• १३ साउन २०८१, आइतबार

तरकारी खेतीका लागि भरपर्दो बन्दै मलचिङ्ग प्रविधि

blog

वराहक्षेत्र –९, का कृषक सत्यनारायण चौधरी तरकारी खेतीका लागि प्लाष्टिक मल्चिङ्ग विछ्याउँदै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र (सुनसरी), असोज २४ गते । वराहक्षेत्र –९ का ५७ वर्षीय सत्यनारायण चौधरी सात वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ । गाउँघरमा कृषि कामदार नपाउँदा चौधरीले प्रविधिको प्रयोग गरेर मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । 

चौधरी गाउँमा प्रविधिको प्रयोग गर्ने प्रतिनिधि किसान हुनुहुन्छ । सुनसरी वराहक्षेत्र –९ का अधिकांश किसानले प्रविधिको प्रयोग गर्न थालेका छन् । उहाँहरूले तरकारी खेतीमा मल्चिङ्ग प्रविधिको प्रयोग गरेर तरकारी खेती गर्दैआउनुभएको हो । 

उमेर पुगेका युवाहरू वैदेशिक रोजगारीमा गएसँगै कृषिमा काम गर्ने मान्छे नहुँदा किसानले कृषिमा प्रविधिको प्रयोग गर्न थालेका छन् । गाउँमा भएका अरू युवाहरू कृषिभन्दा बाहिरी काममा छन् । कृषि कामदार नै पाउन छाडियो, वराहक्षेत्र –९ का कृषक जङ्गली कविरथले सुनाउनुभयो । 

कविरथ नौ वर्षदेखि तरकारी खेती गर्दैआएका अगुवा कृषक हुनुहुन्छ । उहाँले बेमौसमी साग, करेला, बोडी, रैथाने लट्टेको खेती गर्दै आउनुभएको छ । वराहक्षेत्र ९ कै २९ वर्षका दिलिपले मौसमी र बेमौसमी तरकारी खेती गर्दैआउनुभएको छ । उहाँले बोडी, रामतोरीया, करेला, गोलभेँडा सात कठ्ठा क्षेत्रफलमा गर्दै आउनुभएको बताउनुभयो ।

“पहिला कृषि कामदार पाइन्थ्यो र बिरुवालाई गोडमेल गर्न कामदार नै लगाउँथे । अहिले कामदार पनि पाउँदैनन् । नपाउँदा मल्चिङ्ग प्रविधिको प्रयोग गरेर तरकारी खेती गर्दैआएको छु” सत्यनारायणले बताउनुभयो । 

उहाँले दुई वर्षदेखि मल्चिङ्ग प्रविधिको प्रयोगबाट तरकारी खेती गर्दैआएको बताउनुभयो । 

चौधरीले भन्नुभयो, “यो प्रविधिबाट प्रयोग गरेर तरकारी खेती गर्दा गोड्नु नपर्ने, लगाएको मल बिरुवाले मात्र पाउने हुँदा प्रविधिको प्रयोगले आम्दानीमा वृद्धि भएको छ ।” मौसमी र बेमौसमी तरकारी खेतीका लागि गाउँमा मल्चिङ्ग प्रविधिको प्रयोग बढ्दैगएको छ । 

“प्लाष्टिक मल्चिङ्ग ड्याङमा लगाएर उन्नत तरिकाबाट खेतीगर्दा फाइदा हुन्छ । मेरो जागिर र आम्दानी भनेकै तरकारी खेती हो भनेर लागे तरकारी खेतीमा फाइदा हुन्छ” कृषक जङ्गली कविरथले बताउनुभयो ।  

वार्षिक खर्च कटाएर एक लाख ५० हजारदेखि २ लाखसम्म आम्दानी तरकारी खेतीबाटै गर्दैआएको कृषक दिलिपले बताउनुभयो । स्थानीय पाच्चु कविरथले मल्चिङ्ग ड्याङ्ग लगाएर तीन कठ्ठामा खुर्सानी रोप्नुभएको छ ।  उहाँले मल्चिङ्ग लगाएर तरकारी खेती गरेको एक वर्ष बढी भएको बताउनुभयो । 

एक पटक मल्चिङ्ग लगाएपछि एक सिजनको तरकारी उत्पादन हुँदासम्म गोडमेल गर्ने झन्जट नहुने कृषकको भनाइ छ । तरकारी खेतीमा टनेल, ग्रिनेट, मल्चिङ्ग प्रविधिको गाउँमा पछिल्लो समय बढी प्रयोग हुन थालेको छ । 

के हो मल्चिङ्ग

बाहिर सेतोभित्र कालो भएको प्लाष्टिक मल्चिङ्ग ड्याङ्गमा लगाएर गरिने प्रविधि नै मल्चिङ्ग हो । यो एक रोलमा ४ सय मिटर हुन्छ । एक रोल मल्चिङ्ग अढाई कठ्ठा क्षेत्रफलमा लगाउन सकिने कृषक दिलीप कविरथको भनाइ छ । मल्चिङ्ग लगाएपछि झार नआउने र गोडमेल गर्न नपर्ने भएकाले लगाएको मल तरकारीको बोटले मात्र लाग्ने हुन्छ । 

यो प्रविधि तरकारी किसानका लागि भरपर्दो बन्दैआएकोे छ । तरकारी खेती गर्ने ठाउँमा मल्चिङ्ग बिछ्याएर नापअनुसारको प्वाल बनाएर बिरुवा रोपिन्छ ।