• २८ पुस २०८१, आइतबार

आज साँझ लाओसको मैदानमा नेपालको परीक्षा

blog

काठमाडौँ, असोज ३० गते । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ को पहिलो चरण पार गर्ने लक्ष्यसहित नेपाली टिम अहिले लाओसमा छ । नेपालले मङ्गलबार साँझ लाओसको न्यु लाओस नेसनल स्टेडियममा घरेलु टिमविरुद्ध छनोटको पहिलो चरणको अवे खेल खेल्दै छ । सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।

पाँच दिनअघि घरेलु मैदान दशरथ रङ्गशालामा नेपाल १–१ ले लाओससँग बराबरीमा रोकिएको थियो । त्यसैले लाओसलाई उसकै मैदानमा हराएर पहिलो चरण पार गर्ने कठिन चुनौती नेपालसमक्ष छ । हुन त अहिलेसम्म भएका पाँच भिडन्तमा लाओसले अहिलेसम्म नेपाललाई हराउन सकेको छैन । तर गत बिहीबार घरेलु मैदानमा भएको बराबरीको नतिजाले नेपाल बेफाइदामा भने छ ।

यसपालि विश्वकप छनोटमा अवे गोल फाइदाको नियम छैन । त्यसैले दुवै टिमलाई अगाडि बढ्न खेल जित्न आवश्यक छ । लाओसलाई हराउन सकेमा नेपालले दोस्रो चरणमा युएइ, बहराइन र यमन÷श्रीलङ्का सहभागी हुने दोस्रो चरणमा स्थान बनाउनेछ । दोस्रो चरणमा यमनले खेल्ने सम्भावना धेरै छ । पहिलो लेगमा यमनले श्रीलङ्कालाई ३–० ले हराएको थियो ।

नेपालका प्रशिक्षक भिन्सेन्जो सोमबार अलवर्टो ऐनिसले तयारी राम्रो भएको र आफ्नो  बलियो र कमजोरी पक्षमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो । ‘यो खेल नेपालका लागि मात्र होइन मेरो लागि पनि निकै महत्त्वपूर्ण छ । हामीले विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउन लाओसलाई उसकै मैदानमा हराउनैपर्ने बाध्यता छ । तर हामी यसका लागि तयार छौँ । हामी विपक्षीको मैदानमा आक्रामक फुटबल खेल्नेछौँ । लाओसले नेपालमा काउन्टर एट्याकको रणनीतिमा खेलेको थियो । उनीहरूको टिमलाई म सम्मान गर्छु तर हामी विपक्षीको मैदानमा पनि आक्रामक रणनीतिमा खेल्नेछौँ– इटालियाली प्रशिक्षक एनिसले भन्नुभयो । ,प्रशिक्षक एनिसले पहिलो खेलमा लाओसले धेरै समय खेर फालेको र रेफ्रीको निर्णय पनि आफ्नो  पक्षमा नभएको गुनासो गर्नुभयो । उहाँले यस विषयमा म्याच कमिस्नरसँग उजुरी गरेको जानकारी पनि दिनुभयो ।

गत बिहीबार खेलिएको खेल प्रशिक्षक एनिसको विश्वकप छनोटमा पहिलो जिम्मेवारी थियो । त्यसैले पनि एनिस नेपाललाई दोस्रो चरणमा पुर्‍याएर आफूलाई सफल प्रशिक्षकमा चिनाउन चाहनुहुन्छ ।

नेपालका कप्तान किरण लिम्बुले यस महत्त्वपूर्ण खेलमा नेपालले आकर्षक फुटबल खेलेर जित हात पार्नेछ, भन्नुभयो । पछिल्लो खेल निराशाजनक रह्यो । पूर्वार्द्धमा धेरै गल्ती गर्‍यौँ । यस पक्षमा सुधार गर्नुपर्छ । तर हाम्रो तयारी राम्रो भएको छ । त्यसैले लाओसमा जित हात पारेर अगाडि बढ्नेछौँ । केटाहरुको मनोबल पनि उच्च छ, हामी खेल जितेर आफ्ना समर्थकलाई  दसैँको उपहार दिन चाहन्छौँ– कप्तान लिम्बुको भनाई छ ।

लाओसका प्रशिक्षक कान्लाया सिसोम्वाङले भोलिको खेल कठिन र रोमाञ्चक हुने अपेक्षा गर्नुभयो । हामीले पहिलो लेगको खेलबाट धेरै शिक्षा पाएका छौँ । हामीले सो खेलको अध्ययन पनि गर्‍यौँ विश्लेषण पनि गर्‍यौँ । हामी अझ राम्रो गर्ने कोशिश गर्नेछौँ । रङ्गशालामा आउने दर्शकलाई हामी खेल जितेर खुसीका साथ घर फर्काउने प्रयास गर्नेछौँ– प्रशिक्षक सिसोम्वाङले भन्नुभयो । उहाँले आफ्ना एक महत्त्वपूर्ण खेलाडी घाइते भएकोले खेल्न नसक्ने सम्भावना रहेको जानकारी पनि गर्नुभयो ।