थ्यो । नारायण ग्राहकलाई मालसामान बेच्नबाट फरफारक भएपछि ऊ असर्फीसित गफिन थाल्थ्यो । पसलमा कामदार पनि थियो जुन नारायणको पार्टनर थियो । तर पार्टनरको नाम पछिसम्म असर्फीलाई सम्झना रहेन । तर असर्फीले अब त्यो नारायणको पार्टनरको नाम सम्झिनुपर्ने पनि रहेन ।
असर्फीलाई नारायण आदर गथ्र्यो । कारण असर्फी ऊभन्दा आठ दस वर्ष जेठो थियो । उसले राजधानीको भित्री सडकमा असर्फीलाई एक दिन बिहान मर्निङवाकमा देख्यो र चिन्यो । असर्फी रिटायर्ड जस्तै थियो भने नारायणले पनि पसल–व्यापार छाडेर फुर्सतको जीवन बिताइरहेको थियो । भेट हुनासाथ नारायणले भन्यो, “हेलो मित्र आरामै । धेरै दिनपछि हाम्रो भेट भयो नि त ।” असर्फी पनि चकित भयो । जवाफमा तुरुन्तै भन्यो, “हेलो नारायण भाइ ! आज बिहानै पनि म तिमीलाई सम्झिरहेथेँ । कस्तो गज्जबको संजोग प¥यो ।’ दुवैले दुवैलाई सम्झिरहने गर्थे, ढाँट कुरो थिएन । तर एक जना जागिरको सिलसिलामा मुलुकको एक कुनाको जिल्लामा पुग्यो भने नारायण पसल छाडेर बढी मुनाफा कमाइने होलसेलको काम गर्न राजधानी छिरेको थियो । अहिले दुवैको भेट भयो राजधानीमा ।
धेरै चोटि त्यसरी मर्निङवाकमा भेट हुँदै रहेपछि नारायणले भन्यो, “मेरो घर जाऊँ, आऊ ।” त्यति बेला असर्फी पनि बिहानको डुलाइबाट फर्कंदै थियो । घरका लागि चाहिने केही सामान किनेर हातमा झुन्ड्याएर ओरालो झर्दै गरेको । असर्फीलाई उसले औपचारिकतापूर्वक ‘हिँड जाऊँ घर’ भने पनि कर नै गर्न सकेन । हातमा समान लिएर घरतिर हिँडिरहेको मित्रलाई बिचबाटैबाट घरतिर लैजान सम्भव थिएन । तर उसले उभिएको ठाउँबाटै आफ्नो घरको अवस्थिति देखायो । घर नजिकै थियो । नारायणलाई यो विश्वास थियो कममा असर्फी उसको आग्रहको मान राख्न केही दिनभित्रै उसलाई भेट्न अवश्य घर खोज्दै आउने छ । घर पनि त्यहाँबाट टाढा थिएन । तर घरलाई उकालोतिर लाग्ने एउटा मोडले छेक्थ्यो । अहिले त छेकेको छेक्यै भयो । उसलाई अफसोस लागेको छ ।
असर्फी नारायणको घर जान चाहन्थ्यो तर एउटा केले छेक्यो छेक्यो ऊ जानै सकेन । बिचमा बिरामी पनि भयो । श्रीमती पनि बिरामी भई । भाइरलले । ऊ हप्ता दिन जति घरबाट बाहिरै निस्केन । नारायणले भनेको थियो, “घरमा अरू कोही छैन । छोराछोरी दुवै विदेशमा छन् । घरमा हामी दुई बुढाबुढी मात्र । तल्लो तलामा भाडामा मान्छे त छन् तर तिनीहरूसँग समय बिताउन के कुराकानी गर्नु ? ती पनि जागिरे छन् । दुवै, लोग्ने पनि स्वास्नी पनि । दिउँसोपख त अत्यासलाग्दो गरी घर एकदम शून्य हुन्छ ।”
असर्फीको हालत पनि त्यस्तै थियो । घरमा कोही थिएन शिवाय बुढाबुढी । आधा घर भाडामा दिएको थियो । उसले भाडावालसित मासिक भाडा उठाउनुबाहेक धेरै सरोकार राख्दैनथ्यो । उसकी बुढीले सकी नसकी पकाउँथी दाल र भात । भातसित कि तरकारी कि दाल । दाल, भात तरकारी तीन थोक होइन । अनि सिलौटोमा घसरघसर गर्दै लोहोरो दलेर गोलभेडाको झोलिलो चटनी पिस्थी । गुजारा चलिरहेको थियो । काम गर्ने मान्छे राखेका थिए । बुढाबुढी धेरै कचकच गर्ने भनेर टिकेन र पछि भाँडा माझ्न र घर सफा गर्न मात्र मान्छे राखे । बुढी बिरामी भइराख्थी । कहिले रातभरि खोकेर बेहाल हुन्थी त कहिले खुट्टाका पाँसुला फर्केर दिक्दार । उसमाथि हातखुट्टाका आैँलाका टुप्पाटुप्पा दुखे भनेर रुन रुन खोज्थी । यी सबैले असर्फीको मनमा चैन हुँदैनथ्यो । एउटी बुढीलाई पनि उसले सुखी र सुस्वस्थ राख्न सकेन भनेर कहिले आफैँलाई सरापिराख्थ्यो त कहिले बुढीलाई सान्त्वना दिँदै थपथपाएर निदाउन हाल्थ्यो । भन्थ्यो– “बुढेसकालका दुःख हुन् यी ।”
असर्फी आफू भने मुटुको रोगी थियो । कहिलेकाहीँ रिँगटा लागेर बाथरुममा लड्न खोजेझैँ हुन्थ्यो । सोच्थ्यो– हिजो अलि बढी नुन चर्को तरकारी खानाले यस्तो पो भएको हो कि ?” कहिले हिँडदा हिँड्दै रिँगटाको अनुभव गथ्र्यो, पसलको पिँढीको सिँढीमा बस्थ्यो र रिँगटाको अनुभव कम भएपछि उठेर घरतिर सुस्त सुस्त पाइला चाल्थ्यो । यस्तो दुई तीन दिन यता बढी हुन थालेको थियो । अब जाने बेला आएछ भनेर पिरलिन्थ्यो । “बुढीले कसरी बाँकी दिन बिताउली ?” यो पनि थियो मनको गाढा चिन्ता । उसले बुढी चिन्तित हुन्छे र रुन्छे भनेर घरमा केही बताउँदैनथ्यो । बुढीको रुने शैली पनि अर्कै खालको थियो । चुलोमा पकाउँदै गर्ने र धोतीको सप्काको टुप्पोले गालामा बग्दै गरेको आँसु पनि पुछ्दै गर्ने । धन्दा सकेर उसको छेउमा आएर सानो मुख लगाएर बस्थी । असर्फी यो जान्दथ्यो । दुई चार पटक डाक्टरलाई देखाएको पनि हो । यस पटक अलि लामै अस्पतालै बस्ने मन बनाएको थियो । तर आश्चर्यजनक रूपमा रिँगटाले हप्ता दिन जति छोडेको थियो । औषधी लिन बुढी घचघच्याइरहन्थी । हातमा पानीको गिलास र चक्की लिएर उभिने गर्थी । कालले बोलायो भने ? असर्फीलाई यही एउटा भय थियो मनमा ।
असर्फीसँग भेट भएको एकाध महिनापछि एक दिन नारायण दम्पतीले ढोकाको बेल बजाए । नारायणको मनले मानेन र एक दिन ऊ पत्नीसहित असर्फीको घर खोज्दै आएको थियो । घर भेट्टाउन खासै परेसानी भएन । घरको ढोका असर्फीले नै खोल्यो । ढोका अगाडि नारायण दम्पती उभिएको देखेर यतिसम्म भन्यो, “आज पश्चिमबाट घाम उदाएछ ।” घरमा खोज्दै आएको मित्रका लागि खुसी प्रकट गर्न अरू शब्द भन्न जानेन असर्फीले । अनुहार उज्यालो बनाएर स्वागत गरेपछि थप केही भनिरहनुपर्छ र भन्ने सोच्यो । नारायणले भित्र पस्दै भन्यो, “घर आउनुस् भनेको एक पटक फर्केर हे¥या होइन । लौ त भनेर हामी नै आयौँ ।” यसमा त्यति आपत्ति जनाउनुपर्ने देखेन असर्फीले, कारण यो थियो, ऊ भन्न सक्थ्यो, जो पहिले आए पनि त भइहाल्यो नि । पहिले को भन्ने आपसी प्रतियोगिता किन ?
असर्फीकी बुढीले पनि बिरामी नभए झैँ गर्दै सकी नसकी उनीहरूका लागि चिया पकाई । चिनी ठ्याम्मै नखाने रहेछन् । दुध चल्ने रहेछ । सुगरको बिरामी रहेछ नारायण । भन्यो, “खानपान धेरै बार्छु । बिरामी लागेपछि छोड्दो रहेनछ सुगरले । धमिरोले झैँ भित्रभित्रै खोक्रो पार्ने रहेछ मान्छेलाई ।” असर्फीलाई त सुगरसमेत झन् मुटुको रोग पनि थियो । उसले सुगरको बिरामी छुसम्म भन्यो । नारायणलाई मुटुको रोग रहेनछ, त्यसैले असर्फीले त्यो लुकायो । सोधखोज गर्छन् र स्पष्टीकरण दिनुपर्ने हुन्छ । अर्को कुरो, नारायणभन्दा आफू जेठो भए पनि बिरामीमा समानता देखाउन चाह्यो । यसमा के बिराम थियो र ? बिरामी छ त आफैँलाई छ । त्यसको ढ्याङ्रो बजाएर अरूलाई चिन्तित तुल्याउनु छैन । यस्तो सोच राख्थ्यो असर्फी । तर डाक्टरसँग जँचाएर अस्पताल भर्ना हुने गल्ती गरेको थिएन । मुटुको रोग खतरनाक हुन्छ भन्ने जान्दथ्यो तर औषधी लिनमा केही लापरबाही भइरहेथ्यो ।
चिया खाइसकेपछि नारायणकी बुढीले भनी, “नारायणजीले कति बाटो हेर्नुभयो । असर्फी दाइ आज त अवश्य आउनुहुन्छ । बाटोमा फेरि भेट हुनुभा’थ्यो र घर जाऊँ न त, एक कप चिया खाएर फर्कनुहोला भन्दा मान्नुभएन । आज आउँला भन्नुभएको छ भन्नुभो । आजै बिहान पनि तिनै कुरा भए र खाना खाइवरि बुढाबुढी यसो डुल्दैवर्दै जाऊँ न त उहाँहरूको घरतिर भनेर यता आएका । घर त सजिलो ठाउँमा रहेछ । ठाउँ पनि खुला रहेछ ।” नारायणकी बुढीले लोग्नेलाई नारायणजी भनेर नामै काढेर बोलाउने रहिछ । असर्फीकी बुढी यस मामिलामा अलि पिछडिएकी ठहर्थी । ऊ बुढाको नाम काढ्न सक्दैनथी, अप्ठ्यारो मान्थी ।
नारायणले बुढीका कुरा सकिएपछि भन्यो, “हामी पनि दुई बुढाबुढी, तपाईंहरू पनि दुई । आउनेजाने गरिराख्यो भने समय कटनी सजिलो हुन्छ ।” त्यसपछि पुराना कुरा निस्के । ती पुराना कुराले ती दुई दम्पतीलाई केहीबेर सुखी तुल्यायो । तर नारायणकी बुढी छोराछोरी सम्झेर रुन खोजी । सबै चुप लागे । असर्फीले बुजुर्ग भएर भन्यो, ‘प्वाँख उम्रेपछि गुँड छाडेर उडिहाल्ने त हुन् । लोकको धर्म नै त्यै हो । साना छउन्जेल मर्लान् भन्ने डर ठुला भएपछि घर छाडेर हिँड्लान् भन्ने डर ।”
नारायण हाँस्यो र भन्यो, “सच्याउने कुरो हो– साना छउन्जेल मर्लान् भन्ने डर ठुला भएपछि मार्लान् नभनेर घर छाडेर हिँड्छन् भन्ने डर ।” अनि मुसुक्क हाँस्यो । तर असर्फीले भन्यो, “मैले भनेँ नि मारे पनि घर छोडे पनि बाउआमालाई भने डरैडर ।” असर्फी डराउने खालको थिएन । बिहान खाना खाएर दिउँसो दुई बजेसम्म ढुक्कले सुत्थ्यो ।
बिदा हुने बेलामा नारायणले भन्यो, “हेर्नोस् है असर्फी दाइ, घर खोज्दै हामी आयौँ । अब तपाईंको पालो । तपाईं आउनुभएन भने फेरिफेरि हामी पनि आउँदैनौँ । पुरानो आत्मीयता, हेलेमेल बसउठको सम्बन्ध सबैसबै स्थगित हुनेछ है ।” उनीहरू हाँस्दै बिदा भए । नारायण र असर्फीले एकअर्कालाई अङ्कमाल गरे । श्रीमतीहरू उनीहरूको गाढा मित्रता मक्ख परेर हेर्दै मुस्काइरहे ।
“आउँछौँ अवश्य आउँछौँ नारायणजी । बाचा भयो ।”
“बाचा नगरे पनि हुन्छ, बाचा पूरा नहुन पनि सक्छ तर अवश्य आउनुप¥यो दाइ ।”
“हाम्रो घर पनि पवित्र हुन्छ ।” नारायणकी पत्नीले भनी तर पवित्र हुने नहुने भविष्यकै गर्भमा रहेछ ।
पन्ध्र दिन जतिपछि पनि असर्फी घर पहिल्याउँदै नआएपछि नारायणलाई अलिकति नियास्रो लाग्यो । उसकी पत्नीले आग्रह गरी, “जानोस् र लिएर आउनोस् ।” ऊ खाना खाइवरि असर्र्फीको घरतिर लाग्यो । पत्नीले खाना खाएकी थिइन । उसलाई खाना खाएर खाजा बनाउन अराइराखेर ऊ हिँड्यो । तर असर्फीको घरमा ताल्चा मारिएको रहेछ । कोही थिएन, ढोकोको बेल बजाउने कुरै भएन । तर भाडामा बस्ने मान्छे थियो घरको आँगनमा । उसले दुखद समाचार सुनायो, असर्फीको हिजो राति निधन भएछ । अट्याकले ओछ्यानमै सास गइसकेको रहेछ । अस्पताल पु¥याउँदा डाक्टरहरूले मृत घोषित गरे । नारायण एकछिन विमूढ बन्यो । कसलाई के भन्ने । रुन पनि सकेन । उसले सस्वर भन्यो– “तपाईं आउनुभएन भने हामी पनि अब आउँदैनौँ । हाम्रो सम्बन्ध स्थगित हुनेछ व्यर्थैमा भनेछु, भन्न नहुने । अलच्छिन बोलेछु ।” भाडामा बस्ने नारायण स्तब्ध भएको र सुस्तरी शोकतप्त स्वरमा बरबराएको सुनिरहेको थियो । उसले कुरा केही बुझ्यो केही बुझेन । बाँकी नारायणले मनमनै भन्यो– “दाइ त सम्बन्ध स्थगित गरेर होइन, विच्छेद गरेरै हिँडेछन् ।”
भाडावालले नारायणलाई सोध्यो– “तपाईं घाट जाने ?” उसले स्वीकृतिमा टाउको हल्लाएपछि थप्या– ‘हिँड्नोस् त । मैले ट्याक्सी बोलाएको छु ।” भन्दाभन्दै ट्याक्सी पनि आयो । नारायण केही नबोली पछाडिको सिटमा बस्यो । अगाडिको सिटमा भाडावाल स्वयं थियो र पछाडिको सिटमा असर्फीको अर्को छिमेकी पनि बसेको थियो, शोकग्रस्त अनुहार लगाएर ।
घाट जाने भनेपछि ट्याक्सीवालले बजिरहेको रमाइलो गीत रेडियोको टाँक निमोठेर बन्द गरिदियो । सबै शोकले ग्रस्त मौन थिए । मात्र ट्याक्सी गुडिरहेको थियो घाटतिर ।