• ९ मंसिर २०८१, आइतबार

तनहुँको शिव माध्यामिक विद्यालयमा शुक्रबार 'बुक फ्रि डे'

blog

‘बुक फ्रि डे फ्राइडे’ सञ्चालन गरिएको शिव माध्यमिक विद्यालय र विद्यार्थीहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असोज १२ गते ।
तनहुँको व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयले हरेक शुक्रबार बिना किताब विद्यालय आउने व्यवस्था गरेको छ । विगतको परम्परागत पढाइभन्दा ‘बुक फ्रि डे फ्राइडे’ अर्थात् शुक्रबार सीप सिक्न विद्यार्थीलाई यो व्यवस्था गरिएको हो ।

विद्यालयले शुक्रबार एक कार्यक्रम गरी ‘बुक फ्रि डे फ्राइडे’ कार्यक्रमको सुरु गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो अवसरमा अध्यक्ष रिजालले  अतिरिक्त क्रियाकलाप सञ्चालन गरी जीवनाेपयोगी शिक्षा प्रदान गर्नका लागि विद्यालयले यस कार्यक्रम सुरुवात गरेको बताउनुभयो ।

विद्यार्थी, अभिभावक र शिक्षकबीच एक अर्काले जानेको जीवनाेपयोगी सीप सिकाउने यो कार्यक्रम सुरु गरिएको उहाँको भनाइ छ । शुक्रबार हुने चार विषयअन्तर्गत जीवनाेपयोगी सीप सिकाउने, बुझाउने, सहभागी गराउने क्रियाकलाप गराइने अध्यक्ष रिजालले बताउनुभयो ।


अध्यक्ष रिजालले भन्नुभयो, ‘‘दैनिक जीवनमा उपयोगी कुराहरु सिकाउने व्यवस्था मिलाएका छौं ।’’ विद्यालय व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले हरेक शुक्रबार बिना किताब विद्यार्थी आउने व्यवस्था गर्ने निर्णय गरे अनुसार कार्यक्रम सुरु गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिनुभयो । सीपको संरक्षण र हस्तान्तरण गर्न बुक फ्रि डेले मद्दत पुग्ने विश्वास लिइएको प्रधानाध्यापक कोइराला बताउनुहुन्छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, विद्यार्थी र शिक्षक सामेल भई गरिएको वैठकले कार्यक्रम सञ्चालन गर्ने विषयमा सहमति भएको उहाँले जानकारी दिनुभयो । प्रधानाध्यापक कोइरालाले भन्नुभयो, ‘‘स्थानीयमा रहेका सीपहरु विद्यार्थीलाई हस्तान्तर गर्न सक्छौं ।’’ विद्यार्थीलाई कृषिसम्बन्धी ज्ञान दिनको लागि विद्यालय परिसरमै खेती भइरहेको उहाँले जानकारी दिनुभयो । गायन नृत्य, खेलकुद जस्ता विद्यार्थी रुचीिअनुसारको क्रियाकलापमा सहभागी गराइने विद्यालयले जनाएको छ । ‘बुक फ्रि डे’अन्तर्गत पहिलो शुक्रबार डेंगु रोकथाम, नियन्त्रण गर्नेसम्बन्धी ज्ञान दिनुका साथै अभिभावकहरुलाई समेत घरदैलोमा लामखुट्टेको बास स्थान नष्ट गर्ने तरिकाबारे सचेतना जगाइएको शिक्षक विनोद पौडेलले जानकारी दिनुभयो ।