• २८ पुस २०८१, आइतबार

चिकित्सा शिक्षा पढ्न विदेश जानुपर्ने अवस्था अन्त्य गर्छौ : स्वास्थ्यमन्त्री बस्नेत

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत ।

काठमाडौं, असोज २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्न विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । 

कागेश्वरी मनोहरा नगरपालिकाले बुधबार आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर डाक्टर, नर्स सहित स्वास्थ्य सम्बन्धी विषय पढ्नका लागि विदेश जानु पर्ने अहिलेको बाध्यता हटाउने दाबी गर्नुभयो । 

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘वर्तमान चिकित्सा शिक्षा ऐनका केही प्रावधानले मेडिकल कलेज र नर्सिङ कलेजका कोटा घटाइयो । जसका कारण स्वदेशमै पढ्न चाहने विद्यार्थीहरूले पनि बाध्य भएर पढ्नका लागि विदेश जानु परेको छ । अब ऐन चाडै परिमार्जन गरेर स्वदेशमै पर्याप्त कोटा निर्धारण गरिने छ र नेपालमै पढ्न पाइने सुनिश्चित हुनेछ ।’’

चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्रीदेखि मन्त्रिपरिषद् र राजनीतिक दलहरूका नेता समेत सहमत रहेको बताउनुहुँदै मन्त्री बस्नेतले एक जनाले अनसन बस्छु भनेर धम्की दिएकै भरमा लाखौँ विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्न नसकिने जिकिर गर्नुभयो ।

विदेशीले समेत चिकित्सा शिक्षा पढ्न नेपाल आउन चाहिरहेको बताउनुहुँदै चिकित्सा शिक्षा ऐनका कारण अवरोध भइरहेको उहाँको भनाइ छ । अवरोध हटाएर नेपाललाई मेडिकल शिक्षाको हबको रूपमा विकास गर्न सकिने गरी काम भइरहेको उहाँले दाबी गर्नुभयो ।

चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर मेडिकल कलेज र नर्सिङ कलेजका सिट नबढाउने हो भने अबको पाँच वर्ष भित्रै चिकित्सक र नर्स विदेशबाट आयात गर्नु पर्ने अवस्था आउन सक्ने दाबी मन्त्री बस्नेतले गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले नै देशलाई २९ हजार नर्सको आवश्यकता छ । पढ्नका लागि विदेश जाने र काम पनि उतै गर्न थाले पछि हामीले विदेशबाट आयात गर्नु पर्ने दिन नआउलान भन्न सकिन्छ ।’’

मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि विपन्नका लागि हरेक अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गराएको केन्द्रीय अस्पतालहरूका साढे तीन हजार जनरल शय्या विपन्नका लागि निःशुल्क गराएको र अब सातवटै प्रदेश अस्पतालका शय्या पनि निःशुल्क गराउन लागेको दाबी गर्नुहुँदै चार वटा प्रदेशले निःशुल्क गरिसकेको र बाँकी तीनमा पनि छिट्टै हुने जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्री बस्नेतले कागेश्वरी महोहरा नगरपालिकाका विभिन्न विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रम कागेश्वरी महोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा भएको थियो ।