आर्थिक वर्ष २०७९/८० मा संस्थागत रूपमा मात्रै चार लाख तीन हजार ६४१ जना नेपालीले वैदेशिक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । बर्सेनि यो सङ्ख्या बढिरहेको छ । पचासौँ लाख नेपाली कामका लागि विदेश गएका छन् । ती युवा हुन् । देश बनाउने शक्ति हुन् ती । तिनमा ज्ञान, सिप छ । नभए बलिष्ठ पाखुरा छन् । राष्ट्र निर्माणको बलियो स्रोत युवा जनशक्तिलाई विदेशमा श्रमका लागि पठाएर विप्रेषण ल्याए भनी देशले गर्व गरिरहेको अवस्था छ । तीव्र गतिको विकासका सपना बुनेर भाषण गर्ने नीति निर्माताहरूले युवालाई स्वदेशमै रोक्ने, रमाउने वातावरण तयार गर्नुपर्ने आवश्यकता महसुस गरेनन् । यो अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब चाहिँ दक्ष जनशक्तिलाई स्वदेशमै रोक्ने नीति निर्माण गरिने बताउनुभएको छ ।
विदेशमा गएका युवाशक्ति श्रमका लागि मात्र होइन, अध्ययन गर्ने, उतै कमाउने र बस्ने उद्देश्यले समेत गएका छन् । विदेशमा गएर आधुनिक शिक्षा लिने, प्रविधि सिक्ने र स्वदेशमा फर्केर स्वदेशमै केही गर्ने मानसिकता शायदै देखिन्छ । इन्जिनियरिङ, चिकित्सा जस्ता प्राविधिक विषयको अध्ययन नेपालमै हुन्छ तर शिक्षा प्रणालीका ऐन नियमका कारण पनि यहाँ पढ्न नपाएर विदेश जाने प्रवृत्ति बढ्दो छ । विप्रेषणबाट आएको वैदेशिक मुद्रा त्यस्ता विद्यार्थीमार्फत विदेशतर्फ नै गएको छ । यहाँ प्राविधिक शिक्षा लिएर पनि राम्रो कार्य अवसर, वातावरण उचित पारिश्रमिक नपाउँदा विदेश नै जानेको सङ्ख्या पनि ठुलै छ । प्राविधिक शिक्षा लिएका युवा शक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्ने अनि विदेशमा काम गरेर हासिल गरेको ज्ञान, सिप र अनुभवलाई स्वदेशमै उपयोग गर्ने वातावरण सिर्जना गरिदिने हो भने युवा जनशक्तिको पलायन कम गर्न सकिने छ ।
नेपालसँगसँगै राजनीतिक परिवर्तन गरेका तर नेपालको भन्दा कमजोर आर्थिक अवस्था र कठिन जीवन रहेका देशहरूले आफ्ना युवालाई विदेशमा उच्च शिक्षा लिन पठाई आधुनिक प्रविधि भित्र्याएर वा विदेशमा रहेका जनशक्तिलाई स्वदेश फर्काएर देश विकासमा लगाई तरक्की गरेका हुन् । यसो त नेपालले पनि आफ्ना विद्यार्थी प्राविधिक उच्च शिक्षाका लागि विदेश पठाएर दक्ष बनाई स्वदेशमा काम गराउने परम्परा नअँगालेको पनि थिएन तर सरकारको सहयोगमा होस् वा निजी लगानीमा अध्ययनका लागि विदेश जाने विद्यार्थी उतै, अर्काको देश बनाउन रमाउन थाले । यता स्वदेशमा प्राविधिक दक्ष जनशक्ति उत्पादनमा राज्यले लाखौँ खर्च गरेको हुन्छ तर त्यो जनशक्तिले यहाँ भविष्य देख्दैन, राज्यले रोक्न पनि सक्दैन । इन्जिनियर, नर्स, डाक्टर, कृषिविद् जस्ता प्राविधिकहरूलाई स्वदेशमा थेग्न नसक्ने हो भने भविष्यमा यस्तो जनशक्तिको चरम अभाव हुने छ । विकास कार्य झन् अवरुद्ध हुने छ । दक्ष चिकित्सक नहुँदा नागरिकले उपचार सेवा नै पाउने छैनन् । सम्भावित त्यो सङ्कट रोक्ने उपाय अपनाउन विलम्ब हुनु हुँदैन ।
वैदेशिक रोजगारीबाट फर्केका कतिपय युवाले मुलुकको विभिन्न ठाउँमा व्यावसायिक कृषि, स्वरोजगारमूलक उद्यमहरूसमेत गर्न थालेका छन् । अरू युवाले त्यसको अनुसरण गर्न पनि सक्छन् । यसका लागि सरकारले प्रोत्साहन दिनु पर्छ । विप्रेषणमा वृद्धि भई अर्थतन्त्रलाई सघाउने भन्दै युवालाई वैदेशिक रोजगारीमै जान प्रोत्साहित गर्नुको साटो स्वदेशमै रोजगारीको अवसर अथवा स्वरोजगार बन्ने वातावरण सिर्जना गरिदिनु आवश्यक छ । यसो नहुँदा नै भित्र बाहिर गर्न पनि सहारा चाहिने वृद्ध बाआमालाई एक्लै छाडेर विदेशीका बाआमाको सुसार गर्न जानु परेको हो नेपाली युवा ।
युवा जनशक्ति निर्यातको नीति अन्तत्वगत्वा मुलुकका लागि घातक नै सिद्ध हुने छ । हो ‘एक विश्व’ प्रवेशमा आफ्नो जनशक्तिलाई विदेशिनबाट पूर्णतः रोक्न सकिन्न तर मुलुकलाई आवश्यक जनशक्तिको व्यवस्थापनप्रति हेलचेक्र्याइँ गरिनु हुँदैन । नेपाली जनसङ्ख्याको ठुलो हिस्सा युवाको छ । त्यो जनशक्तिले नै अकल्पनीय परिवर्तन र सिर्जना गर्न सक्छ तर मुलुक निर्माणमा त्यसको सदुपयोगभन्दा विप्रेषणलाई मात्र प्राथमिकता दिने नीतिको नकारात्मक असर हाम्रा रित्तिँदै गएका गाउँ, भत्किँदै गएको पारिवारिक र सामाजिक संरचना हेर्दा हुन्छ । मुलुकमा सुरक्षित रोजगारी सुनिश्चित नहुनु, अवसर नपाउनु अनि बाध्यताले अर्काको घरेलु कामदार, मजदुर बन्न जानुपर्दा ती युवा मानसिक समस्याले गाँजिन पुग्छन् । यसैले मुलुकको दीर्घकालीन हित र विकासका लागि चाहे अध्ययन होस् चाहे रोजगारीका लागि युवाको विदेश पलायन रोकेर देशभित्रै अवसर सिर्जना गर्ने नीति कार्यान्वयन अहिलेको आवश्यकता बनेको छ । देशकै निम्ति युवाको श्रम, सिप र सिर्जना सिञ्चन हुनु वाञ्छनीय छ ।