• १८ साउन २०८२, आइतबार

गाउँ फर्कियो चलचित्र

blog

गाउँमा के मात्र छैन ? बाटो, विकास, बिजुली, इन्टरनेट र आधुनिकता सबै छ । चलचित्रकर्मीलाई यही प्रश्न सोध्दा उनीहरू थप्छन् ‘कथा’ र ‘चलचित्र’ पनि छ । बाटोसँगै विकासले गाउँको मुहार फेरिरहँदा पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणका नेपाली गाउँमा चलचित्रकर्मीको उपस्थिति पनि यतिबेला बाक्लै छ । 

कुनै समयमा शहरमा छ्यापछ्याप्ती देखिने चलचित्रकर्मी यतिबेला ठीकविपरीत गाउँमा भेटिन्छन् । जोकोहीले गाउँमा चलचित्रकर्मीलाई भेटे भने गाउँमा चलचित्रको काम भइरहेको छ अथवा हुँदै छ भनेर सहजै अनुमान लगाउँछन् । 

नेपाली चलचित्रले सुरुवातदेखि अन्त्यसम्म नै ग्रामीण परिवेश र कथालाई प्राथमिकता दिन थालेको चानचुन डेढ दशक मात्र भएको छ । ११ वर्षअघि रिलिज भएको चलचित्र ‘कबड्डी’ पछि अधिकांश चलचित्रकर्मीले ग्रामीण कथालाई चलचित्रमा स्थान दिए । ‘कबड्डी’ शृङ्खला, ‘छक्का शन्जा’ शृङ्खला, ‘जारी’, ‘झिँगे दाउ’, ‘नाङ्गो गाउँ’, ‘पुजार सार्की’, ‘घरज्वाइँ’, ‘पूर्णबहादुरको सारङ्गी’, ‘ऊनको स्वेटर’ लगायतका चलचित्रले गाउँकै कथालाई उठान गर्दै कथा गाउँमै टुङ्ग्याएका छन् ।

ग्रामीण परिवेशमा बाबुछोराको कथा बुनिएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले स्वदेशी बक्सअफिसमा ४८ करोडभन्दा बढीको कुल व्यापार गरेर सर्वकालीन ब्लकबस्टर चलचित्रको रेकर्ड नै बनायो । यो चलचित्रले प्रदर्शनको सयौँ दिन नै मनाएको थियो । यो चलचित्रको व्यापारको रेकर्डलाई तोड्न कुनै चलचित्रलाई केही वर्ष पर्खनै पर्ने हुन्छ ।

गाउँकै कथा किन ?

नेपाली चलचित्रको कथामा ‘अग्र्यानिक’ अथवा ‘मौलिकपन’ भएन भन्ने चलचित्रकर्मीको गुनासो पुरानै हो । चलचित्रको प्रिमियर, चलचित्रकर्मीको भेला, अन्तर्क्रिया अथवा भेटघाट नै किन नहोस् जहाँ पनि नेपाली चलचित्रको कथा राम्रो भएन भन्ने चर्चा चलिरहन्छ । यो गुनासोलाई मेट्न पछिल्ला दशकमा चलचित्रकर्मीको ध्यान गाउँतिर मोडिएको छ । कथा खोज्न होस् वा लोकेसन रोज्न, गाउँमा उनीहरूको आउजाउ बाक्लिएको छ ।

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का कथाकार तथा निर्देशक सरोज पौडेल शहरमा बस्ने ९० प्रतिशत मानिसको पृष्ठभूमि गाउँ नै रहेकाले चलचित्रले गाउँको कथा खोज्ने गरेको बताउँछन् । 

“पहिलेका चलचित्र गाउँबाट सुरु भएर शहरमा टुङ्गिन्थे तर पछिल्ला दशकका चलचित्रको कथा गाउँबाटै सुरु हुन्छन्, गाउँमै सकिन्छन् । जसले गर्दा ती कथाले दर्शकलाई प्रत्यक्ष छुन्छ ।” निर्देशक पौडेल भन्छन्, “गाउँको कथा देखाउँदा दर्शकले आत्मीयता अनुभव गर्छन् । जसको फाइदा चलचित्रको व्यापारमा हुने गर्छ । त्यसकारण पनि चलचित्रकर्मीको ध्यान गाउँतिर नै सोझिएको छ ।”

निर्देशक पौडेल यतिबेला आफ्नै चलचित्र ‘कोसेढुङ्गा’ को काममा व्यस्त छन् । यो चलचित्रले पनि गाउँकै कथा बोल्छ । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ अघि ‘वेलकम टु हेम्जाकोट’ बाट चलचित्र निर्देशन सुरु गरेका पौडेलले यो चलचित्रको कथा पनि गाउँले परिवेशमै बुनेका थिए ।

पाँचथर र इलामको सेरोफेरोमा रहेर निर्माण गरिएको चलचित्र ‘ऊनको स्वेटर’ यो वर्षको सफल चलचित्रमा गनिन्छ । चलचित्रले असार १४ गते प्रदर्शनको ५१ औँ दिन मनाएको थियो । चलचित्रले हालसम्म झन्डै साढे १२ करोडमाथिको ग्रस कलेक्सन गरिसकेको छ । 

यो चलचित्रका लेखक तथा निर्देशक नवीन चौहान एउटा चलचित्रका लागि गाउँ मात्र नभई त्यहाँभित्र रहेको संस्कार र संस्कृति पनि महìवपूर्ण हुने बताउँछन् । “शहरकेन्द्रित चलचित्रले दर्शकलाई दिक्क बनाइरहँदा गाउँमा बनेका चलचित्रले उनीहरूलाई मुड फ्रेस बनाइदिएको छ । प्रायः नेपाली गाउँमै जन्मिएका छन् । त्यस कारण त्यहाँको कथालाई देखाउँदा दर्शकलाई छुन्छ ।” नवीन भन्छन्, “चलचित्रमा कथा त्यही हो तर २०–२५ वर्षसम्म हुर्केको, घुमेको परिवेशलाई कथात्मक रूपमा प्रस्तुत गर्दा त्यसले दर्शकलाई ‘रिफ्लेक्ट’ गर्दो रहेछ ।”

नवीनको बुझाइमा शहरमा जन्मिएर हुर्किएका दर्शक पुस्ता कुनै न कुनै रूपमा आफूलाई गाउँसँग नजिक बनाउन चाहन्छन् । त्यो नजिक्याउने माध्यम अहिलेका लागि चलचित्र नै रहेको उनी दाबी गर्छन् ।

एउटा चलचित्रको सफलतामा त्यसको कथा प्रत्यक्ष जोडिन्छ । कथाले नै दर्शकलाई हँसाउँछ, रुवाउँछ, गम्भीर बनाउँछ र आक्रोश दिन्छ । लेखक सामीप्यराज तिमल्सेना झन्डै डेढ दशकभन्दा बढी समयदेखि चलचित्र लेखनमा सक्रिय छन् । चलचित्र समीक्षक समाजका अध्यक्ष तिमल्सेना आममानिसलाई चलचित्र ‘कबड्डी’ पछि गाउँको सम्झनाले सताउन थालेको देखिएको बताउँछन् । 

“गाउँको बेसमा चलचित्र चाहिँ बनिरहेको हो तर एक दुईवटा चलचित्रको सफलताले चलचित्रकर्मीले यही फर्मुलालाई नै अघि सारेर गाउँको कथामा चलचित्र बनाउने क्रम सुरु भएको छ । त्यसो हुँदाहुँदै गाउँको कथा छ भन्दैमा हलमा दर्शकको भीड लागेको भन्ने उदाहरण कम छ ।” 


लेखक तिमल्सेना गाउँतिर चलचित्रकर्मीको ध्यान बढी जानुमा उनीहरूको अनुसन्धानलाई प्रमुख कारक मान्छन् । “चलचित्रकर्मीले दर्शकको रुचि केमा छ भनेर अनुसन्धान गरेर चलचित्र बनाउने हो । अहिलेको हिसाबले जुनजुन चलचित्र सफल भएका छन् तिनको परिवेश गाउँ भएकाले चलचित्रकर्मीलाई मैले पनि त्यही परिवेशमा चलचित्र बनाएँ भने चाहिँ सफल भइन्छ कि भन्ने विश्वास जागेको छ,” उनको भनाइ छ 

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेल गाउँको कथामा दर्शक झुम्मिनुलाई ‘जुन कुराबाट आफू टाढा भइन्छ, त्यसको माया धेरै लाग्ने’ अर्थमा बुझ्न आग्रह गर्छन् । “गाउँको चलचित्र हेरिरहँदा दर्शक विगतमा फर्किन्छन् । चलचित्रले कथा भनिरहँदा उनीहरू विगत सम्झेर हाँस्ने, रुने, पछुताउने, गम्भीर बन्ने गर्छन् ।”  उनी भन्छन्, “अधिकांश युवा विदेश गए, शहर पसे । हलमा चलचित्र हेर्न जाने अधिकांश युवापुस्ता नै हुन् । चलचित्रमा गाउँको कथा देखिएपछि उनीहरूले नै थप दर्शक हलमा तान्न मध्यस्थकर्ताको भूमिका निर्वाह गर्छन् ।”

पौडेल सेभेन सिज सिनेमाका सञ्चालक पनि हुन् । सेभेन सिज सिनेमाले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनसँगै प्रवर्धन पनि गर्दै आएको छ । उनी विशेषतः विदेशी भूमिका नेपाली गाउँका कथा बढी बिक्ने गरेको स्वीकार्छन् । “विदेशमा बस्ने नेपालीलाई गाउँले परिवेशको चलचित्रले छिट्टै छुन्छ । किनकि उनीहरू घर र आफ्नो देशदेखि टाढा हुन्छन् । विदेशमा चलचित्र देखाउँदा दर्शकले चलचित्रको कथावस्तुमा निकै चासो राख्छन्,” पौडेल भन्छन् ।

निर्माण भएको चलचित्रलाई थिएटर अथवा हलमा पु¥याउने काम वितरकको हुन्छ । हलमा पुगेपछि मात्र दर्शकले चलचित्र हेर्न पाउँछन् । सामान्यतयाः चलचित्र हल वा थिएटरमा प्रदर्शन भएपछि मात्र डिजिटल प्लेटफर्ममा आउने चलन छ । अपवादका रूपमा केही चलचित्रकर्मीले मात्र सिधै डिजिटल प्लेटफर्ममा रिलिज गर्छन् ।

लामो समयदेखि चलचित्र वितरणमा सक्रिय रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठ ‘क्रेजी’ गाउँ र शहरको भन्दा पनि कुन चलचित्रले दर्शकसँग रिलेट गर्छ भन्ने कुरामा भर पर्ने बताउँछन् । “हिजोको समयदेखि नै नेपालीले आफ्नो माटोलाई माया गर्दै आइरहेका छन् । त्यसकारण पनि उनीहरूलाई गाउँको कथाप्रति मोह र लोभ छ ।” उनी भन्छन, “सरकारले चलचित्रका लागि स्टुडियो बनाउन सकिरहेको छैन । अझ भनौँ राज्यबाट सहयोग नै छैन । सेट लगाएर सुटिङ गर्न सकिन्छ तर त्यो सबै ठाउँमा सम्भव छैन । त्यस कारण प्रकृतिले दिएको स्टुडियो भनेको नेपालका गाउँ नै हुन् । त्यही कुरालाई देखाउन निर्माता चाहन्छन् ।

छिटो काम, सस्तो बजेट

चलचित्रकर्मीको अनुभवमा शहरभन्दा गाउँमा चलचित्रको छायाङ्कन गर्न बजेटको हिसाबले केही सस्तो पर्छ । गाउँकै स्थानीय स्रोतसाधन बढी प्रयोग गर्नुपर्ने भएकाले पनि शहरको तुलनामा गाउँमा बजेट निकै कम पर्छ । 

लेखक तथा समीक्षक तिमल्सेना सेड्युल र सुटिङका हिसाबले गाउँमा सस्तो हुने बताउँछन् । 

उनी गाउँमा चलचित्र निर्माणको क्रम बढ्दा स्थानीयस्तरमा रोजगारीको अवसर हुने गरेको बताउँछन् । “चलचित्र क्षेत्र एउटा यस्तो क्षेत्र हो जहाँ एउटा चलचित्र निर्माण हुँदा धेरै जनशक्तिले रोजगारी पाउँछन् । किनभने यसको विभाग नै धेरै हुन्छ । गाउँमा सुटिङ हुँदा त्यहाँको स्थानीय स्रोतसाधन पनि प्रयोग हुन्छन्, जसकारण गाउँ लाभान्वित हुन्छ । रिलिजसम्म आइपुग्दा भिन्न भिन्न सरोकारवाला निकाय जोडिनुपर्ने हुँदा अरू मान्छेलाई पनि फाइदा पुग्छ,” उनको बुझाइ छ ।

निर्माता पौडेल पनि तिमल्सेनाको कुरामा सहमत छन् । उनी भन्छन्, “गाउँमा सुटिङ हुँदा शहरको भन्दा धेरै कम प्रतिशत बजेटमा काम गर्न सकिन्छ । खाने, बस्ने, लोकेसन, स्थानीय स्रोतसाधन पनि सस्तो मूल्यका पाइन्छन् । कलाकारदेखि प्राविधिक सबैजना एउटै लोकेसनमा बस्ने भएकाले पनि काममा जुट्न समय लाग्दैन ।” 

कहिलेसम्म गाउँको कथा ?

नेपाली चलचित्रको ट्रेन्ड समय समयमा परिवर्तन भइरहन्छ । एकै किसिमका चलचित्र हेरिरहेका दर्शक नयाँ स्वाद अथवा नयाँ परिवेश र कथाका चलचित्र हेर्न रुचाउँछन् । 

लेखक तथा समीक्षक तिमल्सेना समयसँगै चलचित्रको ट्रेन्ड परिवर्तन हुने बताउँछन् । उनको भनाइ छ, “दर्शकको रुचि परिवर्तन भइरहन्छ । दर्शकले २०४६ सालदेखि २०५६ सालसम्म राजेश हमालकै अभिनय रहेको कथाका चलचित्र हेरिरहेका थिए तर त्यो गाउँको कथामा हमालले जुन किसिमले अभिनय गरिरहेका थिए, त्योबाट दर्शक भड्किएपछि चलचित्र ‘लुट’ बाट शहरकेन्द्रित कथामा चलचित्र बन्न सुरु भयो ।”  

निर्माता विनोद पौडेल गाउँको कथालाई ब्रान्ड बनाउन सकेमा यसले लामो समयसम्म स्थान लिने बताउँछन् । “गाउँ मात्र भनेर भएन त्यहाँको कथालाई हामीले ब्रान्ड बनाउन सक्नु पर्छ । ब्रान्ड बनाएर त्यसलाई बेच्न सकियो भने मात्र स्थायित्व हुन्छ,” पौडेल भन्छन् । 

वितरक करण हिजोको दिनमा १६ एमएमको नेगेटिभमा गाउँको कथामा चलचित्र बनाएर भुवन केसीलगायतका पुस्ता शहरमा आएको स्मरण गर्छन् । 

उनले यसलाई यसरी प्रस्ट्याए, “समय अनुसार चलचित्र क्षेत्र आफैँ परिवर्तन हुँदै गयो । चलचित्र आफैँले आफ्नो आयु कहिलेसम्म भन्ने तय गर्दो रहेछ । हामीले चलचित्रको इतिहासलाई पल्टाएर हेर्ने हो भने चलचित्रले आफैँ पनि कुन बाटोमा कहिलेसम्म जाने भन्ने समय निर्धारण गर्दो रहेछ ।” 


 –युवामञ्च  
Author

नेमिष गौतम