• २० असोज २०८१, आइतबार

पाटनमा भूकम्पले जीर्ण बनेका सम्पदा अझै त्रिपालमुनि

blog

ललितपुर, असोज ३० गते । विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा ऐतिहासिक सम्पदा छन् । वि.सं २०७२ को भूकम्पले क्षति  पुर्‍याएका अधिकांश सम्पदा पुनः निर्माण भए पनि केही अझै पुनः निर्माण प्रक्रियामा छन् ।

पुनः निर्माणका लागि अन्योलमा रहेका जीर्ण सम्पदाहरू अझै पनि त्रिपालमुनि छन् । जीर्ण रहेका कतिपय सम्पदा कहिले र कसले पुनः निर्माणको जिम्मा लिने भन्ने विषयमा अन्योल छ । पाटन दरबार क्षेत्रका कतिपय सम्पदालाई गुठी संस्थानले व्यक्तिगत व्यापारिक प्रयोजनका लागि भाडामा दिएको छ । स्थानीयले भाडा तिरेर वर्षौँदेखि सम्पदालाई व्यापारिक प्रयोजनका लागि प्रयोग गरेका छन् । ऐतिहासिक रूपमा रहेका सम्पदाहरू वर्षातको समयमा पानी चुहिने भएकाले छानामा त्रिपाल राखेको देखिन्छ ।

भूकम्पपछि जीर्ण बन्दै गएको सम्पदाको छानामा त्रिपाल राखिएको छ । पाटन दरबार क्षेत्रको ऐतिहासिक तलेजु मन्दिरलाई पनि भूकम्पले क्षति पुर्याएको थियो । अन्य सम्पदा भूकम्पपछि पुनः निर्माण भए पनि तलेजु मन्दिरको पुनः निर्माणको काम अझै सकिएको छैन । निर्माणको थालनी भएको तलेजु मन्दिर पनि कामको ढिलासुस्तीको कारण त्रिपालमुनि छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका सूचना अधिकारी शारदा शिवाकोटीले अब काम चाँडै सकिने बताउनुभयो ।

पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक लामपाटी जीर्ण अवस्थामा छ । जीर्ण अवस्थामा रहेको लामपाटीको एकातिरको छाना पूरै त्रिपालले छोपिएको छ । ऐतिहासिक रूपमा रहेको लामपाटी सम्पदालाई स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले व्यापारिक प्रयोजनका लागि व्यक्तिलाई भाडामा दिएको छ । त्यहाँ एउटा होटल र अन्य व्यवसाय सञ्चालन भइरहेको छ ।

जीर्ण अवस्थामा रहेको लामपाटीको पनि पुनः निर्माण प्रक्रियामा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका सूचना अधिकारी शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा पुनः निर्माण हुने भनेको लामपाटी सम्पदाको काम अझै सुरु भएको छैन । पाटन दरबार सङ्ग्रहालय छेउमा रहेको ऐतिहासिक अदालत भवनमा घाँस उम्रेको छ । घाँसले पुरिन आँटेको जीर्ण भवनको पुनः निर्माण भारतीय राजदूतावासले जिम्मा लिएको छ । रासस