• २० असोज २०८१, आइतबार

शक्तिपीठहरुमा स्कन्दमाताको पूजा गरिँदै

blog

काठमाडौँ,  कात्तिक २ गते । नेपालीको महानचाड बडादसैँको आज पाँचै दिन देशभरका शक्तिपीठहरुमा स्कन्दमाताको विशेष पूजा गरिँदै छ । आज खासगरी स्कन्दमाताको विशेष पूजा गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने धार्मिक विश्वास रही आएको छ ।

काठमाडौँ उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, मैतीदेवीलगायतका मन्दिर र शक्तिपीठहरुमा विशेष पूजाअर्चना गर्ने परम्परा छ । आइतबार असोज शुक्ल प्रतिपदाका दिन बिहान घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि नेपालीको महान् पर्व बडादसैँ प्रारम्भ भएको हो ।

दसैँ पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । यो १५ दिनको समयलाई दुर्गापक्ष पनि भनिन्छ । पूजा कोठा वा दसैँ घरमा नवरात्रभर दुर्गा देवीको आराधना गरिन्छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चाँैथो दिन कुष्माण्डा, पाँचै दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । रासस