ज्येष्ठ नागरिक प्रत्येक घरका गहना हुन् । ती देवतुल्य पूजिन योग्य छन् । विश्वमै ज्येष्ठ नागरिकको सङ्ख्या वृद्धि हुँदै गएको छ । नेपालमा पनि यो सङ्ख्या बर्सेनि बढ्दो छ । स्वास्थ्य सेवामा भएको सुधार, आमजनताको खानपिन र परिवारको हेरचाहका कारण ज्येष्ठ नागरिकको सङ्ख्या वृद्धि भएको हो । यसर्थ, यी ज्येष्ठ नागरिकको ओठमा सधैँ मुस्कान रहने गरी हामी सबैले आआफ्नो स्थानबाट विशेष पहल गर्नु पर्छ ।
केही अध्ययनले ज्येष्ठ नागरिकहरू सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षालगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवा सुविधाबाट वञ्चित रहेको पाइएको छ । यथार्थमा ज्येष्ठ नागरिकहरू अन्य समूहको तुलनामा पीडित, कुण्ठित र दयनीय अवस्थामा गुज्रिएको पाइएको छ । यसमा ज्येष्ठ नागरिकको रेखदेख र सहयोग गर्ने व्यक्तिहरूको अभाव घरभित्रै पनि खड्किदो छ भने भएकाहरूमा पनि वृद्धावस्था व्यवस्थापनको सिप एवं अनुभवको अभाव छ । गाउँबाट सहर, सहरबाट विदेशमा हुँदै बसाइँसराइ र बढ्दो वैदेशिक रोजगारीका कारण ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषणमा चुनौती थपिँदै गएको अध्ययनहरूले देखाएको छ । यसर्थ स्कुल र कलेजको पाठ्यक्रममा ज्येष्ठ नागरिकलाई गर्ने सेवासहित पाको उमेरमा जीवन जीउन कलाको ज्ञान र सिप प्रदान गर्न नितान्त जरुरी भएको छ ।
चालु पन्ध्राै पञ्चवर्षिय योजनामा ज्येष्ठ नागरिकको हकहितका पक्षमा रणनीतिहरू जारी भएका छन् । यस अनुसार कार्ययोजना निर्माण गरी आवश्यक स्रोत परिचालन गर्न तीनै तहका सरकारहरू क्रियाशील हुनु पर्छ । ज्येष्ठ नागरिकको बहुमूल्य ज्ञान, सिप र अनुभवलाई समग्र समाज र राष्ट्रको हितमा समुचित ढङ्गले परिचालन गर्न शैक्षिक संस्था र स्थानीय सङ्घ संस्थाहरूले इमानदार प्रयास गर्नु पर्छ । आम सचेतीकरण, संवाद र सहकार्यमार्फत अन्तरपुस्ताबिचको दूरी कम गरी ज्येष्ठ नागरिकलाई आफ्नो परिवारमा खुसीपूर्वक बस्ने वातावरण सिर्जना गर्नु हाम्रो कर्तव्य हो ।
ज्येष्ठ नागरिकका लागि आवश्यक सामग्री र जानकारी दिने कामलाई उच्च प्राथमिकीकरण गर्नु पर्छ । ज्येष्ठ नागरिकको संरक्षण र संवर्धन गर्दै ज्येष्ठ नागरिक संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्छ । ज्येष्ठ नागरिक स्याहारकर्ता तालिम हरेक टोल टोलमा सञ्चालन गर्नु पर्छ । ज्येष्ठ नागरिकलाई आर्थिक सुरक्षाका साथै आत्मनिर्भरताका लागि ज्येष्ठ नागरिकको क्षमता अनुसार सिपमूलक तालिम र आवश्यक ज्ञान एवं बिउ पुँजी दिनु पर्छ । ज्येष्ठ नागरिकसम्बन्धी समग्र सूचना एवं तथ्याङ्क सङ्कलन एवं व्यवस्थित गर्न हरेक स्थानीय तहमा स्रोत केन्द्रको स्थापना गर्नु पर्छ । आमज्येष्ठ नागरिकको प्रोफाइल तयार गरी उनीहरूको क्षमता अनुसार राष्ट्र निर्माणमा उपयोग गर्नुका साथै स्कुल र कलेजमा प्राध्यापनको मौका दिनु पर्छ । ज्येष्ठ नागरिकको अधिकार संरक्षणका लागि स्थानीय तहहरूले विशेष अभियान सञ्चालन गर्नु पर्छ । ज्येष्ठ नागरिकको हक अधिकार संरक्षणका लागि कानुनी व्यवस्था गर्नु पर्छ ।
हाल नेपाल सरकारद्वारा प्रदान गरिँदै आएको मासिक रु. चार हजारको भत्तालाई आगामी वर्ष रु. पाँच हजार पु-याउनु पर्छ । आगामी दिनमा यो रकमलाई ६८ देखि ७९ वर्षकालाई मासिक रु. पाँच हजार, ८० देखि ८९ वर्षकालाई मासिक रु. १० हजार, ९० देखि ९९ वर्षका लागि रु. २५ हजार र सो माथिकालाई मासिक रु. ५० हजार दिने गरी वर्गीकरण गर्दा राज्यलाई ठुलो भार पर्ने देखिन्न । कारण जत्ति उमेर पाको हुँदै जान्छ, उत्ति नै स्याहार खर्च बढेर जान्छ ।
हाल मुलुकमा सञ्चालित वृद्धाश्रम तथा दिवासेवा केन्द्रहरूलाई स्तरोन्नति गर्नु पर्छ । सातैवटा प्रदेश र सबै ७५३ पालिकाले वृद्धाश्रम निर्माण गरी निशुल्क सञ्चालन गर्नु पर्छ । यसमा पालिकाबिच सहकार्य हुन सक्छ । साथै जेष्ठ नागरिक मिलन केन्द्र, जेष्ठ नागरिक चौतारो वा जेष्ठ नागरिक आरोग्य आश्रम सञ्चालनमा ल्याउनु पर्छ । ज्येष्ठ नागरिकलाई मनोरञ्जन एवं शारीरिक योगा तथा व्यायाम गर्नका लागि ज्येष्ठ नागरिक वाटिका÷पार्कको स्थापना गर्न तीनै तहका सरकार सक्रिय हुनु पर्छ । मूल कुरो, ज्येष्ठ नागरिकको ज्ञान र सिपलाई वर्तमान पुस्तामा हस्तान्तरण गर्ने वातावरण निर्माण गर्नु पर्छ ।
उमेर पाको भएपछि स्वास्थ्यमा समस्या देखापर्नु स्वाभाविकै हो । यसर्थ प्रत्येक अस्पतालमा जेष्ठ नागरिकको उपचारको विज्ञ चिकित्सक र उपकरणसहित जेरियार्टिक वार्ड खडा गर्नु पर्छ । ज्येष्ठ नागरिकका लागि आवश्यक मल्टिभिटामिन र क्याल्सियम नियमित रूपमा वितरण गर्नु पर्छ । ज्येष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा दिने र छुटमा एयर एम्बुलेन्स सेवा दिने प्रबन्ध गर्न नितान्त जरुरी छ ।
हाल सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई केहि छुटको व्यवस्था छ । यस्मा सुधार गरी बस, ट्याक्सी, हवाई जहाजलगायतमा ज्येष्ठ नागरिकलाई कम्तीमा ५० प्रतिशत छुट दिनु पर्छ । यसै गरी, जेष्ठ नागरिकलाई घरजग्गा खरिदमा पनि राजस्व छुट दिनु पर्छ । यस अतिरिक्त निक्षेपमा बैङ्कले केही बढी ब्याज दिने र बिमाको प्रिमियममा केही छुट दिने प्रबन्ध गर्नु पर्छ ।
कुनै ज्येष्ठ नागरिक आफैँले उद्योग सञ्चालन गर्ने वा व्यापार गर्ने भए आयकरमा विशेष छुट दिनु पर्छ । ज्येष्ठ नागरिक आफैँले कुनै व्यवसाय गर्ने भए रु. पाँच लाखसम्मको निब्र्याजी ऋण उपलब्ध गराउनु पर्छ । साथै जेष्ठ नागरिक उत्थान कार्यक्रम घोषणा गरी निश्चित व्यवसायका लागि तालिम र बिउ पँुजी दिने प्रबन्ध गर्नु पर्छ । यस अतिरिक्त मुलुकभरिका जेष्ठ नागरिकमध्ये उत्कृष्ट काम गर्ने वा योगदान गर्नेलाई राष्ट्रियस्तरमा पुरस्कार दिने प्रबन्ध गर्नु पर्छ ।
केही घर परिवार र टोल छिमेकमा ज्येष्ठ नागरिक माथि दुव्र्यवहार हुने गरेको छ । ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध आवश्यक कानुनी सल्लाह तथा परामर्श दिन हेल्प लाइन स्थापना गर्नुका साथै ज्येष्ठ नागरिक माथि हुने दुव्र्यवहारलाई दण्डनीय तुल्याउनु पर्छ ।
विभिन्न अध्ययनले प्रत्येक आमा बुबाले आफ्नो कमाइको दुई तिहाई भन्दा बढी अंश केटाकेटीमाथि खर्च गर्ने गरेको पाइएको छ तर यसरी केटाकेटीमाथि गरिएको लगानीको प्रतिफल भने लगभग उमेर पाको हुँदा निकै कमले मात्रै पाएको अवस्था छ । छोरा छोरीको मासिक कमाइको आमा बुवाको आवश्यकता अनुसार १० देखि २५ प्रतिशत आमा बुवाले पाउने कानुनी व्यवस्था गर्नु पर्छ । प्रस्तुत सन्दर्भमा ज्येष्ठ नागरिकको सम्पत्ति ट्रष्टमा राख्ने कानुनी व्यवस्था पनि गर्न सकिन्छ ।
हाल केही पालिकाले ज्येष्ठ नागरिकलाई केही सुविधा प्रदान गरेका छन् । यस क्रममा कसैले परिचयपत्र वितरण गरेका छन् भने यावत् खालका सेवा सुविधा दिने प्रवृत्ति बढिरहेको छ तर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा समावेश भएका प्रावधानहरूको अक्षरशः कार्यान्वयन गर्न पालिकाहरू अझै पनि पछाडि परेका छन् ।
नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने उल्लेख गरिएको छ । हाल मुलुकमा सङ्घीय शासन प्रणाली लागु भएको छ । तीनै तहका सरकारको ज्येष्ठ नागरिकप्रतिको कर्तव्य एवं दायित्वलाई प्रस्ट पार्नु पर्छ । जस अनुसार सङ्घीय सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ताको विनियोजन र ज्येष्ठ नागरिकसम्बन्धी राष्ट्रिय नीति निर्माण गरी लागु गर्नु पर्छ । प्रदेश सरकारले प्रदेशस्तरीय अस्पतालमा जेरियार्टिक वार्ड खडा गर्नु पर्छ । ज्येष्ठ नागरिकको हितमा पूर्वाधार निर्माणसहित पालिकासँग समन्वय गर्नु पर्छ । यसै गरी स्थानीय सरकारहरूले ज्येष्ठ नागरिकको मासिक भत्ता वितरण गर्नुका साथै पालिककाको कुल बजेटको निश्चित प्रतिशत रकम ज्येष्ठ नागरिकको हितमा विनियोजन गरी रचनात्मक काम गर्नु पर्छ ।
अन्त्यमा, मातृ देवो भवः पितृ देवो भवः अर्थात् माता पिता प्रत्येक घरका देवता हुन्, तिनलाई सम्मान गर्नु पर्छ । नेपालीमा उखान छ, आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाबुढीको । यसर्थ, हामीले ज्येष्ठ नागरिकको अर्ती, उपदेश, सरसल्लाह लिनु पर्छ । ज्ञान, अनुभव र व्यहारले खारिएका ज्येष्ठ नागरिकबाट राज्य प्रणालीले लाभ लिने रणनीति निर्माण गरी तीनै तहका सरकारहरू अघि बढ्नु पर्छ ।