• २१ वैशाख २०८१, शुक्रबार

मातृभूमि आमा

blog

गत अगस्तको पहिलो हप्ता युक्रेनी अधिकारीहरूले किभमा रहेको  ऐतिहासिक ‘मातृभूमि आमा’ को मूर्तिबाट सोभियत युगको प्रतीक चिह्न हटाए र त्यसलाई त्रिशूल चिह्नबाट प्रतिस्थापित गरिदिए ।  त्यस दिनदेखि यो इतिहासको साक्षीले एक हातमा समातेको ढालमा रहेको हथौडा र हँसियाको निसान छाप गुमायो । युक्रेनी सत्ता यो कदमलाई कम्युनिस्ट विगतबाट युक्रेनको सांस्कृतिक पहिचानको पुनस्र्थापनाको एक हिस्सा हो भन्ने दाबी गर्दछ ।

यसै गरी सन् २०२३ जुलाई ४ मा युक्रेनको राजधानी किभमा रहेको  सोभियतकालीन प्रतिष्ठित ‘मातृभूमि आमा’ को स्मारक अमेरिकी झन्डाका रङले सजाइएको खबर भाइरल बन्यो । स्वयं रुसी विदेश मन्त्रालयले समेत आफ्नो पेजमा फोटो पोस्ट गरेकाले यो खबर हावादारी हुने कुरा भएन । यो समाचारले किभ, युक्रेन र समग्र विश्वलाई अचम्मित तुल्यायो भने म आधा दशकभन्दा बढी सोभियत भूमिमा अध्ययन गरेको विद्यार्थी स्तब्ध भएँ ।

के हो ‘मातृभूमि आमा’

सोभियत सङ्घका ऐतिहासिक सहरहरूमा देखिने ‘मातृभूमि आमा’ को स्मारक ती आमाको प्रतीक हो जसले दोस्रो विश्वयुद्धमा नाजीहरूले सोभियत भूमिमा आक्रमण गरेपछि आफ्ना सन्तानलाई देशको रक्षार्थ लड्न आह्वान गरेकी थिइन् ।

युरोप कब्जा गर्दै अघि बढिरहेका जर्मनीलगायतका गठबन्धनले सन् १९४१ जुन २२ को बिहान सूर्य झुल्किन नपाउँदै सोभियत भूमिमा आक्रमण गरेको थियो । त्यस युद्धले लाखौँ घर, कैयौँ सहर, हजारौँ कारखाना र सङ्ग्रालय नष्ट भए तथा लाखौँ मानिस मारिए । युगौँदेखि कैयौँ युद्ध र झैझगडा झेल्दै बल्लतल्ल शान्तिपूर्ण संसारको निर्माणमा जुटेका सोभियतको सपनालाई दुस्वप्नमा परिणत गर्दै नाजीहरू राजधानी मस्को नजिकसम्म पुगे र आगामी अक्टोबर ०९ मा आफूहरूले रेड स्क्वायरमा परेड खेल्ने घोषणासमेत गरे ।

राष्ट्रको जीवनमा आइपरेको त्यस कठिन र सङ्कटको घडीमा  सोभियत सर्वोच्च सुरक्षा कमान्डले सबै देशवासीलाई आह्वान ग¥यो : 

“....सम्पूर्ण देश रणमैदानका लागि, सबैको जितका लागि...।” यही नारा सन् १९४१ जुलाई १ मा राष्ट्रिय प्राब्दा दैनिकको पहिलो पृष्ठको शीर्षक बनेर बाहिर आयो । सरकारको यो नारालाई सम्पूर्ण सोभियत जनता, सबै वर्ग र तप्का तथा सबै विचारधाराको समर्थन मिल्यो । उनीहरूले आह्वानको प्रत्युत्तरमा “...सबै युद्धका लागि, सबैको जितका लागि, सबै स्टालिनका लागि  ....।” भन्दै डट्ने प्रतिबद्धताको शङ्खघोष गरे । यससँगै विभिन्न नारा, गीत सिर्जना गरिए । तीमध्ये एक हो :

“...मातृभूमि आमा बोलाउँदै छिन् 

युवा अघि बढ...।”

यो गीत हामीले पहिलो वर्षमा रुसी भाषाको पुस्तकमा पढ्नु पथ्र्यो, त्यसैले अझैसम्म कण्ठस्थ छ ।

‘मातृभूमि आमा’ को यस आह्वानको वरिपरि धेरै फरक विचार र संस्कृति भएका मानिस बिनाछेकबार गोलबद्ध भए । मातृभूमि आमाको यही पुकारलाई शिरोपर गरेर करोडौँ वीर, वीराङ्गना देशभक्ति युद्धको महासङ्ग्राममा होमिए । दुई करोड सत्तरी लाखको जीवन आहुतिबाट युरोपलाई ग्यास च्याम्बर र यातना शिविरको चङ्गुलबाट मुक्त हुने मार्ग प्रशस्त भयो ।

‘मातृभूमि आमा’ को यो स्मारक त्यसको प्रतीक हो जसले सङ्कटको घडीमा सम्पूर्ण देशलाई एकताबद्ध गरेको थियो । यो राष्ट्रप्रतिको देशभक्ति, राष्ट्रिय भावनाको अभिव्यक्ति र मातृभूमिका लागि प्रेम, एकता, रक्षा गर्ने प्रतिबद्धताको प्रतिरूप हो ।

मातृभूमिको मुक्तिका लागि अनुपम त्याग, बलिदान र देशभक्तिको निःस्वार्थ भावनाले जीवन उत्सर्ग गर्ने वीरहरूको सम्मानमा सोभियत भूमिका प्रायः सहरहरूमा सालिक र अनन्त प्रज्वलित दीप स्थापना गरिएका छन् । ती स्मारकमध्ये स्टालिनग्राद (हालः भोल्गाग्राड) को मामायव कुर्गानमा रहेको ‘मातृभूमि आमा’ को मूर्ति विश्वको सबैभन्दा अग्लो मूर्र्तिहरूमध्ये एक हो । यो मूर्ति भोल्गा नदीको दाहिने किनारमा रहेको एउटा पहाडमा अवस्थित छ, जहाँ स्टालिनग्रादको युद्धको क्रममा सोभियत सेना र नाजीहरूबीच भयङ्कर लडाइँ भएको थियो ।

आमाको मूर्तिसँगै त्यहाँ युद्धका वीर नायक छोराहरूको सम्मानमा सामूहिक स्मारक संरचनात्मक केन्द्र खडा पनि गरिएको छ ।

मानव जातिको इतिहासमा हजारौँ लडाइँ भएका छन् । विश्वलाई तानाशाहबाट जोगाउन स्वतन्त्रताको पक्षमा स्टालिनग्रादको युद्ध समान अरू छैन । सन् १९४२ जुलाईमा सुरु भएर सन् १९४३ फेब्रुअरीमा अन्त्य भएको सबैभन्दा ठूलो लडाइँ मानिन्छ स्टालिनग्रादको लडाइँ ।  यस युद्धमा तीन लाखभन्दा बढी सैनिक एकअर्काविरुद्ध उत्रिएका थिए ।

नाजीहरू जो कुनै बेला रेड स्क्वायरमा मार्च गर्दै जर्मनीको विजय उत्सव मनाउने कुरामा विश्वस्त थिए, स्टालिनग्रादको पराजयपछि तिनैले जर्मनीमा तीनदिने शोक घोषणा गरे ।

स्टालिनग्रादको ‘मातृभूमि आमा’ को सालिक जस्तै ड्नेपर नदीको दाहिने किनारमा अवस्थित युक्रेनी राजधानीको ‘मातृभूमि आमा’ संसारका विख्यात स्मारक मूर्तिकलामध्ये एक हो र यो विश्वको पाँचौँ अग्लो र युक्रेनमा सबैभन्दा उच्च मूर्ति हो । दोस्रो विश्वयुद्धमा विजय हासिल गरेको ३६ सौँ वार्षिकोत्सवका अवसरमा स्थापित यो  प्रतिष्ठित सोभियत स्मारकको सन् १९८१ मा तत्कालीन सोभियत नेता लियोनिद ब्रेझनेभले अनावरण गरेका थिए । जहाँ हरेक वर्ष किभ र युक्रेन मुक्त भएको उपलक्ष्यमा विजय दिवस आयोजना गरिन्थ्यो ।

सन् २०२३ जुलाई ४ मा अमेरिकी झन्डाको रङमा सजाइएको खबरसँगै सन् २०२३ जुलाईमा यो स्मारकको नाम ‘मातृभूमि आमा’ बाट ‘युक्रेन आमा’ मा परिवर्तन भएको घोषणा गरिएको छ । सन् १९९१ को परिवर्तनसँगै सुरु भएको सोभियतकालीन अवशेषहरू मेटाउने यस्ता शृङ्खला युक्रेन युद्धपछि झन् तीव्र बनाइँदै छ ।

वर्तमान युद्ध र विभिन्न घटना क्रमले मान्छे मान्छेबीच विमति, मनमुटाव र द्वन्द्व हुनु स्वाभाविक मान्न सकिएला तर इतिहासका साक्षीका रूपमा खडा गरिएका स्मारक र इतिहासको तोडफोड गलत भन्न सकिन्छ । 

 

(लेखकले सोभियत विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।)  

Author

रामविन्दु श्रेष्ठ