• १३ असोज २०८१, आइतबार

नेपालगञ्जमा वर्तमान साहित्य र पुस्तक लेखनबारे छलफल

blog

कार्यक्रममा सहभागी वरिष्ठ साहित्यकारहरु ।

सिराज खान 

नेपालगन्ज, मङ्सिर ८ गते । नेपालगञ्जमा  आयोजना गरिएको एक कार्यक्रममा सहभागी वरिष्ठ साहित्यकारहरुले वर्तमान साहित्य र पुस्तक लेखनबारे विचार विमर्श गरेका छन्। 

क्रिएटिभ ह्याण्डले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै प्रसिद्ध आख्यानकार नयनराज पाण्डेले वर्तमान समयलाई प्रामाणिक र विश्वसनीय तरिकाले इमानदारीपूर्वक लेख्न सकियो भने मात्रै साहित्य र पुस्तक लेखन प्रभावकारी हुने बताउनुभयो । उहाँले अहिले साहित्यमा धेरै विषयहरु आइरहेको जनाउँदै मधेसका कुरा, पहिचानका कुरा लगायतका धेरै विषयमा साहित्य लेख्ने कार्य भइरहेको बतउनुभयो । 

सोही प्रकारले २०७९ का मदन पुरस्कार विजेता उपन्यासकार विवेक ओझाले जहाँबाट अखबारको यात्रा सकिन्छ त्यसपछि आख्यानको यात्रा सुरु हुने जनाउँदै खबरमा नआउने कुरा अाख्यान लेख्नुपर्ने बताउनुभयो । उहाँले साहित्य र पुस्तक लेख्दा बजारमुखी हुन जरुरी रहेको जनाउँदै पाठकको रुचिलाई पनि ध्यान दिनु जरुरी छ भन्नुभयो । 

यस्तै, अर्का उपन्यासकार सुबिन भट्टराईले राम्रा पुस्तकको आयु आख्यानको गुणवत्ताले निर्धारण गर्ने जनाउँदै चर्चालाई हेरेर मात्रै निर्क्याेल गर्न नसकिने बताउनुभयो । उहाँले लेखकले कुनै कथालाई थाहा पायो र त्यसलाई आफूले लेख्न सक्छु भन्ने लाग्यो भने आफैँ यथास्थानमा पुगेर लेख्नुपर्ने बताउनुभयो । सोही प्रकारले चर्चित अभिनेत्री सुरक्षा पन्तले पछिल्लो समय आफूले शून्यको मूल्य पुस्तक पढेको बताउँदै त्यसले उठाएको कर्णालीका महिलाहरुको सङ्घर्षका कथा धेरै मन परेको बताउनुभयो । उहाँले सिनेमा क्षेत्रमा लेखनकै सबैभन्दा बढी समस्या रहेको जनाउँदै राम्रा पुस्तकलाई सिनेमा बनाउँदा पनि राम्रो टिम भएन भने असफल हुने बताउनुभयो ।