काठमाडौं, असोज १५ गते । सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।
दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउने उद्देश्यका साथ असोज १७ गते बुधबार बस्ने समितिको बैठकमा मन्त्री ज्वालासहितका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो ।
दसैँ, तिहारजस्ता चाडपर्वमा काठमाडौँ उपत्यकाबाट घर जाने सबैलाई यातायातको उचित व्यवस्था गर्न र बाढी, पहिरोले तहसनहस बनाएका सबै सडकहरू पुनर्निर्माणको काम छिटो सम्पन्न गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँगै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति दीपकबहादुर सिंहले बताउनुभयो ।
सभापति सिंहले भन्नुभयो, ‘‘१७ गते हाम्रो समितिको बैठक बिहान ११ बजे पनि गर्ने भएको छ । त्यसमा पूर्वाधार मन्त्रालयका मन्त्रीज्यूलगायतलाई पनि यहाँ समितिमा उपस्थित हुन अनुरोध गर्दछु । त्यो जानकारी सचिवालयबाट मन्त्रालयमा जाने नै छ । अहिले दसैँ, तिहार, छठ पर्व भएको हुनाले यताबाट जाने राजमार्गहरू पहिरोले तहसनहस भएको छ । त्यसलाई चाँडो बनाउनका लागि र उपत्यकाबाट बाहिरी जिल्लाहरूमा लाखौँको सङ्ख्यामा जनताहरू आफ्नो घरघर जाने भएकाले त्यसको जने व्यवस्था, बसको टिकट, बस व्यवस्थापनका लागि अनुरोध गर्न सो मन्त्रीज्यूलाई पनि बोलाउन लागिएको हो ।’
समितिको बैठक असोज १७ गते बुधवार बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्री ज्वाला समक्ष समितिका सदस्यहरूले दसैँ, तिहारजस्ता चाडपर्वमा घर जाने यात्रुहरूका लागि आवश्यक यातायातको व्यवस्था गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउने पनि सो समितिले जनाएको छ ।