• २१ वैशाख २०८१, शुक्रबार

थरी थरीका मकै

blog

मकै सबैलाई मन पर्छ । सबैभन्दा बढी खपत हुने मकै मौसमी हरियो हो । पोलेर खाने कि उसिनेर, जसरी खाँदा पनि स्वादिष्ट हुन्छ हरियो मकै । हामीले नेपालमा पहेँला मकै मात्र देखेका छौँ तर मकै अनेक खालका हुन्छन् । यिनका परिकारमा पनि त्यत्तिकै विविधता छ । 

हामी नेपालीले मकै कि पोलेर खान्छौँ कि उसिनेर वा च्याख्ला बनाएर । कसै कसैले ढिडो, पुवा वा रोटी पनि बनाएर खाने गर्छन् । स्वास्थ्यका हिसाबले पनि यो अन्न अति उत्तम छ । ‘कर्न कल्चर’ अर्थात् मकै संस्कृति ओल्मेक, मेक्सिकोमा विकसित भएको मान्यता छ । 

पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा सबैभन्दा बढी मकै उपभोग गरिन्छ । मकैलाई स्टार्च, मिठाई, मकैको तेल तथा पेय पदार्थ र औद्योगिक अल्कोहल बनाउन पनि प्रयोग गरिन्छ । 

मकैका अनेक प्रकार

नेपाली बजारमा केही सीमित मकैका प्रजाति पाइने गर्छ तर विश्वमा यसका कैयौँ प्रजाति छन् । इतिहासले मकैको उद्गमस्थल मेक्सीकोलाई मानेको छ । यस देशको ९० प्रतिशत भान्सा मकैको परिकारले भरिएको हुन्छ । विश्वमा मुख्यतया छ प्रकारका मकै पाइने भए पनि रङ र आकारका हिसाबले कैयौँ किसिममा मकै पाइन्छन् ।  

परिकारमा विविधता

मकैको परिकारमा यति धेरै विविधता आएको छ कि अचम्म लाग्छ । एसियालीले आफ्नै खालको परिकार विकास गरेका छन् भने युरोपेली र अमेरिकीका आ–आफ्नै परिकार छन् । चिनियाँले मकैको परिकार बनाउँदा सुप, सलाददेखि मिठाई बनाउने गर्छन् । भारतीयको त झन् कति हो कति मकैका परिकार । चाट भनौँ या खिर या पुलाउ सबै परिकारमा मकै समावेश गरिन थालेको छ ।  अमेरिकी र बेलायतीले रोस्ट गरेर होस् या बटर लगाएर होस् मकैलाई आफ्नो दैनिक आहारामा छुटाउन चाहँदैनन् । 

इटालीमा मकैको विविध परिकार बनाएर पस्कने गरिन्छ । मेक्सिकोले त विश्वमा सबैभन्दा धेरै मकैको परिकार बनाएर आफ्नो देशको चिनारी दिएको छ । उनीहरूले नाचोज, क्यासिडेला, कर्न बावल, कर्न अन दी कप, टाकोस, टमाले, कर्न पन्जानेला बनाउने गर्छन् । इटालीमा बनाइने मकैको परिकार पोलेन्ट विश्वमा लोकप्रिय छ । कर्न फ्लेक्स, कर्न डग, कर्न सुप, कर्न राइस, कर्न पुडिङ जस्ता परिकार नेपालमा पनि चलनचल्तीमा रहेका छन् ।   

Author

आरबी बुढाथोकी