• ७ जेठ २०८१, सोमबार

विश्वकप टि–२० मा दश वर्षपछि नेपालको पुनरागमन

blog

काठमाडौँ, कात्तिक १७ गते । स्पीनरहरुको सटीक बलिङपछि आसिफ शेखले म्याच जिताउने पालि खेलेपछि नेपाल शुक्रबार परम्परागत प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई आइसीसी टि २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा ८ विकेटले हराएर टि २० विश्वकप क्रिकेट प्रतियोगितामा चयन हुन सफल भएको छ । 

नेपाल टि २० विश्वकपमा चयन भएको यो दोस्रो पटक हो । दश वर्षपछि विश्वकपमा पुनरागमन गरेको नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टि २० विश्वकप खेलेको थियो । त्यसपछि नेपाल लगातार अन्तिम समयमा विश्वकपमा छनोट हुनबाट वञ्चित हुँदैआएको थियो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार नै भएको अर्को सेमिफाइनलमा बहराइनलाई दस विकेटले हराएर ओमान पनि विश्वकपमा खेल्न योग्य बन्यो । आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली सन् २०२४ मा हुने टि २० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टि २० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । सो प्रतियोगितामा अहिलेसम्मकै सबभन्दा बढी २० टिमको सहभागिता रहनेछ ।

स्पीनरहरुको प्रभावशाली प्रदर्शन

मुलपानी क्रिकेट मैदानको पिचमा नेपालका तीन स्पीनर सन्दीप लामिछाने, कुशल मल्ल र कप्तान रोहित पौडेलले घातक बलिङ गरेर युएईको पालिलाई सामान्य स्कोरमा सीमित पार्नुभयो । समूह चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा नै खेलेको युएईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३४ रनको सामान्य स्कोर तयार पारेको थियो । नेपालले सजिलै १७.१ ओभरमा दुई विकेटको क्षतिमा १३५ रन बनाएर लक्ष्य हासिल गरेको छ । 

युएईको पालिमा सन्दीप, कुशल र रोहित मिलेर आठ ओभरमा मात्र ३१ रन खर्चेर छ विकेट निकाल्नुभएको थियो । सन्दीपले विशेषरुपमा चार ओभरमा मात्र १४ रन खर्चेर दुई ब्याट्सम्यानलाई आउट गरेर युएईको पालिलाई धरापमा पार्नुभयो । कुशल र रोहितले तल्लो क्रमका ब्याट्सम्यानलाई आउट गरेर युएईका पालिलाई कुनै समय लयमा फर्किन दिनु भएन । कुशलले तीन ओभरमा ११ रन खर्चेर तीन र रोहितले एक विकेट लिनुभयो । 

प्रारम्भिक बलर सोमपाल कामीले पनि नयाँ बलको साथमा प्रभावशाली बलिङ गर्नुभयो । उहाँले युएईका विस्फोटक ब्याट्सम्यान तथा कप्तान मोहम्मद वासिमलाई क्याच आउट गरेर नेपाललाई खेलमा फर्काउनुभएको हो । वासिम आउट हुनुअघि १६ बलमा तीन चौका र दुई छक्कासहित २६ रन बनाएर खतरनाक देखिनुभएको थियो । युएईको पालि युवा ब्याट्सम्यान वृत्य अरविन्दका कारण सम्माजनक बनेको हो । अरविन्दले ५१ बलमा सर्वाधिक ६४ रन बनाउनुभयो । उहाँको पालिमा आठ चौका र दुई छक्का सामेल थियो ।


असिफको अर्धशतक

प्रारम्भिक ब्याट्सम्यान आसिफले ५२ बलमा सात चौका र एक छक्कासहित अविजित ६४ रन बनाएपछि नेपालको जित सहज बन्यो । कप्तान रोहित पौडेल पनि २० बलमा दुई चौका र दुई छक्कासहित ३४ रन बनाएर अविजित रहनुभयो । यसैगरी कुशल भुर्तेलले ११ र गुलसन झाले २२ रन बनाउनुभयो । युएईका लागि निलांश केस्वानी र बासिल हामिदले एक–एक विकेट लिनुभयो ।

तस्बिर : विकास द्वारे