• ८ मंसिर २०८१, शनिबार

पराकम्पन पनि रामीडाँडामै केन्द्रित

blog

काठमाडौँ, असोज २० गते । जाजरकोट भूकम्पको इपिसेन्टर आसपास लगातार पराकम्पन दोहोरिँदा सो क्षेत्र थिलथिलो बन्दै गएको छ । यसले स्थानीयमा थप त्रासको अवस्था सिर्जना गरेको छ । लगातारको पराकम्पनले खुला आकाशमुनि बसेका स्थानीय जमिनै भासिएर पुरिन्छ कि भन्ने भयले रातभर निदाउन सकेका छैनन् । 

शुक्रबार मध्यरातमा ठुलो जनधनको क्षति गर्ने गरी ६.४ म्याग्निच्युडको भूकम्प गएपछि लगातार आइरहेको पराकम्पन इपिसेन्टर आसपास नै घुमिरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रले सो भूकम्पको निरन्तर प्रविधिगत र स्थलगत अनुगमन गरिरहँदा मुख्य भूकम्प गएकै स्थान र आसपासका स्थानमा लगातार पराकम्पन गइरहेको वरिष्ठ भूकम्पविद् मुकुन्द भट्टराईले बताउनुभयो । उहाँले यस भूकम्पको पराकम्पनको प्रवृत्ति अन्यत्रको भन्दा निकै फरक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “पश्चिम भेगका विभिन्न स्थानमा यसअघि गएका भूकम्पको पराकम्पन अर्को गाउँ वा क्षेत्रको इपिसेन्टर भएर जाने गरेको थियो तर अहिलेको भूकम्प त्यही आसपास घुमिरहेको छ ।” 

आइतबार बिहानसम्म सानाठुला गरेर ३११ वटा पराकम्पन आइसकेका छन् । चार म्याग्निच्युडभन्दा माथिका सात वटा पराकम्पन दोहोरिएको भट्टराईले जानकारी दिनुभयो । 

पराकम्पनको प्रवृत्तिबारे बताउँदै उहाँले मुख्य भूकम्पको इपिसेन्टर रहेको रानीडाँडा र त्यही आसापास लगातार पराकम्पन जाने क्रम जारी छ । भट्टराईले थप्नुभयो, “मुख्य भूकम्पले थलिएको क्षेत्रलाई दोहोरिएका पराकम्पनले बस्नै नसक्ने थिलथिलो बनाउँदै लगेको देखिएको छ, जसले घर भत्कने र क्षति बढाइरहेको छ ।” केन्द्रको अनुगमनको तथ्य अनुसार चार म्याग्निच्युडभन्दा माथिका दुई वटा र अन्य पाँच ठुला पराकम्पन रामीडाँडाकै आसपास इपिसेन्टरमा गएको देखिन्छ । 

मुख्य भूकम्पमा जोगिएका भौतिक संरचना एकै स्थानमा दोहारिरहेका परकम्पले नजोगिने अवस्था सिर्जना भएकाले सचेत रहेर जिउधनको सु्रक्षामा लाग्न केन्द्रले अनुरोध गरेको छ । केन्द्रका अनुसार बझाङ भूकम्पको परकम्प मुख्य भूकम्पभन्दा परका क्षेत्रहरू धनै, चैनपुरलगायतका क्षेत्रमा इपिसेन्टर भएर जाने गरेको थियो ।