काठमाडौँ, मङ्सिर ९ गते । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्ति बन्द गर्न ध्यानाकर्षण गराएको छ । राजधानीमा भइरहेका प्रदर्शनमा वक्ताहरूले गरेका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले त्यस्तो कार्य रोक्न भनेको हो ।
आयोगका तर्फबाट सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा सङ्घ र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईको बिहीबारको आन्दोलनपछि व्यक्त अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको बताउनुभएको हो । आयोगले बिहीबारको प्रदर्शन र सभालाई सम्बोधन गर्ने क्रममा दुवै पक्षबाट संवैधानिक, कानुनी र मानव अधिकारका मूल्य, मान्यता र मर्यादाविपरीत एकअर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिइएको ठहर गरेको छ ।
आयोगले सोही कारण बल्खुको प्रदर्शन अनियन्त्रित भई झडप हुँदा केही व्यक्ति घाइते भएको, राज्यका निकायका उच्च तहमा रहेका व्यक्तिलक्षित गालीगलौज र घृणा फैलाउने अभिव्यक्तिसहितका पोस्टर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको आयोगको सञ्चार अनुगमनबाट पाइएको जनाएको छ । सहसचिव पोखरेलले भन्नुभएको छ, “यस प्रकारका घृणायुक्त गतिविधि संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवं मानव अधिकारको मूल्य, मान्यताविपरीत रहेको आयोगको ठहर छ ।”
साथै सामाजिक सञ्जालको दुरुपयोग रोक्न, हिंसा भड्किने प्रकारका कुनै पनि गतिविधि नगरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न पनि आयोगले प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ ।
सुरक्षा व्यवस्थामा कडाइ
व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले शुक्रबार काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेपछि दिनभरि नै सुरक्षा व्यवस्था तथा चेकजाँचमा कडाइ गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रदर्शन सुरक्षित बनाउने उद्देश्यले नै सुरक्षा सतर्कता बढाइएको बताउनुभयो ।
प्रसाईको महाअभियानले बिहीबार बल्खुमा ¥याली, प्रदर्शन र सभा गरेको थियो । शुक्रबार तीनकुनेमा केही प्रदर्शनकारी आए पनि प्रहरीले नियन्त्रणमा लिएर साँझ छोडेको थियो । व्यवसायी प्रसाईले आफ्नै निवासमा पत्रकार सम्मेलन गरी आफ्नो आन्दोलन लघुवित्त पीडित र अन्यायमा परेका नागरिकका पक्षमा रहेको बताउनुभयो ।