• ८ मंसिर २०८१, शनिबार

विश्वकप क्रिकेटमा अस्ट्रेलियाको उचाइ

blog

विश्वकप क्रिकेट प्रतियोगितामा आयोजक सधैँ प्रमुख दाबेदारका रूपमा रहेको हुन्छ । सन् २०११ देखि लगातार आयोजक राष्ट्रले नै विश्वकप जितेको दृष्टान्त छ । त्यसैले पनि यसपालि प्रतियोगिताअघि भारतले नै विश्वकप जित्छ भनेर ठुलै होहल्ला भयो । भारतको टिम बलियो पनि थियो । त्यसैले राम्रो टिम त्यसमा पनि घरेलु मैदानमा खेल्ने भएकाले भारतले यसपालि विश्वकप जित्ने धेरैले अपेक्षा गरेका थिए । भारतको क्रिकेट टिम फाइनलअघिसम्म अजय नै देखिन्थ्यो । भारत लगातार दस खेल जितेर उपाधि भिडन्तमा पुग्यो । यस क्रममा उसले सबै विपक्षीलाई सजिलै मात दिएको थियो । त्यसले फाइनलमा भारतलाई दाबेदार मानिएको थियो । तर भारतले अन्तिम किल्ला समाल्न सकेन । फाइनलमा अचम्मै हुने गरी भारतले अस्ट्रेलियाविरुद्ध घुँडा टेक्यो । आफ्नो टिमले विश्वकप उपाधि जित्छ भनी नरेन्द्र मोदी रङ्गशालामा आएको एक लाख ३२ हजार दर्शक मात्र होइन एक अर्ब ४० करोड भारतीयहरू स्तब्ध भए ।

अस्ट्रेलियाले झन् अपेक्षा नै नगरेको समयमा पनि विश्व च्याम्पियन बनेर तहल्कन पिट्न सफल भयो । हुन त अस्ट्रेलियालीहरू प्रत्येक पटक आफ्नो टिमले आइसिसीका प्रमुख प्रतियोगिता खेल्दा उपाधिको आशा राख्छन् । अस्ट्रेलियाली क्रिकेट टिम प्रायः आफ्नो समर्थकको अपेक्षामा खरो पनि उत्रिएको छ । अस्ट्रेलिया विश्व व्रिmकेटको सबैभन्दा सफल टिम हो । विश्वकपको १३ औँ संस्करण सकिँदा अस्ट्रेलिया सर्वाधिक छ पटक च्याम्पियन बनेको छ । सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा पनि अस्ट्रेलिया विश्व विजेता बनेको थियो । यद्यपि विश्व क्रिकेटमा ठुला नाम डेभिड वार्नर, मिचेल स्टार्क, प्याट कमिन्स, ग्लेन म्याक्सवेल, स्टिभन स्मिथ जस्ता खेलाडीको उपस्थितिबिच पनि यस पटक अस्ट्रेलियालाई त्यत्ति भाउ दिइएको थिएन । यसका केही कारण छन् ।

प्रतियोगितापूर्व नै केही खेलाडीको त छनोटमै प्रश्न उठिरहेको थियो । फाइनलमा भारतविरुद्ध म्याच जिताउने पालि खेल्ने दुई ब्याट्सम्यान ट्रेभिस हेड र मानस लाबुस्चेकै चयनमै विरोध भइरहेको थियो । अस्ट्रेलियाली टिमले गत सेप्टेम्बरमा हात भाँचिएर पूर्णरूपमा दुरुस्त नभएका हेडलाई घाइते भएर पनि टिममा सामेल गरेको हो । त्यसैले हेडले सुरुका चार खेल खेल्न पनि सक्नु भएन । तर उहाँले पुनरागमनमा असाधारण ब्याटिङ गरी चयनकर्ताहरूको विश्वासलाई सही साबित गर्नुभयो । फाइनलमा उहाँको शतकीय पालि त इतिहास बनेको छ । हेड फाइनलमा मात्र होइन दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनलमा पनि म्यान अफ दी म्याच बन्नुभएको थियो । हेडसँग शतकीय साझेदारी गरी भारतलाई फाइनलमा निराश पार्ने लाबुस्चे पनि सुरुको १८ सदस्यीय टिममा सामेल हुनुहुन्थेन । उहाँलाई पछि मात्र टिममा सामेल गरिएको हो । अस्ट्रेलियाले विश्वकप जित्नुमा यी दुई नै प्रमुख कारक बने । 

अस्ट्रेलियाले विश्वकपमा पनि त्यत्ति दमदार सुरुवात पनि गर्न सकेन । पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग नराम्ररी हारेपछि अस्ट्रेलिया यस पटक चाँडै घर फर्किने अनुमान गरियो । यस्तो हार अस्ट्रेलियाका लागि अपमान नै थियो । सो हारले अस्ट्रेलियाको आत्मविश्वास गिर्ने अनुमान गरिएको थियो । तर अस्ट्रेलियाले सो अपमानलाई शक्तिमा परिणत ग¥यो । अस्ट्रेलियाले सुरुका दुई खेलपछि सङ्गठित बनेर च्याम्पियन टिमका रूपमा खेल्यो । अस्ट्रेलियाले त्यसपछि लगातार दस खेल जितेर आफूलाई क्रिकेटको राजा किन भनिन्छ भन्ने देखायो । विश्व क्रिकेटका अस्ट्रेलियाको छवि कहिल्यै हार नमान्ने टिमको रूपमा रहेको छ । यस विश्वकपमा सोही स्वभावले अस्ट्रेलियालाई च्याम्पियन बनायो । 

विश्वकपको फाइनलमा अस्ट्रेलियाको गौरवपूर्ण इतिहास छ । आठ पटक फाइनल खेलेको अस्ट्रेलिया दुई पटक मात्र पराजित भएको छ । त्यसैले अस्ट्रेलिया फाइनलमा मानसिक रूपमा बलियो देखियो । भारतीय क्रिकेटरहरूले भने फाइनलको दबाब थेग्न सकेनन् । भारतका विश्वकप जस्ता आइसिसीका प्रमुख प्रतियोतिगाको फाइनलमा राम्रा नतिजा छैनन् । सन् २०११ मा विश्वकप जितेपछि भारत आइसिसीका चार प्रमुख प्रतियोगिताका फाइनलमा हारेको छ । सन् २०१४ मा टी–२० विश्वकप फाइनल, सन् २०१७ मा च्याम्पियन्सिप ट्रफी फाइनल, सन् २०२१ मा विश्व टेस्ट च्याम्पियन्सिपको फाइनल र अहिले घरेलु मैदानमा एक दिवसीय विश्वकपको फाइनलमा हार बेहोरेपछि भारतलाई चोकर्स भन्न थालिएको छ । आशा गरिएको बेलाभन्दा अपेक्षा नगरिएको समयमा मिलेको सफलताले अझ बढी खुसी दिन्छ भने बढी अपेक्षा गरिएको बेला प्राप्त असफलताले निकै निराश बनाउँछ । अस्ट्रेलियाले आफ्ना समर्थकलाई यसपालि यस्तै खुसी दियो छैटौँ पटक विश्वकप च्याम्पियन बनेर । भारतका समर्थक भने निकै दुःखी बनेका छन् अविजित बनेर खेलेको फाइनल हारेपछि ।

अस्ट्रेलियाले उपाधि भिडन्तमा भारतलाई छ विकेटले हराएको हो । जुन नतिजाले भारतको तेस्रो पटक विश्व च्याम्पियन बन्ने सपना अधुरै रह्यो । यद्यपि भारतले यस पटक विश्वकपमा च्याम्पियन टिमका रूपमा खेले भन्दा फरक पर्दैन । यसपालि टसले फाइनलमा भारतलाई धोका दिँदा पनि भाग्य भारतको साथमा नरहेको देखियो । फाइनल भएको नरेन्द्र मोदी रङ्गशालाको पिचमा लक्ष्य पछ्याउने टिमलाई ठुलो फाइदा थियो । सो पिच दोस्रो पालिमा ब्याटिङका लागि सहज हुने र राति हुँदै गएपछि मैदान भिज्ने र बलरलाई बलमा ग्रिप गर्न कठिन हुने भएकाले पनि भारतका स्पिनर चल्न सकेनन् । 

लिग चरणमा दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अफगानिस्तान पनि खतरनाक टिमका रूपमा प्रस्तुत भए । विशेषतः ब्याटिङमा चम्केको दक्षिण अफ्रिका सेमिफाइनलमा अस्ट्रेलियाको धरापमा प¥यो । दक्षिण अफ्रिकालाई प्रमुख प्रतियोगितामा राम्रो खेले पनि अभागी हुने टिम भनिन्छ । यसपालि पनि दक्षिण अफ्रिकामाथिको चोकर्सको धब्बा सही साबित भयो । न्युजिल्यान्डको पनि पहिलो पटक विश्व च्याम्पियन बन्ने सपना अधुरै रह्यो । पछिल्लो चार वर्षमा न्युजिल्यान्ड सेतो बलको क्रिकेटमा तेस्रो पटक फाइनलमा निराश बनेको हो । पछिल्लो विश्वकप एकदिवसीय क्रिकेटको फाइनलमा इङ्ग्ल्यान्डसँग सुपर ओभरमा कम चौका प्रहार गरेको आधारमा मात्र पराजित भएर न्युजिल्यान्ड विश्व विजेता बन्नबाट वञ्चित भएको थियो । क्रिकेटमा समर्थकहरूको दोस्रो मनपर्ने टिम न्युजिल्यान्ड दुई वर्षअघि भएको विश्वकप टी–२० मा पनि उपाधि भिडन्तमा अस्ट्रेलियासँग निराश बन्यो । न्युजिल्यान्ड विश्वकपमा सधैँ राम्रो गर्दछ । न्युजिल्यान्डले ट्रफी जित्न नसके पनि सधैँ सबैको मन जित्छ । यस पटक पनि त्यस्तै भयो । अन्य टिमको तुलनामा म्याच विनरको कमी भए पनि न्युजिल्यान्डले टिमवर्कका रूपमा खेलेर सेमिफाइनलसम्म स्थान बनायो । 

तुलनात्मक रूपमा कमजोर आँकिएको अफगानिस्तानका लागि यस पटकको विश्वकप सपनाको यात्रा बन्यो । अफगानिस्तानले तीन पूर्वच्याम्पियनहरू इङ्ग्ल्यान्ड, पाकिस्तान र श्रीलङ्कालाई स्तब्ध पा¥यो । युद्धले थकित राष्ट्र अफगानिस्तान अस्ट्रेलियाविरुद्ध पनि जितेको नजिक थियो । ग्लेन म्याक्सवेलले अविजित २०१ रनको दोहोरो शतकीय पालि खेलेपछि मात्र अस्ट्रेलियाले बल्लतल्ल सो खेल जितेर सेमिफाइनलमा स्थान बनाएको थियो । म्याक्सवेलको दोहोरो शतकलाई विश्व क्रिकेट इतिहासकै सर्वश्रेष्ठ पालि मानिएको छ । उहाँले अफगानिस्तानविरुद्ध रन बनाउनुभयो । म्याक्सवेलको दोहारो शतकीय पालिले हारको स्थितिमा रहेको अस्ट्रेलियाले अफगानिस्तानलाई तीन विकेटले हराएर सेमिफाइनलमा स्थान बनायो । सो खेलमा अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ९१ रनमै सात विकेट गुमाइसकेको थियो । तर त्यसपछि म्याक्सवेलले चामत्कारिक पालि खेल्नुभयो । म्याक्सवेललाई ब्याटिङको समयमा तीन पटक मांसपेशीको खिचावले आहत बनाएको थियो । रन लिने क्रममा दौडन नसकेर उहाँ पटक पटक लड्नुभयो । बिचबिचमा उपचार गर्नुभयो । फुटवर्क थिएन । तर म्याक्सवेलले हिम्मत हार्नुभएन । घाइते भएपछि त झन् म्याक्सवेलले चौका र छक्काको बर्सात गर्नुभयो र अन्त्यसम्म क्रिजमा टिकेर एक्लैले खेल जिताउनुभयो ।

गत विजेता इङ्ग्ल्यान्डको कमजोर प्रदर्शनले सबैलाई आश्चर्यमा पारेको छ । इङ्ग्ल्यान्डको टिमलाई यस पटक निकै बलियो मानिएको थियो । इङ्ग्ल्यान्डको टिम ‘म्याच विनर’ ले भरिभराउ छ । यद्यपि इङ्ग्ल्यान्डको उपाधि रक्षा अभियान सुरुका सातमध्ये छ खेल हारेपछि चाँडै समाप्त भयो । श्रीलङ्काको प्रदर्शन पनि कमजोर रह्यो । यसै गरी चर्चामा रहेको पाकिस्तानले भारतमा अपार दबाबबिच मिश्रित प्रदर्शन ग¥यो । व्यक्तिगत प्रदर्शनमा भारतका विराट कोहली, रोहित शर्मा, मोहम्मद सामी, अस्ट्रेलियाका ट्राभिस हेड, स्पिनर आडम जाम्पा, दक्षिण अफ्रिकाका क्विन्टन डि कक, श्रीलङ्काका बलर डिल्सन मधुंशंका चम्कनुभयो । कोहली प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी बन्नुभयो । उहाँले तीन शतकसहित ११ खेलमा ७६५ रन बनाउनुभयो । जुन एक विश्वकपमा सर्वाधिक रनको कीर्तिमान हो । भारतका कप्तान रोहित ५९७ रनसहित प्रतियोगितामा दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्नुभयो । डि ककले सर्वाधिक चार शतक प्रहार गर्नुभयो । भारतका तेज बलर मोहम्मद सामी सर्वाधिक विकेटकर्ता बन्नुभयो । उहाँले सात खेलमा २४ विकेट लिनुभएको हो । जाम्पाले २३ ब्याट्सम्यानलाई आउट गर्नुभयो । 

अब छ महिनापछि वेस्ट इन्डिज र अमेरिकामा टी–२० विश्वकप हुँदै छ । जुन विश्वकपमा नेपालले पनि खेल्दै छ ।