काठमाडौँ, कात्तिक १७ गते । अमेरिकाको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री एन पी साउदले एमसिसि परियोजना समयमा नै सम्पन्न गरिने बताउनुभएको छ ।
आज परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राईटबीच वाशिङ्टन डिसीमा भएको भेटमा मन्त्री साउदले निर्धारित समयमा नै परियोजना पूरा हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । एमसिसी परियोजना पाँच वर्षमा नै सम्पन्न गर्ने विषयमा एमसिसीका अधिकारीसँग छलफल भएको वाशिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।
भेटमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशकुमार ढकाल, दूतावासका अधिकारीहरुलगायत एमसिसीका उपाध्यक्ष जोनाथन ब्रुक्स, नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्सन उपस्थित हुनुहन्थ्यो ।
गत भदौ १२ गतेदेखि कार्यान्वयन भएको उक्त परियोजनाअन्तर्गत नेपालको विद्युत् आपूर्ति र यातायात पूर्वाधार निर्माण गरिनेछ । पचास करोड अमेरिकी डलर अनुदानको उक्त आयोजनमा नेपाल सरकारले १३ करोड डलर योगदान गरेको छ ।