काठमाडौँ, मङ्सिर ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उहाँले दिगो आर्थिक विकास र निर्माणका लागि निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको पनि बताउनुभयो ।
नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको भन्दै उहाँले विकास निर्माण पनि त्यही अनुसार गरिरहेको जानकारी दिनुभयो ।
निर्माण उद्योगले हरित् गृह ग्यास उत्सर्जनमा महत्त्वपूर्ण योगदान गरेको छ भन्ने स्वीकार्दै यस क्षेत्रले भविष्यको आकार दिनमा निर्णायक भूमिका खेल्दै नेतृत्वदायी हरित् निर्माण पहलमा निजी क्षेत्रको सक्रिय सहभागिता हुने जनाउनुभयो ।
नेपाल सरकार दिगो लक्ष्य प्राप्त गर्न सङ्कल्पित रहेको भन्दै उहाँले सार्वजनिक र निजी क्षेत्र तथा सबै सम्बन्धित सरोकारवालाबिचको सहकार्यबाट राष्ट्रिय अर्थतन्त्र सबल बनाउन सरकार लागेको जानकारी दिनुभयो । उहाँले सरकार दिगो पूर्वाधार प्रवर्धनका लागि प्रतिबद्ध रहेको यो नै सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले अटल अठोटसाथ, आर्थिक समृद्धि, वातावरणीय व्यवस्थापन र सामाजिक सद्भावले विशेषता भएका दिगो लक्ष्य प्राप्त गर्न सबै सरोकारवालासँग बलियो साझेदारी गर्न सरकार तत्पर रहेको पनि जनाउनुभयो ।
अर्थतन्त्र, सुशासन, वातावरणीय स्थायित्वका क्षेत्रमा रहेको संरचनात्मक असन्तुलनलाई समाधान गर्न सरकारका नीति तथा कार्यमा केही कठोर र दृढ उपाय अवलम्बन गर्ने र कार्यान्वयन गर्ने हाम्रो सरकारको प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।