• २६ वैशाख २०८३, शनिबार

दमौलीमा आजदेखि प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु

blog

अमरराज नहर्की
दमौली, वैशाख २६ गते ।
गण्डकी प्रदेशको सदरमुकाम दमौलीमा शनिबारदेखि ‘गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८३’ सुरु हुँदैछ । “राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद” भन्ने नारासहित जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा हुन लागेको दुईदिने प्रतियोगिताले तनहुँलाई खेलमय बनाउने भएको छ ।

सार्वजनिक गरिएको टाइसिटअनुसार पुरुषतर्फ १० तथा महिलातर्फ ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आज बिहान ७ः३० बजेदेखि दुवै विधाका प्रारम्भिक चरणका खेल सुरु हुने तालिका छ । पुरुषतर्फ पहिलो खेलमा पर्वत र कास्की भिड्नेछन् भने महिलातर्फ आयोजक तनहुँ र गोरखाबीच प्रतिस्पर्धा हुनेछ ।

नवलपुरका हिमाल सुनारी र अशोक श्रेष्ठ, स्याङ्जाका सन्जु विक्रम शाह र राजन दर्लामी, बागलुङका इन्द्र विक तथा आयोजक तनहुँका विवश अलेलगायत चर्चित खेलाडीको सहभागिताले प्रतियोगिता प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितालाई व्यवस्थित र अनुशासित बनाउन प्राविधिक टोली पूर्ण रूपमा परिचालन गरिएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले प्रतियोगितालाई प्रतिभा पहिचानको महत्त्वपूर्ण अवसरका रूपमा लिइएको बताउनुभयो । उहाँका अनुसार यहाँबाट छनोट भएका उत्कृष्ट खेलाडीले आगामी दशौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने आधार तयार हुनेछ ।

रेफ्री संयोजक किसान थापाका अनुसार आज पहिलो चरण र क्वाटरफाइनलका खेल सञ्चालन हुनेछन् । भोलि वैशाख २७ गते बिहान ८ बजेदेखि सेमिफाइनल, ११ बजे तेस्रो स्थानका लागि तथा दिउँसो १ बजे फाइनल खेल हुनेछ । प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् गण्डकीले प्रवर्धन गरेको छ ।