• ८ मंसिर २०८१, शनिबार

कारोबारको माध्यम क्युआर कोड

blog

साइकल पसल होस् वा ठूला व्यापारिक स्टोर, जताततै क्युआर कोडको प्रयोग बढेको छ । यदि तपार्ईंले स्मार्ट फोन बोक्नुहुन्छ र मोबाइल बैङ्किङका साथमा डिजिटल वालेट प्रयोग गर्नुहुन्छ भने पक्कै पनि क्युआर कोड स्क्यान गरेर अनलाइन भुक्तानी गर्नुभएको हुनु पर्छ । 

क्युआर कोड एक विशेष प्रकारको बार कोड हो । जसलाई विद्युतीय स्क्यानर उपकरण तथा मोबाइल एप्लिकेसनले स्क्यान गर्दा त्यसमा सङ्ग्रह गरिएका विवरण प्राप्त गर्न सकिन्छ । सानो चारपाटे बक्समा अनौठो आकृतिमा देखिने क्युआर कोड अहिले अनलाइन भुक्तानीका लागि अत्यावश्यक माध्यम जस्तै बनेको छ । 

सामान्यतया क्युआर कोडमा सात वटा भाग हुने गर्छन् । हरेक भागले ‘पिक्सेल प्याटर्न’ बनाउँछ । जुन कुनै अक्षर वा अङ्कजाल जस्तै देखिन्छन् । क्युआर कोडमा रहेका प्रत्येक सङ्केतको विशेष काम हुन्छ । जसले कोडमार्फत निश्चित जानकारी पुर्‍याउने काम गर्छ । क्युआर कोडको पूरा रूप ‘क्विक रेस्पोन्स  कोड’ हो । खासमा यसलाई बार कोडको उन्नत संस्करण भन्न सकिन्छ । यसले बारकोडभन्दा बढी जानकारी भण्डारण गर्न सक्छ । यसमा राखिएका सबै जानकारी विश्वसनीय र तीव्र गतिमा पहुँच हुने भएकाले अहिले हरेक वस्तु तथा सेवामा क्युआर कोडको प्रयोग भइरहेको छ । प्रयोगका आधारमा ‘डाइनामिक’ र ‘स्टाटिक’ गरी दुई प्रकारका क्युआर कोड प्रचलनमा रहेका छन् । 

क्युआर कोडको जन्म

भनिन्छ आवश्यकता नै आविष्कारको जननी हो । क्युआर कोडको जन्म पनि आवश्यकताले गर्दा विकास भएको थियो । सन् १९६० को दशकमा जापानमा आर्थिक वृद्धि उत्कर्षमा पुग्यो । त्यति बेला सुपर मार्केटका काउन्टरमा वस्तुको मूल्य हातैले लेख्नुपर्ने झन्झटका कारण काउन्टरमा बस्ने कर्मचारीहरू एकातिर वाक्क–दिक्क भएका थिए भने अर्कोतिर ती कर्मचारीमा स्वास्थ्य समस्यासमेत देखिन थालेको थियो । यही समस्याको समाधान गर्न जापानको कार निर्माता कम्पनी टोयोटा ग्रुपको सहायक कम्पनी डेन्सो वेभमा कार्यरत मासाहिरो हाराको नेतृत्वमा अर्का एक कर्मचारीले मिलेर पहिलो पटक सन् १९९४ मा क्युआर कोड प्रविधि प्रयोगमा ल्याएका थिए ।

यो प्रविधि पहिलो पटक अटोमोबाइल, फर्मास्युटिकल र रिटेल उद्योगमा इन्भेन्टरी ट्र्याक गर्न प्रयोग गरिएको थियो । त्यतिबेला नै धेरै कामका लागि उपयोगमा भएको क्युआर कोडमा उनीहरूले सङ्ख्या, वर्णका साथै जापानी वर्णमालाको खान्जी सङ्केतलाई समेत प्रयोग गरेका थिए । क्युआर कोडको सुरुवातमा टोयोटा ग्रुप र यसको सहायक कम्पनी डेन्सो वेभले आफ्ना उत्पादन मोटरकार तथा तिनका पुर्जाको व्यवस्थित पहिचान गर्न त्यसलाई प्रयोगमा ल्याए पनि विस्तारै यसको लोकप्रियता झाँगिँदै गयो । जापानका मोटरकार उत्पादक धेरै कम्पनीका साथै अन्य उत्पादनमूलक उद्योगले पनि क्युआर कोडको प्रयोग गर्न थाले ।

हाल यो नेपालमा समेत उल्लेख्य रूपमा प्रयोग भइरहेको छ । क्युआर कोडमा विभिन्न सामान तथा कम्पनीको सूचना र जानकारीका साथै आइटम पहिचान, ट्र्याकिङ, दस्ताबेज, लिङ्क, व्यक्तिगत जानकारी राख्ने लगायतका काम गरिन्छ ।


अचेल स्मार्ट फोन आम प्रयोगको साधन बनेको छ । जुनसुकै स्मार्ट फोनमा क्युआर कोड पढ्न स्क्यानरको सुविधा रहेका विभिन्न एप्लिकेसन निःशुल्क वा सःशुल्क डाउनलोड गर्न सकिन्छ । यसका लागि तपार्ईंले आफ्नो मोबाइलमा गुगल प्ले स्टोर, एप स्टोर वा थर्डपाटी वेबसाइटबाट क्युआर कोड रिडर एप्लिकेसन राख्न सक्नुहुन्छ । यसका साथै गुगलले आफ्नो क्रोम ब्राउजरलगातयका ब्राउजरले वेबसाइटका विभिन्न युआरएल तथा जुनसुकै सामग्रीलाई सजिलै क्युआर कोडमा परिवर्तन गर्न सक्ने फिचर ल्याएका छन् ।

एप्पल प्रयोगकर्ताका साथै नयाँ फिचर भएका स्मार्ट फोनमा अहिले क्यामरामै क्युआर कोड स्क्यानर रहेको पाइन्छ । यस्ता स्मार्ट फोनका प्रयोगकर्ताले सजिलै क्यामरा खोलेर क्युआर कोडमा फोकस गरेर सो वस्तु वा सेवाको सम्पूर्ण जानकारी एकै छिनमा देख्न र हेर्न सक्छन् ।

क्युआर कोडको प्रयोग कहाँ ?

अहिले पान पसलदेखि होटल, रेस्टुराँ, पसलमा भुक्तानी तथा सरकारी सूचना, जानकारी र अन्य सामग्रीमा सहजै पहुँच बनाउन सजिलो माध्यम बनेको छ क्युआर कोड । साथै विज्ञापन, हुलाक, सामान तथा फुड डेलिभरी, गुगल म्याप, पिडिएफ फाइल, वेबसाइटका लिङ्कलगायतका सूचना र जानकारी सङ्ग्रहमा यसको प्रयोग गरिन्छ ।

नेपालमा ‘क’ वर्गका धेरैजसो बैङ्क तथा वित्तीय संस्थाले क्युआर कोडको प्रयोग गरिसकेका छन्। यसको प्रयोग काठमाडौँमा नभई देशका अन्य स्थानमा समेत बढ्दो छ । एउटा क्युआर कोडले सात हजार ८९ डिजिट र चार हजार २९६ क्यारेक्टर स्टोर गर्न सक्छ ।

क्युआर कोडका फाइदा

विद्युतीय माध्यमबाट कारोबार हुने भएकाले यो निकै सहज, छरितो र विश्वसनीय माध्यम बनेको छ। अहिले नेपाललगायत विश्वका अधिकांश देशमा अर्बौं/खर्बौंसम्मको कारोबारको भुक्तानी क्युआर कोडबाटै हुन थालेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार एक रुपियाँको सिक्का छाप्न करिब २.५०, पाँच रुपियाँको नोट छाप्न १.६८, एक हजार रुपियाँको नोट छाप्न ३.३७ र पाँच सय रुपियाँको एउटा नोट छाप्न ४.६८ रुपियाँ लागत लाग्छ । क्युआर कोडको प्रयोगले नोट छाप्न लाग्ने खर्च बचत हुन्छ ।

क्युआर कोडले उपभोक्ता र सेवा प्रदायक दुवैको समय बचत गर्छ। यो प्रणालीको प्रयोगले केही सेकेन्डमै पैसाको सानोदेखि ठूलो रकमको कारोबार सहज र सुरक्षित रूपमा गर्न सकिन्छ । यसका साथै क्युआर कोडबाट हुने सबै कारोबार पारदर्शी हुन्छन्। तपाईंले गरेको सबै कारोबार रेकर्डमा रहन्छन्।

क्युआर कोडबाट साइबर खतरा

क्युआर कोडले जति सहज बनाएको छ अर्को पाटोबाट हेर्दा यसबाट साइबर खतरासमेत बढेको छ । गलत मनसाय भएका व्यक्ति तथा ह्याकरले क्युआर कोडको प्रयोग गरेर फिसिङ गर्ने गरेको पाइन्छ ।

यस्ता ह्याकरले सार्वजनिक स्थान, बस बिसौनी, एयरपोर्ट, होटल वा रेस्टुरेन्टका कोठा, कम्प्युटर स्क्रिन, सफ्टवेयर वा वेबसाइटमा क्युआर कोड छाडिदिएका हुन्छन् । यस्ता कोड स्क्यान गर्दा साइबर खतरामा पर्ने डर हुन्छ । जसलाई ‘क्युआरएल ज्याकिङ’ भनिन्छ ।

क्युआर स्क्यानबाट अर्को खतरा भनेको ‘क्युसिङ’ हो । सार्वजनिक रूपमा भौतिक तथा अभौतिक स्थानमा रहेका क्युआर कोड स्क्यान गर्दा प्रयोगकर्तालाई चर्चित वेबसाइटको नक्कली भर्सनमा लगिदिने जुन काम हुन्छ त्यसलाई ‘क्युसिङ’ भनिन्छ । प्रयोगकर्ताले आफूले लगइन गरेको वेबसाइट सक्कली नै हो भन्ने ठानेर आफ्नो लगइन आइडी हाल्न पुग्छ । त्यति नै बेला ह्याकरले प्रयोगकर्ताको गोप्य जानकारी चोर्छन् ।

अर्को खतरा भनेको अहिले सार्वजनिक स्थानमा वाइफाईका लागि निःशुल्क वाइफाई हटस्पट चलाउन क्युआर कोड स्क्यान गर्न लगाउने चलन छ । यस्तो गर्दा ह्याकरले राखेको क्युआर कोड स्क्यान गर्न पुग्दा वा वाइफाई चलाउन पुग्दा उनीहरूले प्रयोगकर्ताको मोबाइल डिभाइसमा रहेका बैङ्क, वालेट, सामाजिक सञ्जाललगायतका पासवर्ड, विवरण तथा गोप्य सूचना चोर्न सक्छन् ।