• १३ पुस २०८१, शनिबार

लोभी बुढो (लघुकथा)

blog

उसले घडीमा आँखा लगायो सैँतिस मिनेटमा ल्यान्ड गरेछ विमान । “अरूभन्दा छिटो पु-याउँछ यो विमानले,” उसले मनमनै भन्यो । नभन्दै भद्रपुरबाट उडेको सैँतिस मिनेटमा काठमाडौँमा उत्रिएको थियो विमान । उसले मोबाइल स्विच अन ग-यो र आफ्नो सानो झोला काँधमा भि-यो ।

बाहिर निस्किँदा उसलाई ट्याक्सीका ड्राइभरहरूले घेरेर भने, “कहाँ जाने बा ? मिलाएर लान्छौँ ।” एउटा हैन दशौँ ट्याक्सी ड्राइभर उसको अघि र पछि लागे तर ऊ रोकिएन, कसैलाई केही भनेन पनि । काँधमा झोला भिरेर हिँडिरह्यो । एउटा ट्याक्सी ड्राइभर भने आएन त्यो भिडमा, परैबाट रमिता हेरिरह्यो । 

त्यो मान्छे एउटा घुम्तीबाट छेलिए पछि सबै फिरेर गएर त्यो रमिता हेर्ने ड्राइभरलाई सोधे, “तिमी किन आएनौ ?”

त्यो ड्राइभर फिस्स हास्यो मात्र । उनीहरूले फेरि सोधे, “भनन तिमी किन आएनौ उसलाई मेरो ट्याक्सीमा चढ भन्न ?” अनि उसले भन्यो मलाई थाहा थियो त्यो बुढो टेक्सी चढ्दैन भन्ने ।

तिमी त्यो बुढोलाई चिन्दछौ ?

चिन्दछु, म उसकै टोलमा डेरा गर्छु, सातदोबाटोमा ।

त्यो बुढो गरिब छ ?

छैन धनी छ । डेढ लाख त घर भाडा नै आउँदो हो । 

अनि किन टेक्सी नचढेको त ?

“ऊ लोभी छ ।” बुढोले टेक्सी नचढ्ने कारण ड्राइभरले बताइदियो । 

बुढो पैदलै हिँडेर तल बाटोमा झ-यो । गौशालातिर जाने र तीनकुनेतिर जाने गाडीहरूको भिड थियो । बाटोमा । त्यही भिडलाई छिचोलेर पश्चिमपट्टि जाने प्रयत्न गर्दै थियो एउटा मान्छे । त्यो मान्छेको एउटा खुट्टा थिएन, त्यसको साटो एउटा लाट्ठीले आफ्नो शरीर थामेको थियो उसले । उसको काँधमा एउटा झोला थियो र एउटा हातले तीन चार वर्षको बालक च्यापेको थियो । 

बुढो त्यो अपाङ्गको छेउमा गयो र सोध्यो, कहाँ जाने ?

“यो बाटो काट्न पाए बस चढेर महाराजगन्ज जाने थिएँ,” अपाङले भन्यो । 

“किन जाने ?” बुढोले सोध्यो

“यो धेरै बिरामी छ ।”

बुढोले अपाङ्गलाई बाटो कटाइदियो । अनि गोजीमा हातहालेर केही पैसा झिक्यो र अपाङ्गको हातमा हालिदियो । 

फेरि एउटा ट्याक्सी रोकेर चढाइदिँदै भन्यो, “जाऊ छोराको औषधी गराऊ ।” ट्याक्सी चढेपछि हातका पैसा गन्यो अपाङ्गले, हज्जारका दसवटा नोट रहेछन् । अनि टेक्सीको पछाडि फिरेर हे-यो उसले, बुढो कोटेश्वरतिर जाने बसमा चढ्दै थियो ।

टिचिङ हस्पिटल पुगेपछि ऊ ट्याक्सीबाट उत्रियो र ट्याक्सी भाडाको पैसा दियो तर ड्राइभरले पैसा लिन मानेन ।

किन भाडा लिन मान्दैनौ, यत्रो बाटो ल्याइदिएका छौ ? सोध्यो अपाङ्गले ।

यो ट्याक्सी पनि तिनै बुढा मान्छेको हो । “उहाँले पैसा नलिनु भन्नुभएको छ ।” ड्राइभरले भन्यो ।