पृथ्वीमा उत्तर तथा दक्षिण धु्रवीय क्षेत्रपछि बढी हिउँको आयतन हिन्दकुश हिमालय शृड्खलामा पर्दछ । त्यसैले यो क्षेत्रलाई विश्वको जलस्रोतको अपार तेस्रो स्रोत मानिन्छ । यही स्रोतबाट समय अनुकूल पानी उपलब्ध हुने गर्छ । नेपालको उच्च हिमाली क्षेत्रमा अवस्थित गोक्योलगायत तीन हजारभन्दा बढी हिमताल पनि जलस्रोतका प्रमुख स्रोत हुन् । जलबिना कुनै पनि सजीवको अस्तित्व सम्भव छैन । विकसित मुलुकहरूबाट उत्सर्जित कार्बनका कारण स्थलीय एवं जलीय पारिस्थितिकी प्रणाली सञ्चालनको मुख्य आधार जल र वायुमा प्रदूषण बढ्दो छ र यसले विश्वव्यापी सङ्कट जलवायु परिवर्तन निम्त्याएको छ । कार्बन उत्सर्जनमा शून्यप्रायः भूमिका रहेको नेपाल जलवायु परिवर्तनको असरबाट अति प्रभावित मुलुकको सूचीमा चाहिँ चौथो नम्बरमा छ । चारदिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले नेपालको सगरमाथा र अन्नपूर्ण क्षेत्रमै गएर जलवायु परिवर्तनको असर प्रत्यक्ष अवलोकन गरी विश्वलाई हिमालयमा जलवायु सङ्कटको ‘त्रासदीपूर्ण प्रभाव’ न्यूनीकरणका लागि आह्वान गर्नुभएको छ । विश्व संस्थाका महासचिवबाट जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय महासन्धिका पक्ष मुलुकहरूको विश्व सम्मेलन (कोप–२८) सुरु हुनु एक महिनाअघि नेपालमा जलवायु परिवर्तनको त्रासदीपूर्ण असर अन्तर्राष्ट्रियकरण भएको यो मौकालाई नेपालले सदुपयोग गर्न अगाडि बढ्नु वाञ्छनीय छ ।
नेपाल र विश्वका जलवायु तथा जलस्रोतका सङ्कट एकै किसिमका छैनन् । भौगोलिक अवस्थिति अनुसार नेपालले जलस्रोतका भिन्न भिन्न किसिमका सङ्कटको सामना गरिरहेको छ । जलस्रोतको सङ्कट वृद्धिमा जलवायु परिवर्तनको असर पनि गम्भीर छ । महासचिव गुटेर्रेसले हिमालय क्षेत्रमा पुगेर ‘हिमालयमा जलवायु सङ्कटको त्रासदीपूर्ण प्रभाव’ चित्रण गर्दै विश्वलाई सुनाउनुभएको छ, विश्व तापक्रम वृद्धि हुँदा हिमनदी पग्लिने क्रम बढ्दै छ, जसले समग्र समुदायकै जीवन र जीविकोपार्जनलाई जोखिममा धकेलेको छ । हिमालयका हिमनदी ग्रिनल्यान्ड र अन्टार्कटिका झैँ उच्चस्तरमा पग्लिँदै छन् । यही क्रम रहे एक दिन नेपालका हिमाल हिउँबिनाका टाकुरा हुने छन् ।
हिमालय क्षेत्रमा हिउँ तीव्र गतिमा पग्लिँदै जाँदा समुद्री सतह बढ्दै छ । बाढीको प्रकोपले मानव समुदाय प्रभावित भएका छन् । यो धरतीका सम्पूर्ण सजीव आहारका लागि निर्जीव एवं सजीवमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निर्भर भई एक किसिमको सञ्जाल–खाद्य शृङ्खला तयार भएको हुन्छ । जलीय एवं स्थलीय पारिस्थितिकी प्रणालीका स्वपोषी, परपोषी, विच्छेदक सबै सजीवको अस्तित्व ती अनुकूल जलवायु प्रणालीमा निर्भर हुन्छ । जलवायु परिवर्तनको असरले यो वातावरणीय पारिस्थितिकी प्रणाली बिग्रँदा सजीवको खाद्य शृङ्खलामै गडबड हुन्छ अनि अनुकूलित हुन नसक्ने सजीवको अस्तित्व नामेट हुन्छ डाइनोसर जस्तै । सम्पूर्ण सजीव बाँच्नका लागि पारिस्थितिक प्रणाली सन्तुलित हुनु पर्छ ।
तत्कालीन सीमित औद्योगिक, आर्थिक लाभका लागि औद्योगिक, विकसित राष्ट्रहरूले बेपर्वाह कार्बन उत्सर्जन गर्दाको परिणामस्वरूप विश्वव्यापी तापक्रम वृद्धि भएको छ । यही कारण हिमालय क्षेत्रको हिउँ रित्तिँदै छ । यसको अर्थ जलस्रोतको भण्डार रित्तिँदै गएर पिउने पानीको अभाव बेहोर्नुपर्ने छ । वातावरणीय सन्तुलन बिग्रेर पारिस्थितिकी प्रणाली खल्बलिँदै छ । यसका सङ्केतहरू हिमालय क्षेत्र मात्र होइन, धु्रवीय क्षेत्र, समुद्रदेखि स्थानीय समुदायको खाद्यवस्तु उत्पादनमा देखिएकै छन् तर पनि अधिक कार्बन उत्सर्जक मुलुकहरूले जलवायु न्यूनीकरणका निम्ति राष्ट्रसङ्घीय महासन्धि र विभिन्न प्रतिबद्धताको पालना नगरी तापक्रम वृद्धिका कार्य अगाडि बढाइरहेका छन् । मानव समुदाय र समग्र सजीवको अस्तित्व नै डाइनोसरको जस्तो बनाउन उद्यत यस्तो कार्यलाई राष्ट्रसङ्घीय महासचिवले ‘पागलपन’ भन्नु जायज हो ।
वैज्ञानिकहरूका अनुसार विश्व तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्ने सुनिश्चित गरिनु पर्छ । आठ वर्षअघि जलवायु परिवर्तन न्यूनीकरणका लागि विश्व समुदायले गरेको पेरिस सम्झौताले यस्तो प्रतिबद्धता जनाए पनि जलवायु प्रभावलाई न्यूनीकरण गर्न अतिकम विकसित, भूपरिवेष्टित र तटीय मुलुकका लागि देखाएको सहयोग प्रतिबद्धता पूरा गर्ने दायित्वबाट विकसित तर दोषी मुलुकहरू भाग्ने प्रयत्न गरिरहेका छन् । कार्बनलगायत हरितगृह ग्यासको अधिक उत्सर्जनमा लगाम अनि जलवायु परिवर्तनका असर न्यूनीकरणका प्रयासहरू तीव्र प्रवर्धन नगरिए
पारिस्थितिक प्रणालीका सेवाहरूबाट मानव वञ्चित हुनुपर्ने अवस्था आउन सक्छ । सम्पूर्ण सजीव बाँच्नका लागि सन्तुलित पारिस्थितिक प्रणाली कायम राख्न राष्ट्रसङ्घका महासचिवको आह्वान र प्रतिबद्धताबाट नेपाललगायत सबै प्रभावित मुलुकले लाभ लिन सक्नु पर्छ । विश्वसमुदायलाई जलवायु परिवर्तनको असर हेर्न नेपालको हिमालय क्षेत्रमा आउन राष्ट्रसङ्घीय महासचिवले गराएको ध्यानाकर्षणलाई नेपालले पुँजीमा परिणत गर्न सक्नु पर्छ ।