गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २८ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेको एक वर्ष पुग्न लाग्दा अर्थतन्त्र क्रमशः लयमा फर्कन थालेको बताउनुुभएको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले शुक्रबार आयोजना गरेको ‘पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वयसम्बन्धी अन्तक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्र शिथिलताबाट तङ्ग्रँदै सुधारतर्फ गएको बताउनुभएको हो ।
अर्थतन्त्रका बाह्य सूचक सुधार हुँदै गएकाले पनि मुलुकको अर्थतन्त्र सुधारको अवस्थामा रहेको अर्थमन्त्रीको भनाइ छ । अर्थतन्त्र गतिशील र चलायमान हुँदा उत्पादकत्व र रोजगारी वृद्धि भई राष्ट्रिय आय बढाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।
अर्थमन्त्री पौडेलले विद्युत्को खपत बढाउन आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारीको करलाई स्थिर राखेर प्रवर्धन गरिएको जानकारी दिनुभयो । जलविद्युत् क्षेत्रको फराकिलो सम्भावना र निजी क्षेत्रको लगानी प्रवर्धन गर्न करका दर र नीतिमा स्थिर नीति लिएको उहाँले स्पष्ट पार्नुभयो ।
बजेटमा ‘टेक एन्ड पे’ विषय अन्योल भए पनि पछिल्लो समय त्यसमा स्पष्ट पारिएको र बैङ्क तथा वित्तीय संस्था, ऊर्जा उत्पादकलगायत सबै सन्तुष्ट रहेको अर्थमन्त्रीको भनाइ छ । बजेट निर्माणमा सरोकारवाला निकायबाट जसरी सुझाव आएको थियो त्यसरी नै प्रभावकारी कार्यान्वयनमा सुझाव आवश्यक रहेको उहाँले अपेक्षा गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्दप्रसाद ढकालले निजी क्षेत्रको सुझाव अनुसार बजेट आएकाले प्रभावकारी ढङ्गले कार्यान्वयन हुनुपर्ने बताउनुभयो । निजी क्षेत्रले दिएको सुझावका आधारमा उच्चस्तरीय आर्थिक सुधार आयोगले ३० वटा कानुन परिवर्तन भएको उहाँको भनाइ छ ।
नेपाल चेम्बर अफ कर्मसका पूर्वअध्यक्ष राजेन्द्र मल्लले आथिक नीतिलाई समेट्ने गरी मौद्रिक नीति आउँदा अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।
नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक नरबहादुर श्रेष्ठले अर्थतन्त्रमा सामान्य सुधार आए पनि अपेक्षा अनुसार तङ्ग्रन नसकेको र निजी क्षेत्रको मनोबल अझै बढाउन नसकिएको बताउनुभयो । भटमासको तेलका कारणले निर्यात वृद्धि भई अन्तर्राष्ट्रिय बजार बढेको देखिए पनि यसले अर्थतन्त्रमा उल्लेख्नीय प्रभाव पार्न नसक्ने उहाँको अन्तर्राष्ट्रिय बजारमा निर्यात, निजी क्षेत्रमा जाने कर्जा लक्ष्य अनुसार बढ्न नसकेको बताउनुभयो ।
ब्याजदर न्यून भए पनि कर्जा विस्तार नहुँदा बैङ्कमा तरलता बढ्दै गएको बताउँदै उहाँले ब्याजदरलाई आर्थिक उपार्जनमा प्रयोग गर्न आवश्यक रहेको धारणा राख्नुभयो । सो अवसरमा पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।