• १३ साउन २०८१, आइतबार

वन्यजन्तु संरक्षणमा जुटे स्थानीयवासी

blog

तराईकै ठूलो सिमसार क्षेत्र घोडाघोडी ताल । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), असोज १४ गते । पहिले खेतबारी, कुलो, बस्तीमा भेटिएका कछुवा, गोहोरो, गोही, जङ्गली हाँसलगायतका वन्यजन्तु सिकार गर्ने स्थानीय पछिल्लो समय संरक्षणमा जुटेका छन् ।

कैलालीको घोडाघोडी सिमसार वरपरका बस्ती, खेतबारीमा पुगेका गोही, कछुवालगायतका वन्यजन्तुलाई स्थानीयले उद्धार गर्दै सुरक्षित वासस्थान घोडाघोडी तालमा ल्याएर छाड्ने प्रचलन बढ्दैगएको छ ।

गत हप्ता घोडाघोडी नगरपालिका –४ मैतुवा गाउँमा सिमसार क्षेत्रमा पाइने जङ्गली हाँसका १० वटा बच्चा फेला परेका छन् ।  स्थानीय रमेश चौधरीले बच्चाहरूलाई छोपेर सुरक्षित रूपमा घोडाघोडी तालमा छाड्नुभयो । त्यसको भोलिपल्ट हाँसको माऊ समेत फेला पारेका चौधरीले माउलाई सिमसार क्षेत्रमा छाड्नुभयो । 


त्यसैगरी भदौ अन्तिम साता घोडाघोडी –१ कौवा गाउँको कुलोमा घडियाल गोहीको बच्चा फेला परेको छ । स्थानीयले देख्नेवित्तिकै सबडिभिजन वन कार्यालय  सुखडलाई खबर गरेका थिए । वन कर्मचारी ज्ञानु चौधरीको रोहवरमा स्थानीयले करिब १० केजी तौल भएको गोहीको बच्चालाई उद्धार गरी घोडाघोडी तालमा छाडियो ।

घोडाघोडी सिमसार क्षेत्रको महत्त्व बुझ्न थालेपछि केही बर्षयता स्थानीयले जङ्गली जीवजन्तुलाई मार्ने, खाने प्रचलन घट्दैगएको छ । आफ्नो गाउँ ठाउँमा देखिएका महत्त्वपूर्ण जीवजन्तुलाई सुरक्षित स्थानमा पुगाउन जागरूक भएको स्थानीयको भनाइ छ ।

घोडाघोडी तालक्षेत्र अवलोकनका लागि टिकट काट्ने कर्मचारी दीपक शाहका अनुसार साउनयता घोडाघोडी तालमा गोही, कछुवा, अजिङ्गर, हाँसका बच्चा ल्याई छाडिएको बताउनुभयो ।


उहाँले गोही र अजिङ्गरका बच्चा तालमा छोड्दा मुचुल्का बनाइ रोहबरमा छाड्ने गरिए पनि कछुवा, हाँसका बच्चा त्यतैकै छाड्ने गरिएको बताउनुभयो । शाहले गत साउन यता विभिन्न स्थानबाट उद्धार गरेर ६ वटा गोहीका बच्चा, १० वटा हाँसका बच्चा, एक वटा अजिङ्गर, ४ वटा कछुवा सुरक्षित वासस्थान घोडाघोडीमा छाडिएको बताउनुभयो ।

पहिले जनचेतना अभावले कछुवा, हाँस, गोहोरोलगायतका वन्यजन्तु भेटाएमा मारेर खाने स्थानीयहरू हिजोआज संरक्षण गर्नेगरेका छन् । मगर गोही, कछुवा, विभिन्न प्रजातिका चरालगायतले महत्त्वपूर्ण घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय जीवजन्तु बढेको भए पनि चरा बाहेक अन्य वन्यजन्तुको पछिल्लो सङ्ख्या अपडेट हुन सकेको छैन । 

कतिपय वन्यजन्तु आहाराको खोजीमा सिमसार क्षेत्रबाट खेतबारी, कुलो, बस्तीसम्म पुग्नेगरेको हुनसक्ने संरक्षणकर्मीको भनाइ छ । विश्व सिमसार क्षेत्र घोडाघोडी ताल जैविक विविधताले महत्त्वपूर्ण क्षेत्र हो । सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत भएयता सो क्षेत्रको जैविक विविधता संरक्षणका लागि स्थानीयलाई यसको महत्त्व बुझाउन थालिएपछि  जागरूक हुँदैगएको घोडाघोडी संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष हेमबहादुर बमले बताउनुभयो । 


वनजङ्गलकोबिचमा ताल र वनजङ्गलको चारैतिर बस्ती भएको ताल क्षेत्रमा विगतमा दिउँसै अवैध चोरी सिकार हुने गर्दथ्यो । चोरी सिकारी जैविक विविधता संरक्षणको मुख्य चुनौती थियो । तर केही वर्ष यता सरकार तथा विभिन्न संरक्षणको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले जैविक विविधताको महत्त्व स्थानीयलाई बुझाउन थालेपछि पछिल्लो समय संरक्षणका लागि स्थानीय सचेत हुन थालेको जनाएको छ ।