• १३ साउन २०८१, आइतबार

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबिच सम्झौता

blog

फाइल तस्बिर

काठमाडौँ, असोज २९ गते । पर्वतीय पर्यटनको दिगो विकास, विस्तार र प्रवर्द्धनमा आपसी समझदारी र सहकार्यका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबिच सम्झौता भएको छ । 

आज आयोजित एक कार्यक्रममा पर्वतीय पर्यटनका लागि जनशक्ति विकास, तालिम एवं प्रशिक्षण लगायतमा सहकार्यका लागि सम्झौता भएको हो । सङ्घले नियमितरुपमा सञ्चालन गर्दै आइरहेको आधारभूत पर्वतारोहण र उच्च पर्वतारोहण तालिम प्रतिष्ठानले नगर्ने विषयमा पनि सम्झौता भएको छ । 

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष उङदी छिरिङ र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले पाँच बुँदे आपसी समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । दुवै पक्षको समन्वय एवम् साझेदारीमा तालिमलगायत कार्यक्रमहरू सञ्चालन गर्ने समझदारी भएको छ । यसै गरी, संयुक्त रूपमा सञ्चालन गरिने तालिम कार्यक्रममा लागत साझेदारी गर्ने र दुवै पक्षले प्रमाणीकरण गर्ने सहमति भएको छ । 

प्रतिष्ठानका अध्यक्ष दावा शेर्पाले सम्झौताले दुवै संस्थालाई बलियो बनाउँदै समग्र पर्वतीय पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै उद्देश्यका लागि जन्मेका दुवै संस्थाले पर्वतीय पर्यटन क्षेत्रको विकासका लागि सहकार्य गर्नु अपरिहार्य छ ।” सङ्घका अध्यक्ष नुरु शेर्पाले प्रतिष्ठानले सैद्धान्तिक र सङ्घले त्यसको प्रयोगात्मक अभ्यासमा दोहोरोपन नहुने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो  । “सङ्घले गर्दै आएको काममा हस्तक्षेप होइन, सहकार्य हुने हाम्रो विश्वास छ । सहकार्यलाई कागजमा सीमित नगरी कार्यान्वयन गर्ने हामी प्रतिबद्ध छौँ ”, सङ्घका अध्यक्ष नुरु शेर्पाले भन्नुभयो । 

सङ्घले तालिम सञ्चालन गर्दा प्रतिष्ठानको शैक्षिक कार्यक्रममा संलग्न विद्यार्थीलाई २० प्रतिशत कोटा सुरक्षित गर्ने सहमति भएको छ । यस्तै, सङ्घले प्रतिष्ठानबाट सञ्चालन भइरहेका स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीलाई हरेक शैक्षिक सत्रमा कम्तीमा एक-एक जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको छ । सहमति पत्रमा प्रतिष्ठानका विद्यार्थीको हकमा न्यूनतम सङ्ख्या पुग्ने भएमा छुट्टै तालिम सञ्चालन गर्ने व्यवस्था उल्लेख छ । उक्त सम्झौता पाँच वर्षसम्म कायम रहने बताइएको छ । रासस