• २१ वैशाख २०८१, शुक्रबार

संसारका अनौठा खाना

blog

यस लेखमा विश्वमा प्रचलित केही अनौठा खानाका बारेमा चर्चा गरिएको छ। यात्राका क्रममा स्थान विशेष विभिन्न प्रकारका खानाको स्वाद लिने अवसर प्राप्त हुन्छ । एउटालाई अनौठो लागेको त्यही खाना अरूलाई स्वादिष्ट लाग्न सक्छ । 

१. ह्यागिस– स्कटल्यान्डमा प्रचलित यो खाना तयार पार्न भेडाको मुटु, फोक्सो र कलेजो पिँधिन्छ अनि बोसो, मसला र दलियासित मोलेर भेडाको भुँडीभित्र हालिन्छ । त्यसलाई केहीबेर उमालेर यो परिकार तयार पारिन्छ । 

२. हरियो कमिला–  खासगरी अस्ट्रेलियामा पाइने यो खाना तयार पार्नका लागि रुखबाट हरिया कमिला सोहोरेर हातले मिचिन्छ । यसको स्वाद अमिलो, पिरो हुन्छ । 

३. क्रिकेटस– किराफट्याङ्ग्राबाट तयार पारिने यो खाना दक्षिणपूर्वी थाइल्यान्डमा पाइन्छ । मकै जस्तै करमकरम चपाउन मिल्ने यो खाना नुनसित स्वादिलो हुन्छ । 

४. शङ्खेकिराको परिकार– फ्रान्सका अधिकांश रेस्टुराँको मेनुमा शङ्खेकिराको परिकार उल्लेख गरिएको हुन्छ । फ्रान्समा प्रत्येक वर्ष १६ हजार टन शङ्खेकिरा उपभोग गरिने अनुमान छ । घिउमा लसुन हालेर फ्राई गरेको शङ्खेकिरा त्यहाँ स्वाद लिएर खाइन्छ । 

५. जेलिफिस– खासगरी चीन, जापान र थाइल्यान्डमा चाउचाउ र सलादमा हालेर जेलिफिस खाने चलन छ । 

६. सर्पको रगत र सर्पको ह्विस्की– भियतनाम, लाओस र थाइल्यान्डमा सर्पको रगत र ह्विस्की पिउने चलन छ ।

७. कोरिया प्रायद्वीपमा अक्टोपस काटेर खाने अनौठो चलन छ, जसलाई सन्नकजी भनिन्छ । 

८. भियतनामा गँगटाको मासु, खुर्सानी, गोलभेँडा, केराको फूल, गेडागुडीको टुसा र चाउचाउ मिसाएर सुप बनाउने चलन छ जसलाई बून रिउ भनिन्छ । यसै गरी मङ्गोलियामा घोडीको दूध खाने चलन छ । 

९. पेरु, चिली र बोलिभियामा अल्पाका जातको जनावरको मासु खाने चलन छ  । बोसोको मात्रा कम हुने यो मासु स्वादका हिसाबले सुँगरको मासु जस्तै हुन्छ । 

१०. फिलिपिन्समा ओथारो राखेको अन्डा उसिनेर खाने चलन छ, जसको नाम हो बालुत । 

११. अजरबैजान र जर्जियामा गाई र भेडाको खुट्टा, टाउको, भुँडीबाहेक अन्य अङ्ग उसिनेर बनाइने परिकारको नाम हो खास । यो जाडोयाममा रक्सीसित खाइन्छ । 

१२. दक्षिण कोरियामा फुटपाथ व्यापारीले बेच्ने एकथरी चर्चित परिकारको नाम हो बेउन्डेजी, जुन रेशमकिराको प्युपाबाट बनाइन्छ ।

१३. इटाली र मेक्सिकोमा सुँगुरदेखि लोखर्केलगायतका विभिन्न जनावरका गिदीको परिकार खाने चलन छ ।   

Author

–बद्रीप्रसाद घिमिरे