• २३ वैशाख २०८१, आइतबार

बढ्यो आन्तरिक कर्जा

blog

काठमाडौँ, मङ्सिर २ गते । आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल आन्तरिक कर्जा १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा यस्तो कर्जा ८.९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा यस्तो दाबी २९.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.६ प्रतिशतले बढेको छ ।

२.८ प्रतिशतले बढ्यो निक्षेप परिचालन

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ५८ अर्ब ५० करोड रुपियाँ (२.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २२ अर्ब ६९ करोड (०.४ प्रतिशत) ले बढेको थियो । 

वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ । २०८० असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.७ प्रतिशत, २६.७ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब नौ अर्ब तीन करोड (२.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५९ अर्ब ११ करोड (१.३ प्रतिशत) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.८ प्रतिशतले बढेको छ । २०८० असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह २.३ प्रतिशतले, विकास बैङ्कको १.८ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह १.५ प्रतिशतले बढेको छ । २०८० असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये १२.० प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणका रूपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाका लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।