• २३ असार २०८२, सोमबार

मानव अधिकार आयोग ‘क’ श्रेणीमै

blog

काठमाडौँ, कात्तिक १६ गते । राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘क’ श्रेणीमै कायम भएको छ । ग्लोबल एलायन्स अफ नेसनल ह्युमन राइट्स इन्स्टिच्युसनले आयोगलाई ‘क’ श्रेणीमै राखेको हो । आयोगको कामकारबाही र ऐनका बारेमा प्रश्न उठाएर स्तर घटुवा गर्ने पत्र पठाएको इन्स्टिच्युसनले पछिल्लो समय नेपालको तर्फबाट सकारात्मक पहल भएको भन्दै ‘क’ श्रेणीकै स्तर कायम गरिएको पत्र बुधबार आयोगलाई पठाएको छ ।  

आयोगका सचिव मुरारिप्रसाद खरेलका अनुसार आयोगले पठाएको कागजात, दिइएको अन्तर्वार्ता र सरकारले मानव अधिकार आयोगका सम्बन्धमा ऐन निर्माण प्रक्रिया अघि बढाएपछि श्रेणी कायम भएको हो । उहाँले भन्नुभयो, “हामीले पठाएको डकुमेन्ट, ऐन निर्माणको प्रक्रिया र सरकारको सकारात्मक पहलकदमी भएकाले स्तर कायम गरिएको पत्र बुधबार हामीलाई प्राप्त भएको छ ।” 

इन्स्टिच्युसनले नियुक्ति प्रक्रियाको पारदर्शिता, मानव अधिकारको संरक्षण र प्रवर्धनमा आयोगको क्षमता, क्षेत्राधिकार, आयोगको स्वतन्त्रतालगायतका सवाल पारदर्शी र चित्तबुझ्दो नभएको भन्दै ८ नोभेम्बर २०२२ मा श्रेणी घटुवाको सिफारिस गरेको थियो ।