काठमाडौं, असोज ४ गते । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले युइएफए च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा बुधबार राति भएको समूह बी को खेलमा आर्सनलले पीएसभी आइन्डहोभनलाई ४–० गोलले हरायो ।
एकपक्षीय खेलमा सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । आर्सनललाई जिताउन बुकायो साकाले आठौँ, लिआन्ड्रो ट्रोसार्डले २०औँ, गाब्रियल जेससले ३८औँ र मार्टिन ओडेगार्डले ४०औँ मिनेटमा गोल गर्नुभयो । सोही समूहको अर्को खेलमा सेभिया र लेन्सले १–१ गोलको बराबरी खेलेका छन् ।
यस्तै समूह डी को खेलमा इन्टर मिलान रियल सोसिडाडसँग १–१ गोलको बराबरीमा रोकिएको छ । चौथो मिनेटमा ब्राइस मेन्डेजले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाउनुभयो ।
८७औँ मिनेटमा कप्तान लौउटारो मार्टिनेजले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । यस समूहको अर्को खेलमा आरबी साल्जवर्गले बेन्फिकालाई २–० गोलले स्तब्ध बनायो । एजेन्सी