बागलुङ समाचारदाता
बागलुङ, असार २३ गते । दक्षिण बागलुङको बरेङ गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल बन्ने भएको छ । गाउँ कार्यपालिकाको सयौँ बैठकले १० शय्याको आधारभूत अस्पतालका लागि निर्माण गरेको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) स्वीकृत गरेसँगै अस्पताल निर्माणको बाटो खुलेको हो ।
गाउँपालिकावासीलाई विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यसहित निर्माण गर्न लागिएको अस्पतालको डिपिआर कार्यपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो । हाल हुग्दीशिर स्वास्थ्य चौकी रहेको स्थानमा १४ करोड ५० लाख रुपियाँको लागतमा अस्पताल निर्माण गर्ने गरी पालिकाले डिपिआर बनाएको गाउँपालिकाका प्रवक्ता तुफान पुनले जानकारी दिनुभयो । अस्पतालको डिपिआर भेक्टर इन्जिनियरिङ सर्भिस प्रालिले बनाएको हो ।
बरेङ गाउँपालिकामा घरमा हुने सुत्केरी शून्य बनेको छ । पर्याप्त आर्थिक स्रोत नभएको बरेङ आमा स्वास्थ्यका क्षेत्रमा भने अब्बल बनेको हो ।