• २३ मंसिर २०८०, शनिबार

देशभित्रै युवाको भविष्य

blog

स्वदेशमा आफ्नो भविष्य अनिश्चित देखेपछि हिजोआज नेपाली युवाले विदेश पलायनलाई उपयुक्त विकल्पका रूपमा रोज्ने गरेको पाइन्छ । पछिल्लो समयमा दैनिक सरदर दुई हजार पाँच सयभन्दा बढी युवा उच्च शिक्षा र रोजगारीका लागि विदेश उड्न थालेका छन् । गएको आर्थिक वर्षमा मात्रै रोजगारी र अध्ययनका लागि करिब नौ लाख युवा विदेश पलायन भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि सात लाख ७५ हजार युवा विदेश पुगेका छन् । त्यसै गरी गत वर्ष एक लाख १० हजार नेपाली विद्यार्थी अध्ययनका लागि बिदेसिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

विगतका वर्षहरूमा मलेसियाका साथै खाडी मुलुकहरूमा जानेको सङ्ख्या उच्च हुन्थ्यो भने पछिल्लो समयमा जापान, कोरिया, अस्ट्रेलियालगायत युरोपेली तथा अमेरिकी मुलुकतर्फ जानेको ग्राफ ह्वात्तै बढेको छ । खाडी मुलुक जानेहरू केही वर्षमा नेपाल फर्किने योजनासहित रोजगारीका लागि त्यहाँ पुग्छन् भने अस्ट्रेलिया, युरोप र अमेरिका पुग्नेहरू त्यहाँ अध्ययन गर्ने, त्यहीँ रोजगारी प्राप्त गर्ने र त्यहीँ स्थायी रूपमा बसोबास गर्ने योजनासहित जाने गरेका छन् ।

एकातिर विविध कारणले गर्दा उच्च शिक्षा लिन नसक्ने न्यून आर्थिक स्तरको पारिवारिक पृष्ठभूमि भएका युवा खाडी मुलुकतर्फ उड्ने र अर्कोतिर उच्च शिक्षा लिन सक्ने उच्च आर्थिक स्तरको पारिवारिक पृष्ठभूमि भएका युवा विकसित मुलुकतर्फ उड्ने व्रmमले स्वदेशमा युवा उमेर समूहको ठुलो सङ्ख्या नै नरहने स्थिति देखिन थालेको छ । यसले निकट भविष्यमा नेपालको विकास निर्माणमा प्रतिकूल प्रभाव पर्ने जोखिम छ । यस किसिमको चित्रले देशको बागडोर सम्हालेर बसेका राजनीतिक दलहरू र नीतिनिर्माण तहमा रहेका उच्च पदस्थ कर्मचारीलाई सबैभन्दा बढी पिरोल्नुपर्ने हो तर त्यस्तो भएको देखिँदैन । यस आलेखले युवालाई देशभित्रै भविष्य खोज्ने वातावरणका बारेमा चर्चा गरेको छ ।

गुणस्तरीय शिक्षा

नेपालको शैक्षिक गुणस्तर खस्किँदो छ । अङ्ग्रेजीमा दख्खल राख्नु र परीक्षामा उच्च अङ्क ल्याउनुलाई मात्र गुणस्तरीय शिक्षाको सूचक मानिनु हाम्रो शैक्षिक प्रणालीको कमजोर पक्षका रूपमा रह्यो । हाम्रो पाठ्यक्रमबाट पूर्वव्यावसायिक शिक्षा जस्ता मौलिक आवश्यकताका विषयवस्तु हटाइनु, दैनिक जीवनमा आवश्यक पर्ने सिप, दक्षतासहितका व्यावहारिक र जीवन उपयोगी विषयहरू नसमेटिनु, मौलिक भाषा, कला एवं संस्कृतिलाई प्राथमिकता नदिइनु, प्राविधिक विषयहरूमा कोरा सैद्धान्तिक ज्ञान मात्र रटाइनु, तोकिएको समयसीमाभित्र तोकिएको पाठ्यव्रmमको पूरा अध्यापन नहुनु आदि कारणले गर्दा शैक्षिक गुणस्तर गिर्दो छ । विश्वविद्यालयहरू शैक्षिक एवं प्राज्ञिक केन्द्रभन्दा पनि राजनीतिक थलोका रूपमा विकसित छन् । शिक्षण शुल्क, चार वर्षे पाठ्यक्रम छ वर्षमा पनि पूरा नहुनु, उत्तीर्ण भएपछि पनि रोजगारीको सुनिश्चितता नहुनुले यस्तो समस्याको सम्बोधन आवश्यक छ । त्यसैले युवा बिदेसिनबाट रोक्ने पहिलो उपाय शैक्षिक क्षेत्रमा रहेका कमीकमजोरी सुधार गर्नु हो । राष्ट्रिय शैक्षिक योजना रोजगारमूलक शिक्षामा केन्द्रित हुनु पर्छ ।

रोजगारी विस्तार 

नेपाली श्रमबजारमा वार्षिक पाँच लाखभन्दा बढी युवा थपिने गरेको अनुमान गरिन्छ । यसर्थ बर्सेनि लाखौँ युवा रोजगारीको खोजीमा भौँतारिइरहेका हुन्छन् । निजी क्षेत्रद्वारा सृजित रोजगारीमा योग्यता र क्षमताको आधारमा भन्दा आफ्ना मान्छेलाई छानेर अवसर दिने गरिन्छ । सरकारी सेवामा स्थायी रूपमा प्रवेश गर्न न्यून सङ्ख्याका लागि लोक सेवा आयोगद्वारा लिइने उच्च प्रतिस्पर्धात्मक परीक्षामा सामेल हुनु पर्छ भने अस्थायी या करारमा राजनीतिक पहुँच र आर्थिक चलखेल हुने गरेको पाइन्छ । कर्मचारीको तलबभत्तालगायतका सेवा सुविधा वृद्धिको तुलनामा महँगीको वृद्धिदर उच्च भएका कारणले गर्दा स्वदेशमै रोजगारी प्राप्त गरेकाहरू पनि सन्तुष्ट हुन सकिरहेका छैनन् । तसर्थ उच्च दक्ष, दक्ष र अदक्ष जनशक्तिलाई वर्गीकरण गरी उनीहरूको योग्यता र क्षमता अनुसार तलबभत्तालगायतका सेवासुविधासहित आकर्षक रोजगारी व्यवस्था गर्न सरकारले यथाशीघ्र नीतिगत, संरचनागत र संस्थागत प्रयास गर्नुपर्ने देखिन्छ ।

उद्यमशीलता विकास

अहिले नेपालमा उद्योगधन्दा, कलकारखाना खोल्न त्यति सहज छैन, दर्ता गर्न विभिन्न निकाय धाउनुपर्ने बाध्यता छ । दर्तापश्चात् सञ्चालनमा ल्याउन पनि त्यति सहज छैन, दक्ष जनशक्ति अभाव, बजार अभाव, अस्पष्ट कानुनी व्यवस्थालगायतका कारणले गर्दा नव उद्यमीलाई निरुत्साहित बनाएको छ, एक किसिमले भन्ने हो भने मुलुकमा लगानीमैत्री वातावरण छैन । उद्यमशीलताको विकासका लागि युवालाई निःशुल्क सिपमूलक एवं व्यावसायिक तालिम दिने, बिनाझन्झट अनलाइनमार्फत सहजै निःशुल्क रूपमा कम्पनी दर्ता गर्न सकिने, कम्पनी दर्ता भएपश्चात्का सुरुवाती वर्षहरूमा कर छुट दिने, व्यावसायिक सम्भाव्यता र उत्पादनमा आधारित अनुदान दिने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने, निर्यातमा प्रोत्साहन दिनेलगायतका व्यवस्था सरकारले गर्न सक्नु पर्छ । उच्च सम्भावना रहेका कृषि, पर्यटनलगायतका उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सरकारले आवश्यक पूर्वाधारको विकास र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न पहल गर्नु पर्छ । नवप्रवर्तन र सूचना प्रविधिको क्षेत्रमा लगानीमैत्री वातावरण तयार गरिनु वाञ्छनीय छ ।

चुस्त सार्वजनिक सेवा 

युवा स्वदेशमा बस्न नखोज्नुको अर्को मुख्य कारण हो, यहाँको अव्यवस्थित सार्वजनिक सेवा प्रवाह । यहाँका अधिकांश सरकारी निकाय, विश्वविद्यालयदेखि सार्वजनिक संस्थानहरू यति भद्रगोल बन्दै गइरहेका छन्, तिनीहरूले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आमनागरिकले निकै दुःखकष्ट एवं सास्ती झेलिरहनुपरेको छ । प्रक्रियागत झन्झट, ढिलासुस्ती, अपारदर्शिता, जवाफदेहितामा कमी आदि कारणले गर्दा सार्वजनिक सेवा प्रवाह चुस्त बन्न सकेको छैन । तसर्थ कर्मचारीलाई इमानदार र जिम्मेवार बन्न अभिप्रेरित गर्दै सूचना प्रविधिको प्रयोगमार्फत बिनाझन्झट, छिटोछरितो, पारदर्शी एवं जबाफदेही तवरले चुस्त सार्वजनिक सेवा प्रवाह गरिनु पर्छ ।

पूर्वाधार विकास

युवालाई स्वदेशमा बस्न मन नलाग्नुको अर्को कारण हो– यहाँ पूर्वाधार विकासको गति अति सुस्त हुनु । वर्षौंदेखि जीर्ण बनेका सडक समयमै मर्मत सम्भार नहुनु, विभिन्न स्थानका पुलहरूको निर्माण अलपत्र पर्नु, विभिन्न जिल्लामा अस्पताल भवन निर्माण अलपत्र पर्नु, विद्यालय तथा क्याम्पस भवनहरूको मर्मत सम्भार एवं नवनिर्माण नहुनु, खानेपानी, सिँचाइ, बिजुली, सञ्चारलगायतका पूर्वाधार निर्माणले गति लिन नसक्नु आदि विषयले युवालाई निराश तुल्याएको छ । सडक एवं स्वास्थ्यका पूर्वाधार अभावले समयमै उपचार नपाई मृत्युवरण गर्नुपर्ने, सडक जामसँगै सास्ती खेप्दै सकसपूर्ण यात्रा गर्नुपर्ने, समयमै र सहजै सार्वजनिक सेवा लिन नसकिने र दैनिक जीवनयापन झन् झन् कष्टकर हुँदै जाँदा युवा स्वदेशमा बस्न निरुत्साहित छन् । तसर्थ युवालाई स्वदेशमा अड्याउन स्वास्थ्य, शिक्षालगायतका पूर्वाधार विकासलाई तीव्रता दिइनु पर्छ ।

आशावादी राजनीति

राजनीतिले नै मुलुकको आर्थिक र सामाजिक अवस्थालाई सबैभन्दा छिटो प्रभाव पार्दछ । विगतमा चरम अस्थिरता र उथलपुथलबाट गुज्रिएको नेपाली राजनीति अझै पनि अस्थिरताको भूमरीबाट बाहिर आउन सकेको छैन । पटक पटक संविधानको उल्लङ्घन गर्ने कार्य उच्च राजनीतिक नेतृत्वबाट भइरहेको छ । छिटोछिटो सरकार परिवर्तन हुने क्रम रोकिएको छैन । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाहरूबिचमा शक्ति सन्तुलन ठिक ढङ्गसँग हुन सकिरहेको छैन । अहिलेको निर्वाचन प्रणाली अनुसार तत्काल एउटै राजनीतिक दलले बहुमत ल्याएर स्थिर सरकार बनाउन सक्ने अवस्था छैन । प्रादेशिक सरकारहरूद्वारा मुलुकमा आर्थिक भार थपिएको छ तर कार्यसम्पादन सन्तोषजनक छैन । राजनीतिक नेतृत्वले युवामा आशा जगाउनु पर्छ । नेपाल र नेपालीको भविष्य देशभित्रै खोज्ने यत्न गरिनु पर्छ ।

स्वस्थ सामाजिक प्रतिस्पर्धा

नेपाली समाज अलि बहकिने र लहडी स्वभावको छ । एउटाले जे ग¥यो, अर्कोले त्यो पछ्याइहाल्ने, दीर्घकालीन परिणामभन्दा पनि अल्पकालीन परिणामलाई प्राथमिकता दिने र भिड जता धेरै छ, त्यतैतिर लागिहाल्ने प्रवृत्ति व्याप्त छ । नेपाली समाजको यस किसिमको स्वभावले पनि युवाको विदेश पलायनलाई प्रश्रय दिइरहेको छ । विदेश नगएसम्म उन्नति प्रगति गर्न सकिन्न भन्ने भाष्य स्थापित छ । स्वदेशमै रहेको परिवार र विदेशमा सदस्य रहेको परिवारबिचमा विभेदपूर्ण सामाजिक दृष्टिकोण राख्ने गरिएको छ । परिवारको आर्थिक अवस्थालाई मात्रै प्रतिष्ठासँग जोड्ने गरिएको छ । अतः युवा पलायन रोक्न हाम्रो समाजमा भइरहेको यस किसिमको अस्वस्थ प्रतिस्पर्धालाई साझा भविष्य खोज्ने अभियानमा बदल्नुपर्ने छ ।

पुनर्जागरण आवश्यक

युवाले स्वदेशमै सङ्घर्ष गर्नेभन्दा पनि विदेश जानुलाई सहज विकल्पका रूपमा लिनु परेको छ । विशेष गरी सन् १९८० को दशकको विश्वव्यापीकरणपश्चात् मुलुकले उदारीकरणको नीति अवलम्बन गरेसंँगै नेपालको आर्थिक, राजनीतिक एवं सामाजिक अवस्थाबाट असन्तोष हुँदै मुलुक छोड्ने युवाको सङ्ख्या उच्च छ । देशमा उपलब्ध स्रोतसाधनको उच्च सदुपयोगमार्फत कसरी हामी उत्पादन वृद्धि गर्न र रोजगारी सिर्जना गर्न सक्छौँ, कसरी हामी विभिन्न वस्तु तथा सेवा निर्यात गरी मुलुकलाई परनिर्भर हुनबाट बचाउन सक्छौँ, कसरी हामी नवीनतम प्रविधिलाई आत्मसात् गर्दै विकास निर्माणका कार्यलाई तीव्रता दिन सक्छौँ, कसरी हामी हाम्रो पारिवारिक सामाजिक एकता कायम गर्दै मौलिक संस्कार र संस्कृतिमा रम्न सक्छौँ भन्ने चेतको विकास युवावर्गमा हुन जरुरी छ ।

युवामा देशभक्तिपूर्ण भावना जागृत गराउन विद्यालयका पाठ्यक्रममा त्यस किसिमका विषयवस्तु राखिनु पर्छ, सरकारका नीति तथा कार्यक्रमहरू त्यस दिशातर्फ उन्मुख हुनु पर्छ, राजनीतिक दलहरूले त्यस किसिमका कार्यक्रम तथा अभियानलाई प्राथमिकता दिनु पर्छ साथै मिडियाले पनि देशभक्तिपूर्ण भावना जागृत गराउने खालका सामग्री अत्यधिक रूपमा प्रकाशन प्रसारण गर्नु पर्छ । युवा पलायनकै कारण निकट भविष्यमा मुलुकले सामना गर्नुपर्ने चुनौतीका चाङका बारेमा बेलैमा सचेत हुनु जरुरी छ । सरकार र सम्बद्ध निकाय गम्भीर भएन भने अझै बिदेसिने क्रम बढ्ने छ । युवालाई स्वदेशमै भविष्य खोज्न सक्षम बनाउन तत्काल राष्ट्रिय अभियान नै चाल्नुपर्ने छ । आशावादी र धरातलीय यथार्थका नीति, योजना र कार्यक्रमले युवालाई देशभित्रै भविष्य खोज्न अभिप्रेरित गर्ने छ ।

  

Author

रुद्रप्रसाद अधिकारी