• १३ साउन २०८१, आइतबार

आधुनिक कृषि औजारको प्रयोगले सहजता

blog

आधुनिक कृषि औजार (मेसिन)ले धान काट्दै किसान । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, कात्तिक १७ गते ।
पूर्वी नवलपरासीका किसानहरु यतिबेला धान काट्न र थन्काउनमा व्यस्त छन् । पछिल्लो समय कृषि क्षेत्रमा विभिन्न मेसिनरी उपकरणहरु भित्रिए पछि काम गर्न सहज हुँदै गएको छ । जिल्लामा अहिलेसम्म ४५ प्रतिशत किसानले धान भित्र्याइसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अबको १५ दिनभित्र सबै धान भित्र्याइसक्ने कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

जिल्लामा यस वर्ष करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको तिवारीले जानकारी दिनुभयो । यस वर्ष विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । “यो वर्ष करिब ६३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ,” तिवारीले भन्नुभयो । यस वर्ष वर्षा केही कम भए पनि समयमै पानी परेर रोपाइँ भएकाले उत्पादन राम्रो हुने अनुमान गरिएको उहाँको भनाइ थियो । ‘‘जिल्लामा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ ।,’’ उहाँले भन्नुभयो, “जिल्लामा सिफारिस भएका ८६ जातमध्ये सात जातका मात्र रैथाने धानको खेती हुने गरेको छ ।”

खेतीबाली लगाउनदेखि भित्र्याउनका लागि मेसिनरी उपकरण प्रयोगमा आएकाले कृषि क्षेत्रको विकासमा सहज भएको कृषकहरुले बताएका छन् । विशेष गरेर अहिले धान थन्काउने चटारो भएको बेला धान काट्ने मेसिन र धान झाट्ने थ्रेसरको प्रयोगले आफुहरुलाई सहज भएको कावासोती ८ का कृषक भानु चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, “पहिले पहिले दुई तिन दिन दिनभर धान काट्नु पर्नै साथै कामदार पनि बढी लाग्ने गर्दथ्यो भने झाट्न र थन्काउन छुट्टै कामदार लगाउदा समय बढि लाग्ने, खर्च धेरै हुने, दुःख हुने गरेको थियो ।” अहिले धान काट्ने र झाट्ने उपकरण आएपछि धेरै सहज भएको चौधरीले बताउनु भयो ।

त्यस्तै धान रोप्ने समयमा भन्दा पनि धान झाट्ने समयमा थे्रसरको प्रयोग गरिने हुँदा सबैलाई सहज भएको र एकै दिनमा धेरै जनाको धान थन्काउन पाएको देवचुली नगरपालीका १७ की  कृषक समुहकी अध्यक्ष दिपा तिमिल्सीनाले बताउनु भयो । यस उपकरणको प्रयोग गर्दा कामदार कम लाग्ने, समयको बचत र परालको दाँई गर्न समेत नपर्नै हुँदा आफुहरुलाई धेरै सुविधा भएको तिमिल्सीनाको भनाइ रहेको छ ।

आधुनिकीकरण पद्धतिबाट खेती गर्नेहरुका लागि उपकरण आएपछि सहज हुँदै गएको छ । धान रोप्ने, काट्ने, झाट्ने मेसिनहरु आएका छन् भने मकै लगाउने मेसिनहरु पनि आएका छन् यस्ता उपकरणहरु भित्रिए पछि किसानहरु खुसि भएका छन् ।  कृषिमा आधुनिकीकरण भएपछि कृषि क्षेत्रमा तुलनात्मक रुपमा विकास भएको छ ।

नवलपुरको देवचुली ५ मा दुई आमा समूहलाई धान काट्ने मेसिन वितरण गरेसँगै वडामा सहज भएका वडा अध्यक्ष शिवलाल सापकोटाले बताउनुभयो । विदेशीने प्रवृद्धिले जनशक्तिको अभावमा विभिन्न समस्या भए पनि अब उपकरण भित्रिएपछि कृषकलाई सहज भएको छ । खेतला नपाउनु, महङगाईमा वृद्धि हुनुले पनि कृषि उपकरण प्रभावकारी भएको कृषकहरु बताउँछन् । यस वर्ष जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान बढी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ  ।