• २० असोज २०८१, आइतबार

विगतजस्तो उत्साहजनक बन्न सकेन दसैँ

blog

फाइल तस्बिर

चितवन, कात्तिक ११ गते । बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो ।  

दसैँको अघिल्लो दिनसम्म व्यवसायीहरूलाई बैङ्कबाट फोन आइरह्यो भने त्यहीँ काम गर्ने कर्मचारी पनि निराशा बोकेर दसैँमा सहभागी भए । खर्चिलो दसैँ बन्ने गरेको विगतको तुलनामा यस वर्ष आर्थिक अभावका कारण गर्जो टर्ने गरी मात्र दसैँ मनाउनु परेको व्यवसायीहरू बताउँछन् । 

निजी क्षेत्रका मालिक मात्र होइन त्यहाँ कार्यरत मजदुर कर्मचारीहरूले पनि राम्रो गरी तलब भत्ता पाउन सकेनन् । त्यसो त लुकी छिपी जुवातास खेल्नेहरूको खालमा प्रहरीले पैसासमेत भेट्न सकेन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की जुवातास नियन्त्रणका लागि प्रहरी परिचालन गरेको भए पनि पेसेवर जुवाडे नभेटिएको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “१५ जना समातिँदा ३० हजार पनि नपाएपछि मुद्दा चलाउने अवस्था रहेन ।” उहाँको भनाइमा ठुलो रकम राखेर जुवातास खेल्नेहरू यो वर्ष भेटिएनन् । उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजन गौतम विगतका दसैँमा जुवातासका ठुलाठुला खाल हुने गरेको सुनेको भए पनि यस वर्ष त्यस्तो नसुनिएको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “आर्थिक मन्दीका कारण दसैँ मनाउने अवस्था नरहेपछि जुवातास कसले खेल्ने ?” हुने खाने हुँ भन्नेले पनि यसपालि राम्रो र रमाइलो गरी दसैँ मनाउन नसकेको उहाँ बताउनुहुन्छ । उद्योग वाणिज्य सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठ विगतको तुलनामा ३० प्रतिशत हाराहारी पनि व्यापार नभएको बताउनुहुन्छ । 

यसको प्रत्यक्ष प्रभाव दसैँ पर्वमा परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “क्रय शक्ति नहुँदा समग्र पर्व प्रभावित बन्यो ।” दसैँमा बजार चलायमान हुने अनुमान गरिएको भए पनि त्यसो हुन नसकेको उहाँ बताउनुहुन्छ । यससँगै मानिसहरूमा घुमफिर गर्ने क्रम समेतमा कमी आएको उहाँले बताउनुभयो ।

पोल्ट्री व्यवसायी ऋषि पौडेल आर्थिक मन्दी र युवा जनशक्ति पलायन भएका कारण दसैँ उत्साहजनक बन्न नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दसैँमा कुनै उत्साह देखिएन, यसको कारण आर्थिक मन्दी र युवा जनशक्तिको पलायन हो ।” मासुको अधिक प्रयोग हुने दसैँमा खसी, बोका, च्याङ्ग्रा, कुखुरा बिक्न नसकेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सुरुका दिनमा जिउँदो खसी प्रतिकिलो छ सयमा बिक्री भएकामा पछिल्ला दिनहरूमा पाँच सयमा पनि बिक्न सकेन ।” कुखुराको खपत पनि निकै न्यून भएको उहाँ बताउनुहुन्छ । नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने आर्थिक मन्दीका कारण दसैँ उत्साहजनक बन्न नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आर्थिकरुपमा कमजोर भएको अवस्थामा बजारको महँगीका कारण बाँच्न मुस्किल छ, कसरी दसैँ उमङ्ग हुन्छ ।” व्यावसायिक क्षेत्र धराशायी भएको र महँगी अस्वाभाविक बढेका कारण दसैँ प्रभावित भएको उहाँको बुझाइ छ ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले आफू प्रमुख हुनुअघि जस्तै गरी यस वर्ष पनि धेरैलाई दसैँ मान्न सहयोग गर्नुभयो । उहाँले भन्नुभयो, “दसैँ कसरी मनाउनु, आम नागरिकसँग पैसा नै छैन ।” एकातर्फ आर्थिक मन्दी छ भने अर्कोतर्फ घरका छोराछोरी विदेश हुँदा ती परिवारमा दसैँको उमङ्ग नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“संस्कृति जगेर्नाका लागि मात्र दसैँ मान्नुपर्ने अवस्था आएको देखियो ।” सबै क्षेत्र प्रभावित भएकै कारण दसैँमा उमङ्ग आउन नसकेको धेरैको भोगाइ छ । रासस