• १८ साउन २०८२, आइतबार

पुनः थपियो नारायणघाट–बुटबल सडक आयोजनाको म्याद

blog

नारायणघाट–बुटबल सडक खण्डमा चलेका गाडीहरू । तस्बिरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, साउन १८ गते । नारायणघाट–बुटवल सडक विस्तारका लागि सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिको म्याद चौथो पटक थप गरेको छ । 

यो सडक विस्तारको काम सम्पन्न गर्न थप एक वर्षको समय थप गरिएको हो । आयोजना निर्देशनालयको पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वीखण्ड गैंडाकोटदेखि दाउन्नेसम्मको म्याद आगामी २०८३ साउन ७ गते र पश्चिम खण्ड दाउन्नेदेखि बुटवलसम्मको म्याद २०८३ साउन ५ सम्म थपिएको हो । 

निर्माण कम्पनीले डेढ वर्षको समय मागेको भए पनि एक वर्ष थप्दा ९० प्रतिशत काम सक्ने सहमति गरेपछि म्याद थपिएको हो । आयोजनाको तेस्रो पटक थपिएको म्याद साउन ८ गते सकिएको थियोे । तर म्याद थपका लागि विभागबाट स्वीकृति लिनु पर्ने भएकाले प्रक्रिया पूरा गर्दा आज मात्र म्याद थपको पत्र थमाइएको इन्जिनियर खनालले बताउनुभयो । 

तेस्रो पटक थपिएको म्याद सकिँदासम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत रहेको ठेकेदार कम्पनीका इन्जिनियर राकेश झाले बताउनुभयो । निर्माण कम्पनीले एक सय १३ किलोमिटर सडक निर्माणको काम सजिलो होस भनेर दुई खण्डमा बाँडेर काम गरिरहेको छ । 

जसमध्ये असार मसान्तसम्म एकतर्फी एक सय किलोमिटर सडक कालोपत्रे भएको झाले बताउनुभयो । उहाँका अनुसार दुवैतर्फ भने ८० किलोमिटर सडक मात्र कालोपत्रे भएको छ ।

आयोजनाको सबैभन्दा कठिन मानिएको दाउन्नेमा सडक ढलानको काम धमाधम गरिरहेको जनाएको छ । गत दुई सातादेखि ठुलो पानी नपरेकाले राजमार्ग ढलानको कामले तीव्रता लिएको उहाँको भनाइ छ । अब पूर्वीखण्डमा ४ किलोमिटर र पश्चिमखण्डमा ३ किलोमिटर ढलान गर्ने तयारी गरिएको छ । 

अहिले पूर्वी खण्डमा ८ सय मिटर र पश्चिम खण्डमा १.३ किलोमिटर ढलान भइसकेको छ । ठाडो उकालो भएका कारण ढलान सडक टिकाउ हुने भएकाले यस क्षेत्रमा प्राथमिकताका साथ ढलान सडक निर्माण भइरहेको इन्जिनियर खनालले बताउनुभयो । दाउन्ने खण्डमा पर्ने करिब १४ किलोमिटर सडकमध्ये पश्चिमतर्फ करिब ३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । 

दाउन्नेमा आउँदो दसैँअघि नै राजमार्ग कालोपत्रे भइसक्ने गरी काम हुने आयोजना निर्देशनालयले जनाएको छ । नारायणघाटदेखि बुटबलसम्मको बजार क्षेत्रमा ६ लेन, जंगलमा ४ लेन र दाउन्नेमा ३ लेनको सडक विस्तार गर्ने गरी १७ अर्ब रुपियाँमा चिनियाँ ठेकेदार कम्पनीले ठेक्का लिएको हो ।