काठमाडौँ, असोज ८ गते । संसारमा बुद्धका मूर्ति विभिन्न आकार र प्रकारका छन् । बुद्धका रूप नै फरक फरक रहेका अवस्थामा त्यो स्वाभाविक पनि मानिन्छ । ती सबैको पूर्वरूप भने हालको पाकिस्तानको गान्धारमा बनाइएको मानिएको छ ।
प्राचीन कपिलवस्तुमा भएको आक्रमणबाट बच्न भागेका शाक्य सेनाको एक समूह गान्धार पुगेको र अर्को काठमाडौँ आएको बौद्ध इतिहासमा पाइन्छ । गान्धार पुगेका तिनै शाक्यहरूबाट त्यहाँ बौद्ध परम्परा विस्तार भएको इतिहासविद् बताउँछन् ।
त्यहाँ नै ग्रिसेली र प्राचीन भारतीय कलाको संयोजनका रूपमा पहिलो बुद्धमूर्ति बनेको र संसारभर विस्तार भएको मत छ । त्यही कारण प्राचीन बुद्धमूर्ति दाह्रीजुँघा भएको बनाइएको विज्ञहरूको भनाइ छ । त्यति मात्र होइन बुद्ध तपस्यामा रहँदा जीर्ण बनेको हाड–छालायुक्त र पेट सारङ्गी बनेको दुश्करचर्या मूर्ति पनि गान्धारकै कला रहेको मानिएको छ ।
त्यति मात्र होइन बौद्ध परम्परामा हीनयान र थेरवादको प्रादुर्भाव पनि गान्धारबाटै भएर नेपाललगायत अरू देशसम्म विस्तार भएको बताइएको छ । त्यही गान्धारको बौद्ध सम्पदा र बुद्धको जन्मथलो लुम्बिनीलाई जोड्न नेपाल र पाकिस्तानका सरकारी निजी क्षेत्रको संयुक्त पहलको आवश्यकतामा जोड दिइएको छ ।
काठमाडौँस्थित पाकिस्तानी दूतावासले काठमाडौँमा आयोजना गरेको ‘गान्धार : इतिहास र सम्पदासम्बन्धी कार्यक्रमका नेपाली र पाकिस्तानी विज्ञहरूले त्यस्तो संयुक्त पहलबाट दुवै देशले लाभ लिन सक्ने विचार व्यक्त गर्नुभएको हो । त्यसका लागि पाकिस्तानबाट लुम्बिनीमा प्रत्यक्ष हवाई सेवा सम्पर्क स्थापना गर्न पनि जोड दिइयो । नियमित उडान नहुँदासम्म चार्टर उडान नै भए पनि थालिहाल्न व्यवसायीले जोड दिनुभयो ।
नेपालको लुम्बिनी जस्तै बौद्ध परम्परामा गुरु पद्मसम्भव अर्थात् रिम्पोछेको जन्मस्थल गान्धारकै निकट रहेका कारण त्यसको प्रचारप्रसार गर्न सके पाकिस्तानमा नेपाली बौद्ध पर्यटकको प्रवर्धन हुने बताउनुभयो ।
नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हजमामीले गान्धारमा बौद्ध सम्पदा स्थापनामा पाकिस्तान र नेपाललाई लुम्बिनीमा सहयोग आवश्यक रहेको बताउनुभयो । तेस्रो शताब्दीमा गान्धारमा बौद्ध सभ्यता पुगेको चर्चा गर्दै उहाँले यस क्षेत्रमा दुवै देशले साझा काम गर्नुपर्ने बताउनुभयो ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले लुम्बिनी र गान्धारको सम्बन्ध र सम्पर्कका लागि संयुक्त रूपमा केही गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा डा. केशवमान शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. हृदयरत्न वज्राचार्य, प्राडा त्रिरत्न मानन्धर, अच्युत गुरागाईं, विक्रम पाण्डेलगायतले बोल्नुभएको थियो ।